पर्यटकको रोजाइमा भैरवकुण्ड


सिन्धुपाल्चोक । भोटेकोसी गाउँपालिकास्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप बढेको छ । कुण्डमा हिन्दू तथा बौद्ध धर्मावलम्बी पूजाआजा समेत गर्छन् । यसलाई शेर्पाले ‘आमा छ्युमेन’का रूपमा पूजा गर्छन् ।

गाउँपालिका अध्यक्ष पासाङनोर्बु शेर्पाका अनुसार, सो ताल करिब ८४ हजार १९३ वर्गमिटरमा फैलिएको अनुमान गरिएको छ । तर, तालको गहिराइ मापन भने अझैसम्म गरिएको छैन । कुण्डकै पानीले कुण्डभन्दा केही तल पर्ने १९८ मिटर अग्लो छहरा आकर्षण थपेको छ ।

प्राकृतिक रूपमा अलौकिक मानिने भैरवकुण्डमा जति कठिनसाथ पुगिन्छ प्राकृतिक रसास्वादनले त्यहाँ पुगेपछि त्यो पीडा भुलिन्छ । अरनिको राजमार्गको १०९ किमिमा पर्ने तातोपानीको लार्चाबाट अप्ठ्यारो ठाडो उकालो भिरको बाटो हिँडेर डेढदेखि दुई दिनमा पुग्न सकिन्छ ।

विशेषगरी जनैपूर्णिमामा यहाँ धर्मावलम्बीहरूको खचाखच हुने गर्दछ । विसं १९११ मा भोटसँगको युद्धको बेला निर्मित ऐतिहासिक दुगुनागढी पनि यसै क्षेत्रमा रहेको छ । तत्कालीन जंगबहादुर राणाको पालामा भोटसँग लडाइँ गर्दा घुयँत्रो मार हान्न बनाइएको दुगुनागढी किल्लाबाट पनि भैरवकुण्डको यात्रा गर्न सकिन्छ ।

भैरवकुण्डमा अरनिको राजमार्गको डाक्लाङ, काङलाङ, लिस्तीको लिस्तीमाई अर्थात् उग्रचण्डी भगवती मन्दिर हुँदै छगाम, बगाम र चकोरमकोर हुँदै पनि पुग्न सकिने स्थानीय बिना रोक्का अधिकारी बताउँछिन् । यहाँ भगवान् शिव र पार्वतीको वासस्थान रहेको किवंदन्तीे छ ।

किंवदन्ती विश्वासका आधारमा आन्तरिक पर्यटक भैरवकुण्ड र देउढुंगाको धार्मिक यात्रा गर्छन् । ‘जे माग्यो त्यही प्राप्त हुने’ धार्मिक जनविश्वास भएकाले मुलुकभरका तीर्थयात्रु भैरवकुण्ड पुग्छन् ।

तिब्बतको खासा तथा कुतीसम्मको भूभाग र काठमाडौँको धरहरासमेत स्पष्ट देखिने भैरवकुण्डबाट मनमोहक नेपाल तथा तिब्बतका हिमाल देख्न सकिन्छ । भदौदेखि कात्तिक र चैतदेखि जेठसम्म पर्यटक जाने सो स्थानमा युरोपियन, अमेरिकन र जापानी पर्यटक बढी आउने गरेको र सरदर एक हप्तासम्म बस्ने गरेको पनि पाइन्छ ।

चिसो हावापानीको यस क्षेत्र यार्सागुम्बा, सुनपाती, पाँचऔँले, ठूलोओखती, जटामसी, नीरमसी, मजेठो, चिराइतोलगायत जडीबुटीको भण्डार हो । त्यसैगरी भैरवकुण्ड बाघ, भालु, चितुवा, ब्वाँसो, बँदेल, थारल, घोरल, हिउँ चितुवालगायत दुर्लभ वन्यजन्तुको वासस्थान पनि हो ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । यो कुण्डलाई थप व्यवस्थित तथा उचित प्रचारप्रसार गरी पर्यटक पहिलो रोजाइमा राख्न सके सिन्धुपाल्चोकवासीलाई आर्थिक लाभ हुने गाउँपालिकाले जनाएको छ । रासस

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय