राजा ल्याइ हाल्छौं भन्नेहरू नै तितरबितर !

काठमाडौं । २०५८ जेठ १९ गते राती नै बंशनाश भएको राजसंस्था पुनः फर्काउने भन्दै पूर्वराजावादीहरु जुर्मुराएका छन् । यद्यपि उनीहरुको बिचमा एकमत छैन ।

राजतन्त्रको वकालत गर्ने तर,गणतन्त्रमा मन्त्री नछाड्ने अनि संघीयताको बिरोध गर्ने तर प्रदेशमा सभामुख लिएर पनि अझै सत्तामा बार्गेनिङ गरिरहने राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा होस् वा गणतन्त्रमा सांसद हुन एमालेको सुर्य चिन्ह लिएर चुनाव लड्ने कमल थापा नेतृत्वको राप्रपा नेपाल होस् अहिले भिन्दा-भिन्दै  आन्दोलन गरिरहेका छन् ।

त्यसो त राजा ल्याउन मैले मात्रै सक्छु भन्ने दुर्गा प्रसाईदेखि पुर्व पन्च केशरबहादुर बिष्ट र नवराज सुवेदीको पनि आ-आफ्नै डम्फु छ। पुर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द,पुर्व मन्त्रीहरु पशुपति समसेर जबरा,डा.प्रकाश चन्द्र लोहनी,बुद्धिमान तामाङ,बिक्रम पाण्डे,धवल शमसेर राणाको इच्छा पनि बेग्लाबेग्लै छ।

नयाँ पुस्ताका रविन्द्र मिश्रदेखि ज्ञानेन्द्र शाहीका कुरा अझै अर्कै छ। समग्रमा राजा र राजसंस्था फर्काउने अभियानमा टुक्रा-टाक्री धेरै छन्। उनीहरुको लक्ष एउटै जस्तो देखिए पनि उदेश्य र लोभ अर्कै छ। कसैले कसैलाई नेतृत्व स्वीकार गर्ने अवस्था पनि छैन। जसले गर्दा राजा बनाउने भनिएको पात्र ज्ञानेन्द्र शाह पनि कसैप्रती ढुक्क छैनन् । ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काएर गणतन्त्र मास्ने योजनामा राजावादीहरू लागेको भएपनी आफू आफुमै मिलन नहुदा यिनको आन्दोलन औचित्यहिन हुँदै आएका छन् ।

डम्फु आ-आफ्नै लिएर पनि उनीहरु बेलाबखत सक्रिय हुन खोजेको देखिन्छ। तर,अहिलेको अवस्था उनीहरुले भनेजस्तो चाहिँ छैन।बरु राजावादी सल्बलाउन थालेपछि गणतन्त्रवादी दलहरू एकजुट हुँदैछन्। सत्तारुढ दल नेकपा एमालेले ज्ञानेन्द्रलाई फर्काउन नदिन वडा तहदेखी नै आन्दोलन सुरु गर्दैछ। नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी र विप्लव नेतृत्वको माओवादी सम्मीलित समाजवादी मोर्चाले चैत १५ गते बृहत प्रदर्शनको तयारी नै थालिसकेको छ। पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) ले “हामी रैती होइनौं” भन्दै बिरोध गरिसकेको छ।

गत फागुन २५ गते पोखराबाट काठमाडौं फर्कने बेलामा ज्ञानेन्द्रको स्वागत गर्न पुगेका राजावादीको केही हजार संख्याले उत्साहित भएका राजसंस्था पक्षधरहरु त्यस लगत्तै जुट्न पुगेका थिए। तर, त्यही दिनको उपस्थिति कसको कारण भनेर जस लिने होडबाजीले अहिले रडाको मच्चिएको छ। त्यसदिन फोहोर भयो भनेर काठमाडौ महानगरपालिकाले १ लाख जरिवाना राप्रपाको नाममा तिराएपछी अहिले त्यो सबै क्रेडिट राप्रपाले लिन खोजेको छ। तर, दुर्गा प्रसाईं भने त्यो सबै भिड आफुले जम्मा गरेको बताइरहेका छन् ।

यतिबेला राजावादी दल, राजावादी संघसंगठन, केही व्यापारीहरूले राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष ८६ वर्षीय नवराज सुवेदीको संयोजकत्वमा ‘राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’ गठन गरेका थिए।तर, गठन गर्दागर्दै त्यो छिन्नभिन्न भयो। त्यसमा नाम घोषणा गरिएका मध्य धेरैले असन्तुष्टि जनाउँदै नाम फिर्ता लिए। कमल थापाको पार्टीले चाहिँ प्रतिनिधि तोकेर समर्थन गरेको छ। तर, राजेन्द्र लिङ्देनले आफ्नै नेतृत्वमा जनआन्दोलन समिति हुने भनेका छन् ।राप्रपाले कार्यसम्पादन समिति बैठक राखेर अध्यक्ष लिङ्देनकै नेतृत्वमा आन्दोलनमा जाने निर्णय गरिसकेको छ।

यसरी उदेश्य एउटै जस्तो देखिएपनी राजावादीहरुले एक अर्काको भरोसा जित्न सकेको देखिदैन ।जसले गर्दा ज्ञानेन्द्रलाई सक्रिय बनाउन खोज्ने राजावादीहरु नै यतिबेला तितरबितर हुन पुगेका छन् । नेतृत्व कसले गर्ने र क्रेडिट कसले लिने भन्ने हानथाप चलिरहँदा राजावादीलाई अब उठ्नै नदिने तयारीमा गणतन्त्रवादीहरु पुगेको देखिन्छ।त्यसका लागि केही राजावादी लोभी नेताहरूलाई अहिलेकै अवस्थामा सरकारमै सहकार्य गराउन सकिने सम्मका प्रयास भैरहेको बुझिन्छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय