कस्तो पैसाले बीमा गर्न पाइँदैन ?
नेपालमा बीमाको महत्त्व बढ्दै गएको छ । बिमाले बचत गर्न सिकाउने र जोखिम वहन पनि गर्ने भएकोले पछिल्लो समय नेपालमा बीमा गर्नेहरू बढेका छन् । हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् । केही कम्पनी मर्जरमा जाने तयारीमा पनि छन् ।
नेपालको कानुन र राष्ट्र बैंक तथा बीमा समितिले बीमा पोलिसी खरिद गर्दा कालो धन प्रयोग भए-नभएको बारे अध्ययन र अनुसन्धान गर्नेछ । नेपालको कानुनले बीमामा कालो धन निषेध गरेको छ । बीमाको सिद्धान्त अनुसार पनि असल नियतका साथ बिमा पोलिसी खरिद गर्ने र बीमा शुल्क पनि शुद्ध धन बाट भुक्तानी गर्नुपर्ने हुन्छ ।
कानुनले बर्जित गरेको अपराधजन्य कार्यबाट प्राप्त सम्पत्तिबाट बीमाशुल्क बुझाउन पाइँदैन । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्यलाई कानुनी रुपमा बर्जित मानिन्छ ।
नेपालमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार केही यस्ता सम्पत्तिलाई बीमा पोलिसी खरिद गर्न नपाइने भनेको छ । जस्तै: संगठित अपराधिक समूह र गैरकानूनी वा र्याकेटिङमा सहभागी भएको पैसा, विध्वंशात्मक कार्यलगायत आतंकवादसम्बन्धी पैसाले बीमा शुल्क तिर्न पाइदैन ।
यसैगरी जुनसुकै प्रकारको मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी, बाल यौन शोषणलगायत जुनसुकै प्रकारको यौन शोषण सम्बन्धी, लागूऔषधको गैरकानूनी ओसारपसार सम्बन्धी र हातहतियार खरखजानाको गैरकानूनी ओसारपसार सम्बन्धीबाट प्राप्त पैसाले बीमा गर्न पाइदैन ।
त्यस्तै चोरी गरिएको वा अन्य वस्तुको गैरकानूनी ओसारपसार सम्बन्धी, भ्रष्टाचार तथा घुस सम्बन्धी, ठगी सम्बन्धी, कीर्ते सम्बन्धी, खोटा सिक्का वा मुद्रा सम्बन्धी, नक्कली वस्तुको उत्पादन तथा उत्पादनको गैरकानूनी प्रतिलिपि वा चोरी (पाइरेसी अफ प्रोडक्टस्) सम्बन्धी, वातावरण सम्बन्धी, ज्यान लिने तथा अंगभंग सम्बन्धीको पैसाले पनि बीमा शुल्क बुझाउन पाइँदैन ।
अपहरण, गैरकानूनी थुना वा शरीर बन्धक सम्बन्धी, चोरी वा डकैतीसम्बन्धी, तस्करी (भन्सार, अन्तशुल्क तथा कर सहित) सम्बन्धी, कर (प्रत्यक्ष वा अप्रत्यक्ष समेत) सम्बन्धी, आपराधिक लाभ (एक्स्टर्सन) सम्बन्धी, सामुद्रिक डकैती (पाइरेसी) सम्बन्धी, धितोपत्र वा कमोडिटिज बजारलाई प्रतिकूल प्रभाव पार्ने (मार्केट म्यानिपुलेसन) वा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) सम्बन्धी,प्राचीन स्मारक संरक्षण सम्बन्धी,वन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण सम्बन्धी, मुद्रा, बैंकिङ, वित्तीय, विदेशी विनिमेय, विनिमेय अधिकारपत्र, बीमा वा सहकारीसँग सम्बन्धी, कालोबजार, उपभोक्ता संरक्षण, चिठ्ठा, जुवा वा चन्दासम्बन्धी गैर कानुनी हिसाबले आर्जित पैसालाइ पनि बीमा शुल्क भनेर बुझाउन मिल्दैन ।