पहिलो भेटमै चिनजान र हत्या !
काठमाडौं । धादिङमा एक युवाले पहिलोपटक भेटेका ब्यक्तिलाई चिनजान गरि रक्सी खाएपछि हत्या गरेका छन् । पक्राउ परेपछि हत्या आरोप स्विकार्दै ती युवाले सामान्य बिबादहुँदा हत्या गरेको भनेका छन् ।
निलकण्ठ नगरपालिका-४ रायटारको प्लटिङमा ५० वर्षका सुकबहादुर तामाङको शव भेटिएको थियो। सोही हत्या आरोपमा गजुरी गाउँपालिका-५ घर भै निलकण्ठ-४ रायटार नै बस्दै आएका २० वर्षीय सुमन सुनार पक्राउ परेका हुन्।
निलकण्ठ-४ स्थित रायटारमा गत शुक्रबार बिहान सडक किनारामा सुकबहादुरको शव फेला परेको थियो। घटनास्थलको प्रकृति अनुसार मृतकलाई कोही कसैले कर्तव्य गरी मारी फालेको हुनसक्ने आशंकामा प्रहरीले घटना अनुसन्धान अघि बढाएको थियो।
त्यसपछि सुराक पत्ता लगाउदै जादा सुमनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिए। उनका अनुसार सुनारले ५० बर्षीय सुकबहादुरलाई कुटपिट गरी हत्या गरेको खुलेको छ।
बिहीबार साँझ सुकबहादुर र सुमन दुवैले सँगै बसेर मादक पदार्थ खाएका थिए। मापसेका क्रममा विवाद हुँदा सुमनको कुटपिटबाट सुकबहादुरको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको उनले बताए।
यसअघि चिनजान नभएका उनीहरु सोही साँझमात्रै भेटिएको पनि खुलेको छ। मादकपदार्थ सेवन गरेका बेला सुमनले कुटपिट गर्दा सुकबहादुरको ज्यान गएको र लगत्तै उनी फरार भएका थिए। आरोपित सुनारले आफूबाट हत्या भएको स्वीकार गरिसकेको प्रहरीको भनाइ छ।