जग्गाधनीको नक्कली मृत्युदर्ता बनाएर ७ करोडको जग्गा कीर्ते गरी बेच्ने पाँच जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले जग्गाधनीको मृत्यु भएको भनि नक्कली कागजात बनाएर ७ करोड रुपैयाँ पर्ने जग्गा बिक्री गर्ने ५ जनालाई पक्राउ गरेको छ । यो समूहले जग्गाधनी शान्तादेवी लोहनीको निधन भएको भन्दै उनको नाममा कीर्तिपुर नगरपालिका वडा नम्बर २ मा रहेको ३ सय ४१ वर्गमिटर जग्गा ३ करोड ७० लाख रुपैयाँमा बेचेको प्रहरीले जनाएको छ ।

जग्गाधनी लोहनी लामो समदेखि जापानमा बस्दै आएकी थिइन् । पछिल्लो पटक लोहनीले गत जेठ ५ गते कलंकी स्थित मालपोत कार्यालयमा आफ्नो जग्गा बायोमेट्रिक्स प्रणालीमार्फत अभिलेख राख्न खोज्दा उनको जग्गा कीर्ते गरेर १४ महिनाअघि नै बिक्री भएको खुलेको थियो । लोहनीले २०६१ सालमा जग्गा किनेकी थिइन् ।

पक्राउ पर्नेमा दार्चुलाको उकु गाउँपालिकाका ५२ वर्षका महावीर चन्द, सिन्धुपाल्चोकको मेलम्ची ४ का ४१ वर्षीय गणेशबहादुर खनाल, सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिका १ का ४० वर्षीय बाबुराम कार्की, नुवाकोट तारकेश्वर गाउँपालिकाका १ का ४६ वर्षीय प्रेमप्रसाद खनाल र काठमाडौं तारकेश्वर नगरपालिका २ की डासीमाया श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये खनाल र कार्की मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ । जसमा खनालले खरिदकर्ता खोज्ने र आर्थिक कारोबारको व्यवस्थापन गरेको र कार्कीले नक्कली कागजात बनाउने मिलाउने र मालपोत कार्यालयमा समन्वय गरेका थिए ।
पक्राउ परेकामध्ये ५२ वर्ष महावीर चन्दले लोहनीका पति तारानिधिको नामको नक्कली नागरिकता बनाएका थिए । तारानिधि बनेका चन्दले शान्तादेवीको कालगतिले २०७७ भदौ १३ मा मृत्यु भएको भन्दै मालपोत कार्यालयमा निवेदन दिएका थिए । शान्तादेवीकाे नाममा रहेको जग्गा त्यसै वर्षको पुस ५ गते नक्कली तारानिधिमा नामसारी भएको थियो । उनीहरुले जग्गा २०७७ फागुन १० गते भक्तपुर बेचेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय