सुनकोशीका ३५ कृषकलाई निःशुल्क मौरी गोला र घार

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिकाले कृषकलाई मौरी गोला सहितको घार नि:शुल्क वितरण गरेको छ।

गाउँपालिकाको कृषि विकास शाखाले स्थानीय कृषकहरूको जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले ३५ जना कृषकलाई मौरीगोला सहितको निःशुल्क मौरीघार वितरण गरेको हो। गाउँपालिकामा आयोजित कार्यक्रममा पालिका अध्यक्ष दिपा दाहाल,उपाध्यक्ष कपिलकुमार कोइराला,प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी सहित कृषी बिकास शाखाका कर्मचारीको उपस्थितिमा ती  मौरी र घार वितरण गरिएको थियो।

कृषकहरूलाई मौरीपालनको महत्त्व,व्यावसायिक सम्भावना र वातावरण संरक्षणमा पुर्‍याउने योगदानबारे समेत जानकारी दिइएको थियो।

गाउँपालिका अध्यक्ष दिपा दाहालले मौरीपालनले कृषकहरूको आर्थिक उन्नतिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताइन् ।’कृषकहरूले थोरै लगानीमा राम्रो आम्दानी गर्न सक्ने,मौरीको परागसेचनमार्फत कृषि उत्पादकत्व वृद्धि र पर्यावरण संरक्षणमा पनि सहयोग गर्छ’ उनले भनिन् -‘गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि यस्ता कार्यक्रमलाई प्राथमिकता दिइरहेको र आगामी दिनमा थप पहल समेत गरिनेछ।’

उपाध्यक्ष कपिल कुमार कोइरालाले मौरीपालनजस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका कृषकहरूको जीवनस्तर उकास्न र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुर्‍याउने बताए।

प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले मौरीपालक कृषकका लागि आवश्यक प्राविधिक सहयोग र तालिम उपलब्ध गराउने गाउँपालिकाको योजना रहेको जानकारी दिए। कृषकहरूलाई मौरीघार मात्र वितरण गरेर नहुने भन्दै उनले मौरी पालन पेशालाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सक्ने बनाउन प्राविधिक सहयोग र बजार व्यवस्थापनमा पनि जोड दिने प्रतिबद्धता जनाए।

सो अवसरमा मौरीपालनको प्राविधिक पक्ष, रोग व्यवस्थापन र महको बजारिकरणबारे कृषकहरूलाई नियमित रूपमा तालिम प्रदान गर्ने योजना रहेको बताइएको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय