क्षमता बेचेर इच्छा किन्न सक्ने उज्जलको रमाइलो कथा
प्रतिक भट्टअहिलेको एक्काइसौं शताब्दीमा युवाहरू हरेक कुरामा आफुलाई अब्बल देखाउन प्रयासरत छन् । कति युवाले आफ्नो सपना आफैं पूरा गर्न सकेका छन् भने कतिपय युवा आफ्नो सपनालाई थाती राखेर परिवारको खुशीको लागि बुबा-आमाको सपना पूरा गर्ने ध्याउन्नमा छन् ।
तर, जुन युवाले आफ्नो मेहनत, परिश्रम र क्षमतालाई बेचेर वा प्रयोग गरेर आफ्नो खुशी किन्न सक्छ त्यही युवा सफल हुन्छ । कतिपय युवाहरू आफ्नो खुशी किन्न देश छाडेर विदेशिएका पनि छन् । थाहा छैन खुशी किन्न गएका सबैले खुशी किन्न सके या सकेनन् । तर, यत्ति कुरा चाहिँ ग्यारेन्टी हो कि आफ्नो क्षमतालाई जसले सहि मुल्यमा बिक्री गर्न सक्छ उसैले मात्र खुशी किन्न सक्छ ।
त्यस्तै युवामध्येका एक युवा हुन २०४८ फागुन १३ गते गोरखाको घ्याम्पेसाल मसेलमा जन्मेका उज्जल बस्ताकोटी । उनको नाम जसरी उज्जल भनिएको छ उनले गर्ने कर्मले पनि उनलाई उज्ज्वल भविष्यको लागि अगाडि बढ्न प्रेरित गरिरहेको छ भन्ने बुझ्न सकिन्छ ।
जन्म गोरखामा भएपनि उज्ज्वलको बुबा-आमाले गोरखा पछि मुग्लिङ, भरतपुर र काठमाडौसम्म संघर्ष गर्नुपरेका कारण उज्ज्वल पनि पढाईकै क्रममा काठमाडौ आइपुगे । यद्यपि बुबा-आमाको भन्दा उज्ज्वलको काठमाडौं बसाई पुरानो हो । चितवनमा ट्राभल एन्ड टुरिजम अध्ययन गरेका उज्ज्वल सानैदेखि घुम्न मन पराउँथे ।
यो पनि पढ्नुहोस:
सबैका प्रिय सम्पति, बस्ताकोटी दम्पती
त्यो बेला ‘ट्राभल’ भनेको घुम्नु हो भन्ने मात्रै बुझेका उज्ज्वलले आफ्नै रोजाईको पढाइ पनि ‘ट्राभल एन्ड टुरिजम’ नै सुरु गरे । त्यसपछि माइलो दाजुसँग काठमाडौ बस्न थालेका उज्ज्वललाई एक साँझ काठमाडौको न्युरोडतिर बरालिँदा फिल्म सम्बन्धिको विभिन्न विधामा पढाई हुन्छ भन्ने कुरा दोस्रो साथीमार्फत कानमा ठोकियो ।
ट्राभल एन्ड टुरिजम अध्ययन गरेका उनलाई फिल्मको रंगीन पर्दा र त्यसमा देखाइने देश विदेशका मनोरम दृश्यले ध्यान खिच्यो । त्यसपछि उनी काठमाडौंको ओस्कार इन्टरनेशनल कलेजमा भर्ना भए । जब उनले चलचित्रका विभिन्न विधाबारे कलेजमा अध्ययन गर्न थाले अनि उनले बुझे कि ‘पैसा ट्राभल एन्ड टुरिजममा भएपनि घुम्न त फिल्म लाइनमा पो पाइने रहेछ ।’
त्यो बेला उज्जलले आफ्नो मनको राजा आफैं हो भन्ने पनि लाग्यो । किनभने उनले पढेको विषय कस्तो हो ? पढेर केही फाइदा छ कि छैन ? भोलि जागिर होला कि नहोला ? भन्ने प्रश्न सोधेर हैरानी गर्ने कोही थिएन । ‘हामी जस्तो मध्यम वर्गको लागि यो पनि एउटा अवसर जस्तो लाग्ने रहेछ’, उनले परेवान्युजसँग भने- ‘घरका परिवारका सदस्य पैसावाल वा उच्च शैक्षिक अवस्थामा भए सायद धेरै प्रश्नको जवाफ मैले दिनुपर्ने हुन्थ्यो । तर, परिवारलाई मैले पढेको छ भनेपछि पुग्थ्यो, त्यसको फाइदा उठाउँदै मैले आफ्नो मनले रोजेको विषय अध्ययन गरें’ ।
जब फिल्मको हरेक विधा अध्ययन गर्दै गए र अध्ययनकै क्रममा जब शोधपत्रको रुपमा ‘शर्ट फिल्म’हरु निर्माण गर्न थाले त्यसपछि त झन् उज्जलले घुम्नु भन्दा उत्कृष्ट सिकाइ अरु केही रहेनछ भन्ने कुरा बुझ्दै गए । ‘घुम्नु भनेको सिक्नु रहेछ, मैले त्यही बुझें’, उनले परेवान्युजसँगको कुराकानीमा भने- ‘मानिसको खाने तरिका, बोल्ने तरिका, विभिन्न जात जातिको संस्कृति सबै कुरा मैले घुमेरै बुझ्न पाएँ ।’
अनि उज्जलले यो क्षेत्रमा लागेपछि अर्को कुरा पनि बुझे कि जिन्दगीमा आफुले रोजेको कुरा गर्न पाउनुमै अधिकतम सन्तुष्टि मिल्ने रहेछ। ‘मेरो क्षमता के कुरामा हो भन्ने चिन्न नसक्नु पनि कमजोरी हो’, उनी भन्छन्- ‘त्यसैले मैले आफ्नो क्षमता चिनें र अहिले त्यही क्षमता बेचेर इच्छा किन्न सक्ने भएको छु’ ।
आफ्नो मनको राजा आफैं भएका उज्जलले जब प्राक्टिकलको रुपमा म्युजिक भिडियोमा क्यामेरा चलाउन थाले त्यसपछि उनको जादुमय क्षमताको चौतर्फी तारिफ हुन थाल्यो । उनले कलेजबाहेक पनि क्यामेरा चलाउने र छायांकनमा लोकेसन अनुसारको दृश्य र दृश्य अनुसारको एङ्गल मिलाउन सिक्दै गए । कलेजमै रहेको अवस्थामा उनले छायांकार नरेन्द्र मैनालीको सहायक क्यामेरामेन भएर नेपाली चलचित्र ‘ताण्डव’ र ‘मुखौटा’ फिल्ममा काम गरे ।
त्यसपछि केही म्युजिक भिडियो र डकुमेन्ट्री निर्माणमा पनि उनको क्यामेरा चल्न थालेपछि पढाई पछिको थेसिसको रुपमा निर्माण गरेको ‘बुट्टेजामा’, ‘काफल पाक्यो’ र ‘ह्वाट द प्याज’ मा उनले आफ्नो क्षमता देखाए । त्यसमा कलेजमा अध्ययनरत सबै विधाका साथीहरूको सहभागिता रह्यो । त्यसमध्ये तराइको सतार जातीको बच्चीको ‘बुट्टे जामा’ले विभिन्न फिल्म फेस्टिबलमा अवार्ड जितेपछि उनी झन् उत्साही रहे ।
उनको ‘काफल पाक्यो’ले अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिबलमा १०० भन्दा बढी अवार्ड हात पार्यो । त्यसैमार्फत निर्देशक निरन्जन राज भेटवाल समेत उज्जललाई चेक रिपब्लिक घुम्न जाने अवसर मिल्यो ।
त्यसपछि उनले अविनास बिक्रम शाहको ‘लोरी’ भन्ने सर्ट फिल्म खिछे र त्यसैमार्फत २०२२ मा फ्रान्समा आयोजना भएको ‘कान्स फिल्म फेस्टिबल’मा पुगेर ‘स्पेसल मेन्सन अवार्ड’ अर्थात हामीले भन्ने गरेको जुरी अवार्ड हात पार्न सफल भए ।
त्यसअगाडि नै उज्जलको यात्रा फिचर फिल्म ‘चिसो एस्ट्रे’बाट अगाडि बढ्दै थियो । भुपी शेरचनको कृतिबाट बनाइएको चिसोएष्ट्रे निर्माणमा ७ वर्ष समय लाग्यो । यो फिल्म अहिले अन्य भाषामा पनि डबिङ गरेर अनलाइन प्लेटफार्मको लागि तयार हुँदैछ । यसबाट पनि नेपाल इन्टरनेशनल फिल्म फेस्टिबल ‘निफ’ मार्फत उत्कृष्ट छायांकारको अवार्ड उज्ज्वलले नै हात पारे ।
त्यसपछि उज्जलको अर्को सुखद यात्रा सुरुभयो विदेशी निर्देशकको फिल्म त्यो पनि विदेशमै पुगेर छायांकन गर्ने । उनले भर्खरै मात्र पाकिस्तान पुगेर हलिउडका फिल्म निर्देशक अमन अब्बासीको फिल्म खिचेर आएका छन् ।
‘मेरो लोरी फिल्मको खिचाइ हेरेपछि उनको प्रोजेक्टमा लिन चाहेका रहेछन्’, पाकिस्तान पुगेर फिल्म खिचेको बारे उज्ज्वल भन्छन्- ‘अब्बासले लोरीका निर्देशक अविनास विक्रम शाह मार्फत सम्पर्क गरेर मलाइ पाकिस्तानमा छायांकनको लागि अवसर दिए ।’ उनको यो फिल्म २०२३ को सुरुवातमा अमेरिकामा प्रदर्शन हुनेछ ।