जाजरकोटमा ११ हजार नक्कली भूकम्प पीडित देखाइयो : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा ११ हजार नक्कली पीडित खडा गरिएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले भूकम्प प्रभावित जिल्लाहरुको घर संख्या ३७ हजारभन्दा बढी नरहेको अवस्थामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले ४८ हजार घर भत्किएको भनेर राहत वितरण गरेको बताएका हुन् । उनले त्यसरी वितरण भएको राहत र क्षतिपूर्ति देख्दा अचम्म लागिरहेको समेत बताए ।

नेकपा (एकीकृत समाजवादी) नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले राखेको प्रश्नमा जवाफ दिँदै उनले भने, ‘भूकम्प गत वर्ष कात्तिकतिर गएको थियो । तर, क्षेति कति भयो भन्ने पनि नभएको ३५÷३६ हजार घर भएको ठाउँमा ४८ हजार घरलाई पहिलो किस्ता वितरण गरिएको, कहाँबाट आयो ४८ हजार घर ? जहाँ जिल्लामै ३७ हजारभन्दा बढी घर छैनन् । त्यो ठाउँमा ४८ हजार घर भत्किएर कसरी क्षति वितरण भयो ? अचम्म लाग्छ । सिमाना नाघेर बाहिर गइयो कि ? सबै भत्किएका थिएनन्, तिनीहरुको दुई÷दुई पल्ट हिसाब भयो कि ? के भयो र त्यस्तो भयो ?’

प्रधानमन्त्री ओलीले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लामा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भइसकेको पनि जानकारी गराए । रुकुम र जाजरकोट जिल्ला व्यवस्थापन समितिबाट सिफारिस भइआएका सबै भूकम्प प्रभावितका लागि प्रथम र दोस्रो किस्ताको रकम पठाइसकिएको उनले बताए । २०८१ माघ महिनामा मात्रै भूकम्प प्रभावितहरुका लागि ८० करोड निकासा भएको उनले जानकारी गराए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय