क.प्रचण्ड ! सहिद परिवारसँग चुनाव खर्च लिएर सहिद पुत्रसँगै भिड्ने ?

शिरज शर्मा

केही दिन अघि नेपाली कम्युनिस्ट पार्टी(नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले सहिद परिवारसँग चुनाव खर्च लिएको तस्वीर र भिडियो हेर्न पाइयो। १० वर्षे जनयुद्धको सर्वोच्च कमान्डर अर्थात् सुप्रिमो कमरेड प्रचण्ड रुकुम पूर्वमा पुगेर सहिद परिवारसँग चुनाव खर्च १ लाख ५०५ रुपैयाँ लिँदै हुनुहुन्थ्यो । त्यतिबेला पूर्व माओवादी नेताकार्यकर्ताले प्रचण्डको हँसिलो मुहार देख्दा मैले भने सहिदका बुबा आमाको त्यो मलिन अनुहार र बेपत्ता परिवारको वर्षौंदेखि भिजिरहेका आँखामा लुकेको पीडा छर्लङ्ग देखें ।

१० वर्षे जनयुद्धको सुप्रीमो, ०६४ को संविधान सभा निर्वाचनपछिको १८ वर्षमा ३ पटक प्रधानमन्त्री भैसकेको व्यक्तिले सहिद तथा बेपत्ता परिवारको लागि कुनै ठोस कार्यक्रम ल्याएको वा कुनै रोजगारीको ग्यारेन्टी र आयआर्जनको बाटो देखाएको मलाई थाहा छैन । तर, यो अवधिमा कमरेड प्रचण्डको खानपिन, उठबस र साथी संगत कहाँ को-कोसँग र कसरी हुँदै आएको छ त्यो मैले मात्रै होइन ती सहिद र बेपत्ताको परिवारले पनि छर्लङ्ग देखेकै छ।

जनयुद्धपछि काठमाडौं नयाँबजारस्थित डेरामा पूर्व सहकर्मी डा.बाबुराम भट्टराईसँगै बस्दा धेरै गोप्यकुरा खुल्ने डरले बाबुरामलाई छुट्टै डेरा खोज्न लगाएको तितो यथार्थ सबैलाई थाहा छ। त्यसपछि व्यवसायी अजय सुमार्गीको भनिएको लाजिम्पाट दरबारदेखि जेन-जी आन्दोलनसम्म बसेको ठेकेदार शारदाप्रसाद अधिकारीको घर भनिएको प्रचण्ड निवास, खुमलटारको कथा र व्यथा त सुनिएको र देखिएको नै हो।

छोरी गङ्गा दाहालको घरमा जलेको पैसा र आफ्नै निवास खुमलटारमा जलेको सम्पत्ति त कमरेडले ‘मेरो होइन’ भनिसक्नुभो क्यारे ! तथापि उहाँको छोरी-ज्वाइँ, बुहारीको सम्पत्ति सायद उनीहरुकै कमाई होला ! अनि नातिनीहरुको पाँचतारे होटलमा सम्पन्न विवाह र त्यसको भव्य भोजको स्रोत पनि हामीलाई चाहिएन । त्यसबारे मलाई बोल्नु वा लेख्नु नै छैन। प्रचण्ड शान्ति प्रक्रियामा आइसकेपछि सत्तामा हुँदा वा नहुदा उहाँको निजि सम्पत्तिमा जे-जे ‘उथलपुथल’ भयो सबै जनताले थाहा पाइसकेका छन् । मैले पनि त्यै चितवनको जग्गामा बनेको एसी सहितको वातानुकुलित ‘सानो’ घर मात्रै देखेको हुँ। उहाँले लगाउने घडी, जुत्ता र सुत्ने बेड अनि छोरीले बोक्ने ब्यागको मूल्य मलाई जानिराख्न जरुरी छैन !

मैले कुरा गर्न खोजेको चाहिँ कमरेड प्रचण्ड अहिले रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनुभएको छ। त्यो चुनाव उहाँको रोजाइमा भन्दा पनि जित्ने ठाउँको खोजाइ(खोजीमा) रुकुम पूर्व पुगेको हुनुपर्छ । भन्न त अस्ति ‘म जुनसुकै क्षेत्रबाट जित्नसक्ने एकमात्र उम्मेदवार हुँ’ भन्नुभो क्यारे !  तपाईंको अहिलेसम्मको चुनावी नतिजा कसरी निकालियो त्यसमा पनि नजाऔ ! किनभने ०६४ मा काठमाडौं १० बाट माओवादी ‘राप ताप’ ले जित्नुभो । त्यो पनि हार्छु भन्ने डर भएरै रोल्पा पनि उठ्नुभो ! त्यसपछि ०७० मा सिराहा पुगेर २१ घन्टा मतगणना नै रोकेर कसरी जित्नुभो मैले किन मुख खोल्नु !

०७४ मा चितवन जादा केपी ओली नभएको भए हालत के हुन्थ्यो सबैले बुझेकै छन् । ०७९ को गोरखा-२ बारे कुरै गर्नुपरेन । तपाईंको गोरखा यात्राले बाबुरामलाई मात्रै होइन गोर्खाली जनतालाई समेत भ्रम पार्नुभो ! त्यत्तिले नपुगेर झन्डै फणीन्द्र देवकोटाको सांसद पद समेत खोस्ने प्रयत्न गर्नुभयो क्यारे !

बाबुराम भट्टराई, मोहन वैद्य, रामबहादुर थापा ‘बादल’, नेत्रविक्रम चन्द ‘विप्लव’, लेखराज भट्ट, सीपी गजुरेल, हरिबोल गजुरेल हुँदै जनार्दन शर्मा र सुदन किराँती र महेश्वर दाहाल सम्म आइपुग्दा कमरेड प्रचण्डले के कसो गर्नुभो त्यसमा मेरो टाउको दुखाइ छैन। मलाई तपाईंको कार्यप्रति गुनासो वा स्याबासी केही भन्नु नै छैन। तपाईंसँग जुन वर्गीय र भावनात्मक सम्बन्ध थियो त्यो मैले १० वर्ष अघि नै त्यागेको हो।

तपाईं पहिलोपटक सार्वजनिक हुँदा बाबुराम भट्टराई र तपाईंले लगाएको त्यो खैरो कोट पाइन्ट (जुन पोखरा महेन्द्रपुलमा शम्भु खातीले सिलाएका थिए) लामाचौर पुर्‍याएर हेलिकप्टर चढाउने मैं थिएँ। त्यसपछि तपाईंको छोरा प्रकाश दाहालको कास्की हेम्जा निवासी सृजना त्रिपाठीसँग भएको विवाहमा रातभर जाग्राम बसेर पन्चेबाजा खोज्नेदेखी वाइसीएल क्याम्पको विवाह स्थलमा खट्ने पनि मै थिए तर, त्यसयता तपाईंबाट राजनितीक रुपमा जे जति धोका र बेइमानी भए ती कुरा अब नकोट्याउँ !

प्रसङ्ग अहिले रुकुम पूर्वको चुनाव र सहिद परिवारसँग चुनाव खर्च लिएर सहिद पुत्र सन्दीप पुनसँगै प्रतिस्पर्धा गर्ने तपाईंको आँटलाई मान्नुपर्छ । बाबुराम भट्टराई, विप्लव वा जनार्दन शर्मासँगै तपाईंको चुनावी प्रतिस्पर्धा भएको हुँदो हो त यो कुरा लेख्न जरुरी थिएन। सधैं शोषण, दमन र उत्पीडनको कुरा गर्ने अनि सहिद, बेपत्ता र घाइतेको पिडा ‘थाहा छ’ भन्ने तपाईं व्यवहारिक रुपमा भने ठिक उल्टो कार्यशैली अपनाउने बढो अचम्मको नेता हुनुहुन्छ । तपाईंले सहिद परिवार वा बेपत्ता र घाइतेलाई केही दिन सक्नु भएन तर, खोस्न चाहिँ सधैं अघि सर्नुभो किन ? चुरो कुरो यहीँ छ त्यसैले आज यो कुरो गर्नैपर्‍यो !

हुन त तपाईंको सहिद परिवारलाई वेवास्ता गर्ने बानी पुरानै हो ! कास्कीमा सहिद राजबिक्रम भुर्तेल र सीता भुर्तेलकी छोरी अनिता भुर्तेललाई दिनुपर्ने टिकट खोसेर अघिल्लोपटक रामजी बराललाई दिनुभो ! गोरखामा हितराज पाण्डे, रमेश पोखरेल, भक्ति लामिछाने, हरि अधिकारी, अमर तमुलाई दिनुपर्ने टिकट खोसेर युद्धमा नलागेका नारायणकाजी श्रेष्ठलाई दिनुभो ! त्यो पनि बाबुराम भट्टराईलाई हराउनका लागि।

त्यसपछि पनि लेखनाथ न्यौपाने वा आफ्ना अन्यलाई भन्दा कांग्रेसका राजेन्द्र बजगाईंलाई दिएर आफू ढुक्क हुनुभो। अहिले पनि सिन्धुलीमा महेश्वर दाहाललाई नदिएर राजन दाहाललाई दिनुभो, दाङमा कुलप्रसाद केसीलाई दिनुभएन र आफ्नैलाई रोज्नुभो अनि कालिकोट, जाजरकोट, रोल्पाको त कुरै गर्नुपरेन जो तपाईंको नजिक छन् उनैले टिकट पाए, जो जनताको नजिक छन् तिनले कहिल्यै अवसर पाएनन् ।

अन्त जे जे गरेपनि यसपटक तपाईंले चुनाव जित्न रुकुम पूर्व रोज्नु, त्यहीँका नेताहरू गणेशमान पुन, सचिन रोका वा युद्धमा लागेका अन्यलाई छाडेर आफैं अघि सर्नुभो ! त्यो पनि तपाईंले नै भन्ने गरेको ‘एकथान सांसद’ को लागि । तर, त्यो पनि ठिकै थियो। तपाईंले सहिद पुत्र सन्दिप पुन (जसले तपाईंको नेतृत्वमा भएको युद्धमा बुबा र आमा दुबै गुमाए) सँगै प्रतिस्पर्धा गर्नुपर्ने कारण चाहिँ के थियो ?

एकथान सांसद जित्न कै लागि मात्रै कि मलाई जिस्कायो भने म सहिद परिवार वा युद्धका घाइतेलाई पनि भित्तामा पुर्‍याउन सक्छु भन्ने घमण्ड हो ? अनि अर्को अचम्म चाहिँ सहिद पुत्रलाई हराउने चुनाव खर्च ती सहिदका बुबाबाट लिनुपर्ने हो ? तपाईंले रुकुमका ती सहिद, बेपत्ता र घाइते परिवारलाई के दिनुभयो र अहिले उनीहरुको गोजी रित्तै पारेर सहयोग हात थाप्नुभो ? के तपाईंलाई त्यसो गर्दा गर्वले छाती चौडा भयो ? समाजवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्न दिपेशलाई हराउनैपर्ने हो ? साम्राज्यवाद वा विस्तारवाद परास्त गर्न रुकुम पुगेर सहिद परिवारकै भोट र नोट चाहिएको हो ?

कमरेड प्रचण्ड, तपाईंलाई सायद यस्ता कुराले छुँदैन होला तर, एकपटक विचार गर्नुस् तपाईं सत्ता र शक्तिका लागि जे पनि गर्नुहुन्छ भन्ने विपक्षीको आरोपलाई आफैंले पुनः प्रमाणित गर्दै हुनुहुन्छ र साँच्चै तपाईंको बोली र व्यवहार फरक छ भन्ने पनि प्रष्ट्याउनु भएको छ।

लौ ! तपाईं हिम्मतवाला नेता हो र साच्चिकै विश्व कम्युनिस्ट पार्टीको नेता बन्न चाहनुहुन्छ भने यसपटक त्यो एकथान सांसद पद त्याग्नुस त ! अझै समय छ, यसपटक म प्रधानमन्त्री बन्ने लोभमा छैन त्यसैले मैले सन्दीपलाई संसदमा पुर्‍याउनेछु भनेर आजै र अहिल्यै उम्मेदवारी निष्क्रिय पार्नुस र सन्दीपलाई अँगालो मार्नुस् अनि ती सहिद परिवारबाट लिएको रकम उनैलाई फिर्ता गर्नुहोस् त ! यसो गर्न सक्नुहुन्छ ?

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय