बीमाको रकम असुल्न बन्दको निहुँ पारी आफ्नो गाडीमा आफैंले आगजनी !
प्रतिक भट्टदाङ, ७ भदौ । दाङमा मङ्गलबार विहानै एउटा टिप्परमा आगजनी भएको खबर आयो । विप्लव नेतृत्वको बन्द आह्वान भएकाले बन्दकर्ताले आगजनी गरेको हुनसक्ने प्रारम्भिक अनुमान थियो ।
सबैले सुरुमा बन्दकर्ताले नै आगजनी गरेको हुनसक्ने अनुमान गर्नु स्वभाविक थियो । तर यस घटनाको बारेमा अनुमान गरेभन्दा विपरित कुरा बाहिर आयो । उक्त टिपरमा बन्दकर्ताले नभई गाडीकै साहुले आगजनी गर्न लगाएको खुलेको छ ।
बीमाबाट आउने रकमको लोभमा गाडीको साहुले चालक र सहचालकलाई गाडीमा आगजनी गर्न लगाएका थिए ।
गाडीका साहु दाङको घोराही उपमहानगरपालिका १८ का ४१ वर्षीय धनेश्वर भण्डारीको निर्देशनमा गाडी चालक ३२ वर्षीय अरूण चौधरी र सहचालक २६ वर्षीय आकाश चौधरी मिलेर आगो लगाएको तथ्य सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
यस तथ्य बाहिर आएपछि गाडीका साहु चालक र सहचालक तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटना शंकास्पद देखिएपछि प्रहरीले सुरूमा चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरूको बयानका आधारमा साहु भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो ।