गभर्नर एमालेले नछाड्ने !

काठमाडौं । सत्तारूढ दलभित्र भागबन्डा मिलिसकेको भनिएपनी नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्ति प्रक्रिया थप जटिल बन्दै गएको छ।

राष्ट्रबैंकको गभर्नर बन्ने करिब-करिब पक्का भएपछि राष्ट्रबैंकको कार्यकारी निर्देशक पदबाट राजिनामा समेत दिएर बसेका डा.गुणाकर भट्टलाई गभर्नर बन्नबाट रोक्ने प्रयास समेत भएका छन् । नेपाली कांग्रेस निकट भट्ट अस्ति सोमबारको मन्त्री परिषद बैठकबाटै गभर्नर नियुक्त हुने आशामा थिए।

भट्टको नियुक्ति अन्तिम चरणमा पुगेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्यान्ड उडेका थिए। यता एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अगाडी नै बढाउन चाहेनन् ।यसले सत्ता गठबन्धनमा केही समस्या छ भन्ने अन्योलतालाई बल पुर्‍याएको देखिन्छ। स्रोतका अनुसार एमालेले अब गभर्नर कांग्रेसलाई नछाड्ने नीति लिएको छ।

एमाले उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिका एक सदस्य पुर्व गभर्नर विजयनाथ भट्टराईले समेत राजीनामा दिएपछि गभर्नर नियुक्ति प्रक्रियामा अब एमालेले आफू अनुकुल समिति बनाउन सक्ने देखिन्छ । समितिमा अर्का सदस्य कांग्रेस नेता अर्थविद् डा. विश्व पौडेल छन्। तर एक सदस्य बाहिरिएकाले सरकारले पुनः सिफारिस समिति गठन गर्नुपर्ने हुन्छ। त्यसका लागि एमालेले आफू अनुकुल ब्यक्ति ल्याउने छ।

सरकारले अबको मन्त्रिपरिषद बैठकबाट समिति पुनर्गठन गर्ने  र त्यसपछि गभर्नर नियुक्ति प्रक्रिया अघि बढाउने देखिन्छ। त्यसोहुदा पनि सत्ता साझेदार नेपाली कांग्रेसका सभापति देउवाले गभर्नरमा आफ्नो दाबी नछाड्ने देखिन्छ। यद्यपि एमालेले पनि अब गभर्नर नछाड्ने संकेत गरेको छ। सत्ता गएपनी गभर्नर आफ्नो बनाएर मात्रै छाड्न एमाले नेतृत्व माथी दबाब छ।

राष्ट्र बैंक आफैँमा स्वायत्त निकाय हो। देशको आर्थिक तथा वित्तीय क्षेत्रको नियामक निकाय समेत रहेकाले यसमा दलको चासो हुनु स्वभाविक मानिन्छ। तर,ब्यक्ति भन्दा पार्टी हेरिनु दु:खद हो।गत शुक्रबार नै दुई दलबीच सहमति भएर आइतबार सभापति देउवा थाइल्यान्ड गएका हुन् । तर, थाइल्यान्डबाट देउवा फर्केपछि सरकार परिवर्तन हुनसक्छ भन्ने अनुमानलाई लिएर एमाले नेतृत्वले नियुक्ति प्रक्रिया नै रोकेको बुझिएको छ। एमालेले अडान नछाड्ने र गभर्नर बनाउने अवस्था आएमा पुर्व गभर्नर युवराज खतिवडा पुनः गभर्नर बन्न सक्ने धेरैले अनुमान गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय