यात्रा धापड्याम: सायद स्वर्ग पुग्दा यस्तै होला !

मानिसहरू कल्पना गर्छन् स्वर्ग जाने हो भने सत्कर्म यहीँबाट सुरु गर्नुपर्छ। यहीँ अर्थात मर्त्यलोकमा सजिलो अफ्ट्यारो सबै भोग्नुपर्छ त्यसपछि सहि कामको सहि प्रतिफल स्वर्गमा मिल्छ ! सायद त्यसैले होला मानिसहरू अन्तिममा स्वर्ग पुग्नका लागि भनेर जीवनको हरेक घुम्ती र मोडमा राम्रो देखिन तँछाडमछाड गर्छन् ।

काठमाडौं,नुवाकोट र सिन्धुपाल्चोक सिमाना नजिक तर,काठमाडौं कै स्वामित्व भित्र पर्ने शिवपुरी धापड्याम पुग्न ठ्याक्कै यस्तै भयो हाम्रो टिमलाई पनि। सामाजिक संजालको भित्तामा पोष्ट्याइएका तस्वीर हेर्दा र पुगेर आउनेका कथा सुन्दा एकदिन भएपनी काठमाडौंको कोलाहल छिचोलेर त्यहाँ पुग्न मन लाग्यो।

सिन्धुपाल्चोकको आमा याङ्ग्री र भक्तपुरको टुडी झरनासँगै भङेरीडाँडा सम्म सहकार्य गरेको हाम्रो बनिबनाउ टिम एकाध घन्टामा पुगिने रमणीय धापड्यामका लागि निस्कियौ।यो यात्राको तयारी बैठक अनौपचारिक रुपमा धेरै पटक बस्यो र धेरै पटक स्थगित पनि भयो ! तर,बर्खा लागेपछि पानीमा भिज्दै र बाटोमा चिप्लिदै हाम्रो यात्रा सुरु भएरै छाड्यो।

शिवपुरी राष्ट्रिय निकुञ्जस्थित गोकर्णेश्वर नगरपालिका-१ मा रहेको भएपनी यहाँ पुग्न झन्डै सिन्धुपाल्चोक र नुवाकोट पुगेजत्तिकै मेहनत गर्नुपर्ने हुन्छ। सिधै काठमाडौंको सुन्दरीजलदेखी वा कागेश्वरीतिरबाट पनि जान चाहिँ सकिन्छ। यदि घुमाउरो तर सजिलो बाटो जाने हो भने वा पैदल मार्गबाट एक दिन हिंडछु भन्ने हो भने यहाँ पुग्न थुप्रै बाटो छन् । त्यसमध्ये हामीले चाहिँ घुमाउरो बाटो रोज्यौं। थलीदेखी साँखुहुँदै जर्सिङपौवा र झुले निस्केर हामी मोटरबाइक र स्कुटी लिएर धापड्याम पुग्यौं ।

यात्रामा निस्केपछि त्यै त हो ! सेल्फीदेखि रील र टिकटक खिच्नैपर्‍यो ! त्यसमाथि हामी मध्य पुष्कर नेपाल र नानु दाहाल बाहेक सबैको पहिलो यात्रा भएकोले एकाध फोटो खिच्नु र ठाउँ चिन्दै र हेर्दै जानुपरिहाल्यो। झुलेसम्म त बाटो पक्की र सजिलो भएकोले कसैको गुनासो र ठास्सठुस्स भएन । त्यस भन्दा अगाडि बढेपछि मोटरसाइकल र स्कुटीले दुई जना लिएर हिंड्न सक्दिन भन्ने रहेछ ! ठाउँ ठाउँमा त आफ्नै सवारी साधनले पनि ‘तँ पनि झरेर मलाई डोहोर्‍याएर अघि बढ्’ भन्ने सम्मको अवस्था रहेछ। हाम्रो यात्रामा रमाइलो पक्ष नै यहि भैदियो। चिप्लिने,पल्टिने,ठोक्किने,झर्ने,उचाल्ने,धकेल्ने र तान्ने काम धेरै भयो तर,घाउ चोटपटक र सवारीसाधनको क्षति हुनेगरी कुनै अप्रीय घटना नभोगी धापड्याम अर्थात ‘स्वर्ग’ पुगेर फर्कियौं।

उहि पुरानै कथामा भनिएजस्तै हामी मध्यको जेष्ठ सदस्य रामबाबु पौडेल र कान्छो सदस्य सानिध्य निरौला नै थिए। बाइक चिप्लिनु र बाटो अफ्ट्यारो हुनुको गुनासो घरीघरी रामबाबु पौडेलमा थियो भने कतिबेला पुगिन्छ र फर्किएर खाना कतिबेला खाने ? भन्ने प्रश्न सानिध्य निरौलामा सुनिन्थ्यो ! अनि रचना निरौला पौडेल, नानु दाहाल र प्रशिला आचार्यको त उहि त हो फोटो कस्तो आयो ! एउटा टिकटक त खिचौ न ! अनि खिचेपछी आहा, क्या मज्जा ! त्यति भए पुगिहाल्यो । अनि यही टिममा यसपटक देवी पोखरेलको पनि फोटो प्रतिको लगाव स्पष्ट देखियो !

बाँकी पुष्कर नेपाल र सच्चिन्द्र निरौलाको त ड्युटी पनि कडा ! एकातिर बाइक र स्कुटी चलाउनुपर्ने, अर्कोतिर भनेको ठाउँमा रोकेर फोटो पनि खिचिदिनुपर्ने ! रमाइलो पक्ष यही नै थियो र भयो पनि ! यसमा गुनासो थिएन,हाँसो र मनोरञ्जन बढी थियो ! तर,जे होस् सबैले काठमाडौंको रारा वा साच्चिकै स्वर्ग भनेर चर्चा गरेको ‘धापड्याम’ पुगेरै छाडियो। मैले सुरुमै चर्चा गरेको जस्तो स्वर्ग पुग्न जीवनको अनेक घुम्ती र मोडमा होशियार भएर सत्कर्म गर्नुपरे जस्तै धापड्याम पुग्न पनि अनेकौं घुम्ती,मोड,चिप्लो बाटो र उडलखाडल पार गर्नुपर्ने हुन्छ। अनि बिच-बिचमा बाइक र स्कुटी चिप्लिनुको ब्यथा चाहिँ शुन्दर जंगल र चराचुरुङ्गीको मधुर स्वर अनि पानीको छङछङ आवाजले बिर्साइदिने।

मानव निर्मित धापबाँध (ड्याम) ताल पछिल्लो समय पर्यटकहरूको नयाँ गन्तव्य बन्दै गएको छ। बर्खाको समयमा पानी जम्मा गरेर हिउँदमा वाग्मती नदीमा बगाउने उद्देश्यले निर्माण गरिएको भए पनि यो ठाउँ अहिले पर्यटकीय गन्तव्य बनेको छ। करिब १३ हेक्टरमा फैलिएको धापड्याम अवलोकन गर्न जानेले तालको स्वच्छ पानी,निलो आकाश र वरिपरि जंगल देखेर स्वर्गकै अनुभुति गर्न सक्नेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय