सबैका प्रिय सम्पति, बस्ताकोटी दम्पती
देवी पोखरेलकाठमाडौं महानगरपालिका-६ बौद्धस्थित बौद्ध-गुह्वेश्वरी रोडको देब्रे छेउमै एउटा क्याफे छ । क्याफेको बाहिर एउटा काठको मुडा र छेउमा सुकुल ओछ्याएको अरु ३/४ वटा सानो मुडा छ । ठूलो काठको मुडालाई टेवल मानेर सानो मुडामा बस्दै कफी र चियाको चुस्की लगाउनेहरु प्रायः गफ गरिरहेको भेटिन्छन् ।
झुलुक्क हेर्नेलाई यो नौलो क्याफे हो भन्ने त लाग्छ नै तर भित्र गएपछि पनि उस्तै खालको टेबल र बस्ने कुर्सी देखेपछि जो कसैलाई खास लाग्नेछ । ठ्याक्कै भन्दा भित्रको सेटिङ पनि काठका ठुला मुडालाई टेबल र काठकै मुड्काको कुर्सी अनि एकापट्टि परालको गुन्द्री र चकटी बिछ्याइएको छ ।
कतै बाँसका बेन्ची अनि त्यसमाथिको चकटी पनि भिन्नै । साइडमा एकापट्टि भुपी शेरचनको ठूलो तस्वीर अनि अर्कोपट्टि बौद्ध स्तुपाको चित्र टाँगिएको छ । बाहिर नाम लेखिएको छ- ‘मिराज’ ।
यो रेस्टुरेन्टको बाहिरी र भित्री सजावट विदेशको कुनै समुद्री किनारको रेस्टुरेन्टको भन्दा कम लाग्दैन । यसलाइ डिजाइन दिएका हुन् आर्किटेक्ट इन्जिनियर भुपेस बस्ताकोटीले । अनि यो रेस्टुरेन्ट सञ्चालन गरेका छन् विष्णुप्रसाद बस्ताकोटी र उनकी श्रीमती भद्रा कुमारी बस्ताकोटीले । आर्किटेक्ट भुपेस यिनै बस्ताकोटी दम्पतीका माइलो छोरा हुन् । विगत ९ वर्षदेखी विष्णु र भद्रा यो रेस्टुरेन्टमा आउने ग्राहकको लागि साहुजी भन्दा पनि प्रिय दाइ-भाउजु भएर बसेका छन् ।
जसरी यो रेस्टुरेन्ट अरुभन्दा फरक छ त्यसरी नै बस्ताकोटी दम्पतीको कहानी पनि फरक छ । गोरखा स्थायी घर भएका बस्ताकोटी व्यवसायका लागि भारत र भुटान समेत पुगे । उनका माइला दाजु भुटान र भारतको सिमानामा व्यापार गर्न पहिल्यै पुगेका कारण विष्णु र भद्रा पनि त्यहाँ पुगे ।
त्यहाँ जेबी सुपरमार्केट सुरु गरेर भारत र भुटानको जनतासँग असल साइनो गाँसेका विष्णुका माइला दाई खडानन्द बस्ताकोटी अहिले पनि भुटाने माइला भनेर चिनिन्छन । तर, उनी अहिले भुटान होइन नेपालकै चितवन बस्छन् ।
माइलो दाजुपछि ठूलो दाजु पनि उतै व्यवसाय गर्न थालेपछि विष्णु र भद्राको पनि बसाइ उतै भयो र जेठो छोरा योगेश बस्ताकोटी त्यहीँ जन्मिए । हाल योगेशको पनि बौद्धमै बेकरी सप छ । व्यवसाय गर्न भारत-भुटान बोर्डर पुगेका बस्ताकोटी दम्पती पुन: त्यहाँबाट गोरखा फर्के । तर, उनीहरुको मन मानेन । उनीहरु गोरखाबाट चितवनको मुग्लिन आइपुगे र केही समय किराना पसल चलाए । त्यहाँ पनि उनीहरुको मन अडिएन र त्यहाँबाट नारायणघाट तिर लम्किए ।
‘मुग्लिङमा किराना पसल राम्रो भएपनि बच्चाको भविष्य नहुने देखेपछि हामी नारायणघाट लाग्यौं’, विगत सम्झँदै बस्ताकोटी दम्पती भन्छन्- ‘चितवनको आँपटारी गएर पनि केही समय व्यवसाय गर्यौं र पछि साथीहरू मिलेर भेनस बोर्डिङ स्कुल सञ्चालन गर्यौं ।’
आफू शिक्षा क्षेत्रमा लागेपछि बच्चाको पढाइ पनि राम्रो हुने देखेका विष्णुले केही समय विद्यालयको व्यवस्थापन र पछि उत्तम सन्जेलको समता स्कुलमा समेत व्यवस्थापकिय जिम्मेवारी लिएर काम गरे । नारायणघाटको आँपटारी छोडेर बिष्णुको परिवार भरतपुर-१२ धनगढा मन्दिर छेउ पुगेर घर बनाए र त्यहीँ फेरी किराना व्यवसाय सुरु गरे । त्यतिन्जेलसम्म उनका छोराहरू उच्च शिक्षाको लागि राजधानी काठमाडौ पुगिसकेका थिए ।
छोराहरू काठमाडौं अनि विष्णु र भद्रा चितवन बस्दा बस्ताकोटी दम्पतीलाई आफ्नै निर्णय खासै चित्त बुझेन र काठमाडौं जाने निर्णय गरे । तर, जिल्लाको राजनीतिमा पनि चासो राख्ने भएकाले झ्याप्पै चितवन छाड्ने-नछाड्ने निर्णय लिन खोज्दै गर्दा छोराहरूको आग्रहका अगाडि उनको व्यवसाय र राजनीतिले जित्न सकेन । बस्ताकोटीले तुरुन्तै काठमाडौ जाने कुरालाई प्रधान मानेर श्रीमती भद्रासङ्ग सल्लाह गरे अनि एकै दिनको निर्णयले काठमाडौं पुर्यायो ।
चितवनको घर अनि व्यवसाय उधारोमा नै छोडेर काठमाडौं आएका बस्ताकोटी दम्पती सुरुमा काठमाडौंको चाबहिल बस्न थाले । ‘छोराहरुको भविष्य राम्रो बनाउन खोज्दाखोज्दै परिवार नै काठमाडौं आइपुगियो’, भद्राले भनिन- ‘काठमाडौं आउन छोराहरुको दबाब र हाम्रो कर्मले पनि सहयोग पुर्यायो ।’
चितवन बस्दा व्यवसाय र राजनीति गरेको व्यक्ति विष्णुलाई काठमाडौं आएपछि समय कटाउन गाह्रो भयो । केही दिन त बस्ताकोटी दम्पती पशुपति मन्दिर परिसर घुमेर पनि दिन कटाउन थाले । तर, केही दिनपछि नै त्यसले उनीहरुको समय पनि कटेन र चित्त पनि बुझेन । अनि उनीहरुले सल्लाह गरेरै रिङरोड बाहिर निस्कने र केही व्यवसाय गर्ने योजना बनाए ।
उनीहरुको योजनामा छोराहरू योगेश, भुपेस र उज्ज्वलले साथ दिए । अनि जन्मियो मिराज क्याफे । अहिले जेठो छोरा योगेश र बुहारी बबिता बस्ताकोटीले मिराज बेकरी हेर्छन् भने माइलो छोरा भुपेस बस्ताकोटी आर्किटेक्ट इन्जिनियर छन् । अनि कान्छो उज्ज्वल बस्ताकोटी फिल्म क्षेत्रमा लागेका छन् ।
यसरी गोरखादेखि भुटान र चितवनदेखि काठमाडौंसम्मको व्यवसायिक अनुभव बटुलेको बस्ताकोटी परिवार अहिले काठमाडौं-६ बौद्धमा स्थायी बासिन्दा भएर बसेका छन् ।
राजनीतिमा चासो राख्ने विष्णुको राजनीतिक तिर्खा पनि रेस्टुरेन्टमै मेटिने गरेको छ । उनैको रेस्टुरेन्टमा नेता कार्यकर्ताको जमघट र चिया गफ हुने भएकोले विष्णु-भद्रा दम्पती सबैको प्रिय सम्पत्ति जस्तै भएका छन् ।