समयको कठघरामा बाबुराम
रुद्रप्रसाद भट्टआफ्नै नागरिकताको नाम वा अभिभावकले प्यारो गरी बोलाउने नाम समेत भन्न नसक्ने एकजना छद्मभेषी लेखक तथा विश्लेषकले एउटा टेलिभिजन अन्तर्वार्तामा नेपालका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भन्नेलाई चिन्दिन भने । प्रश्नकर्ताले पूर्व प्रधानमन्त्री भट्टराईबारे धारणा लिन खोज्दा उनको जवाफ थियो- ‘म तीन जना बाबुराम मात्रै चिन्दछु, १. बाबुराम आचार्य, २. बाबुराम शर्मा (भित्तेपात्रो वाला) र ३. बाबुराम ढुङ्गाना ।
नाम चलेका लेखकले दिएको यो उत्तर ठीकै हो जस्तो लाग्यो । सबैले सबैलाई चिन्नुपर्छ भन्ने पनि छैन । तर, मेरो देश चिन्दिन, देशको पैसा चिन्दिन, प्रधानमन्त्री, राष्ट्रपति चिन्दिन भन्नुले ठुलो अर्थ राख्दछ । इतिहासमा भीमसेन थापादेखि जंगबहादुर र उनका राणा खलक, पञ्चायतका प्रधानमन्त्री, बहुदलका प्रधानमन्त्री पढ्ने व्यक्तिले वर्तमानमा जीवित र सक्रिय राजनीतिमा रहेको व्यक्ति चिन्दिन भन्नु कत्तिको पत्यारिलो हुन सक्छ ? यो विषय भद्दा मजाक हो वा विश्लेषकको घमण्ड ? सुन्नेलाई चाहिँ पक्कै आश्चर्य र गम्भीर बनाएको हुनुपर्दछ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार भइसकेका एकजना नेताले पनि डा. बाबुराम भट्टराईले दौरासुरुवाल र ढाकाटोपी लगाएकैमा व्यंग्य गरेका थिए । जबकि त्यही हुलियामा उनका पार्टीका वरिष्ठदेखि कनिष्ठ नेताहरु हिजो दरबारमा दाम चढाउन र टिका थाप्न जाने गर्दथे । त्यस्ता कम्युनिष्ट सदन र सडकमा अहिले पनि बग्रेल्ती भेटिन्छन् । तर बाबुरामले दौरा सुरुवाल लगाउँदा उकुसमुकुस किन भयो ? यो पनि मनगढन्ते वा ओली उखान टुक्का जस्तो हल्का विषय थिएन र होइन ।
त्यसै समयमा केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष भएको तत्कालीन नेकपा निकट विद्यार्थी संगठनका अध्यक्षले आफ्नो फेसबुकको भित्तामा बाबुरामलाई हार्दिक श्रद्धाञ्जली नै दिएका थिए । त्यसलाई नेकपा कार्यकर्ताले हो मा हो मिलाउँदै मृत्युलाई प्रमाणित नै गर्न तम्सिएको पनि जगजाहेर नै छ । जिउँदो मान्छेलाई श्रद्धाञ्जली दिने राजनीतिक संस्कार कम्युनिष्ट चरित्र हो वा होइन त्यो उनै जानुन् । सायद कम्युनिष्ट दर्शनमा नभए पनि उनको पार्टीको नीति र निर्देशनले होला उनलाई जस्तो राजनीतिक संस्कार सिकाइयो त्यही उनले गरे ।
स्वयं पूर्व प्रधानमन्त्री ओलीले बाबुरामलाई धेरै पढेर बिग्रेको भन्दै भ्यागुता जस्तै भूँडी फुटेर मर्ने सम्मको अभिव्यक्ति दिए । ओलीको त्यो अभिव्यक्ति पनि सहज र उखानटुक्कामै मात्रै बुझेर पुग्दैन । अहिले फरक पार्टीमा देखिएपनि त्यो बेला ओलीको व्यंग्य देख्ने सुन्ने साक्षी बाबुरामकै पुर्व सहकर्मी कमरेड प्रचण्ड नै थिए । उनि हाँसेरै ओली अभिव्यक्तिमा रमाउँदै थिए । त्यतिबेला ओलीको माया प्रेममा चुर्लुम्मै डुबेका प्रचण्डले पनि भन्दै थिए बाबुराम जस्तो अफ्ठ्यारो मान्छेलाई मैले ३० वर्ष झेलेर बसे अरुले एक वर्ष पनि झेल्न सक्दैनन् ।
अहिले पनि दैनिकजसो बाबुराममाथि अनेकौं आरोप लागिरहेको छ । आरोप लगाउने अर्को पात्र थपिएका छन् उपेन्द्र यादव । सधैं मधेस मुद्दाको नाममा मन्त्रीपद बार्गेनिङ गर्ने र आफुलाई मधेसको लोकप्रिय ठान्ने यादवले अहिले बाबुरामलाई गाली गर्न दैनिकजसो ट्युसन लिइरहेका छन् । जबकि अहिले उपेन्द्र यादवले कारवाही गरेर निकालिसकेको जसपा नामधारी पार्टीको संघीय परिषद अध्यक्षबाहेक बाबुराम कुनै कार्यकारी पदमा पनि छैनन् तर अझै पनि गाली खानेमा उनी एक नम्बरमै पर्दछन ।
आखिर यतिधेरै गाली खानुपर्ने अभागी बाबुराम को हुन् त ? यिनले त्यति ठुलो राष्ट्रघात के गरे ? दासढुङ्गामा मदन-आश्रीतको हत्या गर्नेलाई सघाए कि ? दरबार हत्याकाण्ड गराए कि ? महाकाली बेचे कि ? टनकपुर बेचे कि ? अरुण तेस्रो, मेलम्ची, पञ्चेश्वर परियोजनाबाट करोडौंको गाडी बक्सिस लिए कि ? कुनै ठेकेदार र कालोबजारीको घर भाडामा बसेर तिनैलाई ठेक्का दिलाए कि ? एनसेलबाट अर्बौं रकम लिएर चुनाव लडे वा चन्द्रागिरी गएर ब्रेकफास्ट, सुकुटे गएर लञ्च, गोकर्ण गएर डिनर गरे ? दुबई र सिङ्गापुर गएर दैनिक ५ लाख भन्दा बढीको कोठामा सुतेर मोजमस्ती जिन्दगी बिताए कि ? आफ्नो उपचारको नाममा करोडौं रुपैँया विदेशी अस्पतालमा सिध्याए कि ?
कुनै राष्ट्रसँग सन्धि, सम्झौता गरेर देशलाई ठुलो बर्बादी पो गरे कि ? वा मधेशी, दलित, महिला, अपाङ्ग, वृद्धवृद्धाको नाममा छुट्ट्याइएको बजेट रकमान्तर गरेर खाए कि कुन चाहिँ अपराध गरे यिनले ? आज सर्वहाराका नेता भन्नेहरु, हिजो संँगै युद्ध लडेकाहरु आलिसान बंगलामा दर्जनौं सुरक्षाकर्मीको घेराभित्र बसेर राजामहाराजाको जस्तो जीवन बिताइरहेका छन् । तर बाबुरामको त्यस्तो तामझाम पनि देखिन्न । न अकुत सम्पती कमाएको भनेर अख्तियारमा मुद्दा छ न कुनै माफिया र दलाल घरमा बोलाएर करोडौं मागेको रेकर्ड छ । कुनै एउटा कारण त चाहियो नि विरोध गर्न । तर पनि आजको दिनमा गोरखाबाट चुनाव जितेर संघीय संसदमा पुगेको सर्टिफिकेट भन्दा अरु कुनै पद उनको देखिन्न । र पनि गाली सबैभन्दा धेरै उनैले खाइरहेका छन् ।
नेपालीले प्रयोग गर्ने तर शब्दकोषमा नभएका ४८ वटा गाली अर्थात अश्लील शब्दहरु छन् ती सबै आज बाबुरामका लागि प्रयोग भइरहेको छ । त्यसैले कहिलेकाँही लाग्छ यिनी बाबुराम हुन् कि गाली खान जन्मेका अभागी ?
पहिलोः पिएचडी गरेका बाबुराम २०५२ साल फागुनदेखि सुरुभएको जनयुद्धमा लाग्नु नै हरामी बन्नु हो । मै मात्रै जनयुद्धको असली हकदार हूँ भनेर यतिबेला कुर्लनेहरुलाई तत्कालीन अवस्थामा जनताले चिन्दैन थिए । २०५७ को स्वघोषित सम्मेलनपछि पार्टी नेतृत्वको मात्रै फोटो देखाउने भनेपछि अहिलेका प्रचण्डलाई जनताले चिनेका हुन् । त्यो बेलासम्म बाबुरामकै कारण आन्दोलनले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चर्चा पाएको थियो । जनयुद्धकै जगमा भएको २०६२/०६३को लोकतान्त्रीक आन्दोलन सफल भएर नै केपी ओली, माधव नेपाल, झलनाथ खनाल प्रधानमन्त्री हुन पाएका हुन् । त्यो भन्दा अगाडि दरबारमा गएर प्रधानमन्त्री बनाइबक्स्योस् महाराज भनेर दाम चढाउने र बिन्ती बिसाएर फर्कने गरेको इतिहास जिउँदै छ ।
महिला, मधेसी, दलित, अल्पसंख्यक, सीमान्तकृत सबैलाई राज्यको पहुँचसम्म पुर्याउने र अवसर दिलाउने काम यिनै बाबुरामको कारण सम्भव भयो । तर, त्यसको जस यिनले कहिल्यै लिन खोजेनन् । पार्टी, नेता र नेतृत्वलाई जहिले विश्वास गरेर प्रचण्डलाई धेरैपटक गर्ल्याम्म अंगालो हाले । अहिले उनै प्रचण्ड कहिले ओली त कहिले शेरबहादुर देउवासँग माया प्रेममा रमाएर बाबुरामलाई नै गाली गर्न खप्पिस छन् ।
दोस्रोः जब बाबुराम कठिन अवस्थामा प्रधानमन्त्री बने, युवा स्वरोजगार कार्यक्रम, राष्ट्रिय गौरवका आयोजना, जलस्रोत, हुलाकी मार्ग, मध्य पहाडी लोकमार्ग र काठमाडौंलगायत धेरै ठाउँमा बाटो फराकिलो बनाउने काम सुरु गरे अनि मुस्ताङ गाडी चढेर स्वदेशी उत्पादनलाई जोड दिन खोजे । करोडौंको गाडी, करोडको कार्पेट र करोडको जिमखाना, करोडौंको औषधि उपचार अनि लाखौंको खानेपानीमा खर्च गर्नुपर्नेमा यिनले १६ लाखको स्वदेशी गाडी चढ्नु साँच्चिकै गाली खाने नै काम थियो त ?
तेस्रोः बाबुराम जब संविधानसभाबाट जारी संविधानमा आधा गिलास भरियो आधा खाली छ भनेर मधेसी, दलित, महिला, थारु लगायत विभिन्न जाती जनजातीको पक्षमा बोल्न यिनी मधेस झरे । आजसम्म पनि यिनले मधेसी, दलित, महिलाका मुद्दा सडकदेखि सदनसम्म उठाउँदै छन् । मधेसवादी दलसँग एकता गरेर मधेसी दल भन्नेलाई राष्ट्रिय पार्टी बनाउन र हिमाल, पहाड, तराई जोड्न खोजे उनैलाई उपेन्द्रले कारवाही गरे । के यो बाबुरामको गल्ती थियो त ?
चौथोः बाबुरामले जब पुरानो परम्परावादी राजनीति होइन नयाँ ढंगबाट राजनीति यात्रा सुरु गरौं र अर्बौं खर्च हुने चुनावी अभ्यास भन्दा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुने बाटो अबलम्बन गरौं भनेर संसदबाट बाहिर आएर नयाँ शक्ति गठन गरे । यिनको नयाँ शक्तिलाई पुरानो खाइखेली आएको शक्तिले न चुनाव चिन्ह दियो न दल बन्न दियो । अन्ततः यिनको यात्रामा षड्यन्त्रहरु भइ नै रहे । जनतालाई अधिकार सम्पन्न बनाउनुपर्दछ भन्नु गलत र ढाँट, छल र जालझेलको राजनीतिक भूलभूलैयामा पारेर जनतालाई लुटेरै खानुपर्दछ र छोरा, छोरी, श्रीमती र आफन्तलाई पद बाँड्नुपर्दछ भन्नु सही हो त ?
पाँचौंः यिनले संसदमा उभिएर केपी ओली, माधव नेपाल, झलनाथ, प्रचण्ड, शेरबहादुर देउवा समेत आफ्नो पनि सम्पति छानविनको माग गरे । जबकि यो कुरा कसैलाई मीठो लाग्ने कुरै भएन । यस्ता कुरा बाबुराम जस्ता अबुझले मात्रै गर्न सक्छ । आफुले खाइपाई आएको सुविधा कटौती गर्ने, अगाडि पछाडि सुरक्षाकर्मी लिएर दौडने, माफिया र दलालकोमा लञ्च, डिनर गर्ने कुरालाई कटौती गरौं र सम्पती छानविन गरौं भन्ने बहुलट्ठी कुरा गर्ने बाबुराम नेपाली राजनीतिमा टिकिरहन सम्भव छ त ?
यी प्रश्नको उत्तर छद्मभेषी विश्लेषकले दिने की राजनीतिक पार्टीको लेपन लागेका तर स्वतन्त्र नागरिक भन्नेहरुले दिने ?