प्रधानमन्त्री मोदीको गृहनगरमा विस्फोट हुँदा २१ जनाको मृत्यु

भारत। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश गुजरातमा भएको विस्फोटमा २१ जनाको मृत्यु भएको छ।
गुजरातको बनासकान्ठानजिकैको डिसामा रहेको पटाका कारखानामा विस्फोट भएको हो। विस्फोटमा मध्य प्रदेशका २१ कामदारको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्। उनीहरु सबै एकै गाउँका हुन् ।
भारतीय संचार माध्यमका अनुसार यो कारखाना दिसा तहसिलको धुनवा रोडमा अवस्थित छ। विस्फोटका बेला कामदारहरू कारखानामा काम गरिरहेका थिए। विस्फोट यति भयानक थियो कि धेरै कामदारका शरीरका अंग ५० मिटर टाढासम्म छरिएका थिए। कसैको अंग नचिनिने अवस्थामा समेत टुक्राटुक्रा भएको थियो। विस्फोटको आवाज टाढा सम्म सुनिएको थियो।
कारखाना पछाडिको खेतमा समेत केही मानव अंग फेला परेका छन्। आगो नियन्त्रणमा लिन दमकललाई ५ देखि ६ घण्टा लाग्यो।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई प्रतिपरिवार २ लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन्।
दुर्घटनामा परेका सबै जना २ दिनअघि मात्र कामका लागि गुजरात आएका थिए। मृतक र घाइते सबै कामदार मध्य प्रदेशको हरदा जिल्लास्थित हान्डिया गाउँका बासिन्दा हुन्।

