पशुपतिको जग्गामा भ्रष्टाचार : एमाले नेता कुइँकेलसहित ९ जना दोषी

काठमाडौं । पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएर भ्रष्टाचार भएको सर्बोच्चले ठहर गरेको छ।

सो अभियोगमा एमाले नेता निर्मल कुइँकेललाई ६ बर्ष कैद हुने फैसला सर्बोच्चले गरेको छ। अन्य ८ जनालाई पनि सर्वोच्च अदालतले दोषी ठहर गरेको छ। न्यायाधीश कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले विशेष अदालतको फैसला उल्टाउँदै एमाले नेता कुइँकेलसहित ती सबैलाई सजाय सुनाएको हो।

एमाले नेता कुइँकेलले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव हुँदा बालुवाखानी सञ्चालनको ठेक्कामा निर्णय गर्दा भ्रष्टाचार गरेको अभियोग थियो। उनले ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको सर्वोच्चको ठहर छ। उनले यसको दोब्बर जरिवाना समेत तिर्नुपर्नेछ।

कोषका अर्का सदस्य-सचिव सुशील नाहटालाई पनि ६ वर्ष कैदकै फैसला भएको छ। उनले ९१ लाख ६३ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको हो। भ्रष्टाचार गरेको बिगो रकम असुल गरी सोहीबराबर जरिवानासमेत सुनाइएको छ।

काठमाडौं जिल्ला विकास समितिका तत्कालीन स्थानीय विकास अधिकारी गोपाल पराजुलीलाई पनि ६ वर्ष कैदकै फैसला भएको छ। उनले ६२ लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर सर्वोच्चको ठहर छ। पराजुली हाल कोसी प्रदेश सभाका सचिव छन्।

अर्का स्थानीय विकास अधिकारी प्रेमराज जोशी, तत्कालीन जिविसकै योजना अधिकृत भीष्मकुमार मल्ल र राजुकुमार रेग्मीलाई ६ महिनाका दरले कैद सजाय तोकिएको छ।

कुल २ करोड ३७ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहरसहित सोहीबराबरको जरिवाना तोकिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय