दलहरू नै राज्य दोहनमा लागे-डा.भट्टराई


काठमाडौं ।पुर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बनेको बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनलाई सम्बोधन गर्दै डा.भट्टराईले लोकतन्त्रमा दलहरू चाहिन्छ तर उनीहरु जनताको लागि भन्दा पनि स्वार्थ समूहको लागि प्रयोग भैरहेको आरोप लगाए।

डा.भट्टराईले लोकतन्त्रमा राजनीतिक दलहरु नै विचारका वाहक हुन् भन्दै राजनीतिक दलहरूको प्रतिष्पर्धाबाट नै लोकतान्त्रिक वातावरण बन्ने बताए। नेपालका राजनीतिक दलहरू विचार, राजनीति, सिद्धान्त, आदर्शभन्दा पनि एउटा स्वार्थ समूह जस्तो भएर जसरी पनि निर्वाचन जितेर सत्तामा पुग्ने खेलमा सीमित रहेकोमा उनको टिप्पणी थियो।

उनले राजनीतिक दलहरूले सरकारलाई बिना लगानी आर्थिक उपार्जन गर्ने माध्यम बनाएको आरोप पनि लगाए। पुर्व प्रधानमन्त्री भट्टराईले नेपाली अर्थतन्त्रले गुणात्मक फड्को मार्न गैरआवासीय नेपालीको भूमिका महत्वपूर्ण हुने बताउदै बिदेशमा कमाएको पैसा र हासिल गरेको ज्ञान र अनुभव नेपालमा लगानी गर्न आग्रह गरे।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय