२०७२ बैशाख १२ : जमिन होइन, जिन्दगी हल्लियो…

दिपेन्द्र ढकाल

२०७२ साल बैशाख १२ गते। बिहानदेखि दिउँसोसम्म सबै सामान्य जस्तै थियो—घाम उस्तै, शहर उस्तै, मानिसहरू आफ्नै काममा व्यस्त।

तर ठीक ११:५६ बजे…जमिन अचानक करायो। त्यो केवल भूकम्प थिएन…त्यो एक क्षणमै जीवन बदल्ने इतिहास थियो।
२०७२ भुकम्प सुरु भयो।

म भक्तपुरको सैनिक आवासीय महाविद्यालयमा खेल प्रशिक्षणको कार्यक्रममा थिएँ। बिहान विद्यार्थीहरू अभ्यास गरिरहेका थिए-दौड, आदेश, तालिम… सबै कुरा व्यवस्थित थियो। भविष्यका सपना बोकेका ती अनुशासित खेलाडीहरूबीच जीवन सामान्य जस्तै लाग्थ्यो।

तर एक्कासि…
जमिन हल्लिन थाल्यो। स्कुलका पक्की भवनहरू काँप्न थाले। सुरुमा सबैले सामान्य ठाने… तर केही सेकेन्डमै डरले सम्पूर्ण वातावरण ढाक्यो। विद्यार्थीहरू चिच्याउँदै मैदानतर्फ दौडिए।
शिक्षकहरूको आवाज गुञ्जियो-“बाहिर जाऊ! सुरक्षित ठाउँमा जाऊ!”

त्यो क्षणमा अनुशासनभन्दा ठूलो कुरा एउटा मात्र थियो-
जीवन बचाउनु। कोही रोइरहेका थिए, कोही आमा सम्झिरहेका थिए, कोही मौन थिए… डरले शब्द नै खोसिएको थियो।

सहरका ठूला–ठूला गगनचुम्बी भवनहरू क्षणभरमै जमिनमा मिलेर धुलोको ढेरमा बदलिएका थिए। मानिसहरूले जसलाई स्थायी ठानेका थिए, ती संरचनाहरू केही सेकेन्डमै इतिहास बनेका थिए। वरिपरि चिच्याहट, धुलो र डर मात्र बाँकी थियो—र जीवन कति नाजुक छ भन्ने कठोर सत्य त्यही क्षणले सम्झाइदिएको थियो।

त्यही बेला म केवल खेलाडी,प्रशिक्षक मात्र होइन, रास्ट्रसेवकको जिम्मेवारी बोकेको व्यक्ति पनि थिएँ।
विद्यार्थीहरूको सुरक्षा, शान्ति, र नियन्त्रण-सबै जिम्मा मेरो काँधमा थियो।तर मनभित्र अर्को युद्ध चलिरहेको थियो। घरमा के भइरहेको होला?

फोन लाग्दैन…नेटवर्क बन्द…कुनै खबर छैन…त्यो मौनता आवाजभन्दा पनि ठूलो डर थियो। केही बेरमै खबर फैलियो ।देशभर भूकम्प गएको छ।मोबाइल नेटवर्क बन्द भयो।यातायात ठप्प भयो।बाटोहरू चिराचिरा परे। वरिपरि केवल धुलो… डर… र अनिश्चितता।

त्यसपछि विद्यालय बन्द गर्ने निर्णय भयो। विद्यार्थीहरूलाई अभिभावकको जिम्मा लगाउने तयारी भयो। तर धेरै अभिभावकसँग सम्पर्क नै हुन सकेको थिएन। त्यही क्षण म भित्रैबाट दुई भागमा विभाजित थिएँ। एकातिर विद्यार्थीहरूको जिम्मेवारी… अर्कोतिर आफ्नै परिवारको चिन्ता…

तर रास्ट्रसेवकको कर्तव्य ठूलो थियो। डर थियो… तर देखाउन मिल्दैनथ्यो।आफ्नो सम्पूर्ण जिम्मेवारी पूरा गरेपछि यात्रा सुरु भयो। भक्तपुर दरबार स्क्वायर हुँदै, कमलविनायक पार गर्दै, काभ्रेतर्फको पुरानै बाटो—जहाँ हरेक मोडले डर, पीडा र अनिश्चितता बोकेर उभिएको थियो। भत्किएका घरहरू, रोइरहेका अनुहारहरू र मौन सडकहरूबीच त्यो यात्रा केवल बाटो काट्ने थिएन… त्यो सम्झनाले भरिएको, मन चिरिने र समयले कहिल्यै नबिर्सने यात्रा थियो।
त्यसपछि यात्रा सुरु भयो…भक्तपुर दरबार स्क्वायर हुँदै, कमलविनायक पार गर्दै, काभ्रेतर्फको बाटो।

भत्किएका घरहरू…रुन नसकेका मानिसहरू…आफन्त खोजिरहेका आँखाहरू…प्रत्येक दृश्यले मन चिरिरहेको थियो।बीचबीचमा आउने परकम्पहरूले लाग्थ्यो।अब फेरि केही ढल्दैछ… अब फेरि केही हराउँदैछ…

गाउँघर पुग्दा दृश्य अझै कठोर थियो।घरहरू चिरिएका, आँगनहरू शोकले भरिएका, वृद्धवृद्धा चुपचाप बसेका… र मानिसहरू आफ्ना आफन्तको खोजीमा दौडिरहेका।त्यहाँ शब्द थिएन…
त्यहाँ केवल पीडा बोलिरहेको थियो।तर त्यही विनाशबीच एउटा उज्यालो पनि थियो।मानिसको मानवीयता। कसैले पानी बाँड्दै थिए
कसैले घाइते बोकेर दौडिँदै थिए…कसैले अपरिचितलाई सम्हाल्दै थिए…विनाशले धेरै कुरा भत्कायो…तर मानवता भने बाँकी रह्यो।

त्यो दिनले एउटा सत्य सिकायो।भूकम्पले जमिन हल्लाउँछ… भवन ढाल्छ… बाटो तोड्छ… तर मन बलियो छ भने मान्छे कहिल्यै ढल्दैन।त्यो दिन केवल प्राकृतिक विपत्ति थिएन…
त्यो २०७२ सालको इतिहास लेखिएको दिन थियो—
अनुशासन, जिम्मेवारी, डर, पीडा र मानवताको परीक्षा।

आज पनि त्यो ११:५६ को कम्पन सम्झँदा शरीर होइन… मन हल्लिन्छ।तर त्यही यादसँगै एउटा कुरा अझ बलियो भएर आउँछ।अन्धकार जति गहिरो भए पनि… मानवताको उज्यालो कहिल्यै मर्दैन।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय