पौडी खेल्दा डुबेर २ किशोरको मृत्यु

काठमाडौं । अर्घाखाँचीमा खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरको मृत्यु भएको छ। दुई खोलाको दोभान स्थित रहमा पौडी खेल्दा उनिहरु डुबेका हुन् ।
अर्घाखाँची जिल्लाका निमित्त प्रहरी प्रमुख (प्रहरी निरीक्षक) विष्णुप्रसाद पौडेलका अनुसार भूमिकास्थान नगरपालिका-१० पुयापाटाका १९ वर्षीय दिलीप नेपाली र १७ वर्षीय अशोक नेपालीको मृत्यु भएको हो।
भूमिकास्थान नगरपालिका-१० को छिर्लिंङ खोला र झिमरूक खोलाको दोभान (रह) मा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको उनले बताए। ६ जना साथीहरू शनिबार दिउँसो साढे ४ बजेतिर नुहाउन भनेर खोला गएका थिए।
उनीहरूमध्ये दिलीप र अशोक डुबेको अवस्थामा अचेत फेला परेका थिए। उनीहरूलाई उद्धार गरी जिल्ला अस्पताल सन्धिखर्क पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक पौडेलले बताए।

