दल र नेताप्रति जनताकाे विश्वास बढाइयाेस्

मनोज कुमार कर्ण

नेपाल अहिले चुनावी माहाेलमा छ किनकि गत २०८२ भदाै २३/२४ गतेका जेनजी विद्राेह र विध्वंसपछि गठित् सुशिला कार्कीकाे सरकारले आउने २०८२ फाल्गुण २१ गते प्रतिनिधि सभाकाे लागि चुनाव गराउन लागेकाे हाे ।

लाेकतन्त्रमा विश्वास गर्ने दल, समाजकालागि चुनाव एउटा महाउत्सव हुन्छ । यसले नेतृत्वलाई आफूलाई जनतामा जान, मत लिन, आफ्ना याेजना सुनाउन वा, पुराना नेता हुन् भने आफ्ना पर्फर्मेन्सलाई जनताबाट अडिट गराउने, दलमा रहेका नेतृत्व अथवा विचारसँग स्वयम्मा असहमत हुने नेता जतिले कि बस्ने वा निस्केर जाने जस्ता आदि माैका दल र नेताका लागि अवसर प्रदान गर्छ ।

चुनावले जनताका लागि भने दल र नेतालाई परिक्षण गर्ने उपाय दिन्छ । नेपालमा हुन लागेकाे आसन्न प्रतिनिधिसभाकाे चुनाव २०८४ मा हुनुपर्नेमा जेनजी विद्राेहकाे रापतापमा र काे कस्काे भूमिकाले गर्दा राष्ट्रपतिले संसदलाई भङ्ग गर्नुपरेकाे थियाे । यस चुनावमा स्थापित नेपाली काँग्रेस, एमाले, नेकपा (प्रचण्ड नेतृत्वकाे पूर्व माओवादी र माधव नेपालकाे एकीकृत समाजवादी), राप्रपा, लाेसपा, जनमत, जसपा नेपाल आदि छन् ।

नयाँ दलहरूमा रास्वपा, उज्यालाे नेपाल पार्टी, श्रम संस्कृति पार्टी, आम जनता पार्टीलगायत स्वतन्त्र उम्मेद्वार र अन्य दलहरू प्रतिस्पर्धामा छन् । याे लेख भने यस पालिकाे चुनावमा दल र नेताहरूले चुनाव अघि नै आ-आफ्ना तर्कसहित प्रधानमन्त्री घाेषणा गरेका छन्, जेनजी विद्राेह र विध्वंसका परिवेश छन्, स्थापित पुराना ठूला दल र नयाँ दलप्रति जनताका मनमा निश्चित सवाल र आशंका छन्, सामाजिक सञ्जालकाे प्रभाव बढी छ, यस्ताे अवस्थामा जनताकाे मत र विश्वास लिन दलहरूले के कस्ता महत्त्वपूर्ण काम गर्नुपर्छ ती बारे केन्द्रित छ ।

स्वतन्त्रले दलमा पस्नु र पदावधि नसक्दै उफ्रनु

हालकाे परिवेशमा हेर्दा यस्ताे लाग्छ कि नेपालका धेरै नेतामा कस्ताे कस्ताे बाध्यता र नैतिकतामा ह्रास आइरहेका छन् । यी कारणले गर्दा उनीहरू के भनेर पहिला नेता बने कतिपयले स्वतन्त्रकाे रूपमा तर पछि दलमा कि त प्रवेश गरेका छन् वा, कि आफैं नयाँ दल खाेलेका छन् । काठमाडाैंका मेयर बालेन्द्र साहलगायत स्वतन्त्रबाट नेता बन्नुभएका रास्वपा र अन्य दलमा प्रवेश गर्नु, पत्रकारीता पेशाबाट चुनावमा हाेमिएका ऋषि धमला आम जनता पार्टीमा, सामाजिक अभियन्ता आशिका तामाङले रास्वपाबाट टिकट लिनु जस्ता धेरै यस्ता उदाहरण छन् । त्यस्तै, आम स्वतन्त्र नागरिकबाट राजनीतिमा हाेमिनुभएका पूर्व मन्त्री कुलमान घिसिङले उज्यालाे नेपाल पार्टी तथा धरानका पूर्व मेयर हर्क साम्पाङ राईले श्रम संस्कृति पार्टी खाेलेका अर्का उदाहरण छन् । अन्य नयाँ दलपनि खाेलिएका छन् । तर कतिपय उम्मेदवारमा विचलन भएकाे अथवा, महत्त्वाकाँक्षा बढेकाे पाईन्छ ।

जसरीपनि प्रधानमन्त्री र मन्त्री बन्न जनताले एउटा अवसर दिएकाेलाई बिचमै छाेडेर ठूलाे लाेभमा परिकन भ्यागुताले उफ्रेजस्ताे पदबाट राजीनामा दिई हाल प्रतिनिधि सभाकाे चुनावमा हाेमिएका छन् । कार्की सरकारका मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल, महावीर पुन, बब्लु गुप्ताहरूले त चुनाव सम्पन्न गराउने जिम्मेवारी नै छाेडेर स्वयम् अवसर लूट्न “गंगा नुहाउन” नदीरूपी चुनावमा हाम्फालेका छन् । चुनाव सम्पन्न यस पालि गराएर पछि जनतामा आफूप्रति विश्वास जगाएर अर्काे चुनावमा राजनीति गर्ने धैर्यता देखिएन ।

त्यस्तै, मेयरमार्फत् जनतालाई सेवा गर्न राम्राे मतसहित जितेका बालेन्द्र साह, हर्क साम्पाङ राईलगायत कतिपयले बीचमै पदावधी नसक्दै जनतालाई र विकासलाई अलपत्र छाडेर अब संसदमा पस्न लागेका हुन् । कतिपयले प्रदेश सभाबाट राजीनामा दिई प्रतिनिधि सभातर्फ चुनावी यात्रामा लागेका हुन् । यस्ले त्यस्ता उम्मेद्वार र जुन दलले बाेकेका हुन्, दुवैप्रति जनतामा अविश्वास पैदा गराउने छ किनकि त्यस्ता उम्मेद्वार र बाेक्ने दल अवसरवादी भई नैतिकताकाे कसीमा कमजाेर सावित हुनपुग्छन् ।

यस्तै यस्तै कारणले गर्दा नयाँ दल, नयाँ उम्मेदवारप्रति जनताकाे भराेसामा ह्रास आउंदा उनीहरूले अब जसरीपनि जित्नुभन्दा पनि सामाजिक सञ्जाल, क्यामरा अगाडि तडकभडक दिने, सम्भव-असम्भव नारा दिने, नाच्ने, चटक देखाउने, फ्लानाेलाई प्रधानमन्त्री बनाइदिने भनेर मधेशी मतदातालाई ईमाेश्नल ब्लैकमेल गर्ने आदि गर्नेगर्छन् । यी कारणले जनतामा “जाे आएपनि उस्तै हुन्, आफ्ना न्यूनतम् राेजीराेटीसँग मतलब राख्ने” निष्कर्शमा पुर्याईदिन्छ, जुन दु:खद् कुरा हाे ।

पुराना विगतले र नयाँ प्रतिबद्धतामाझ जनतामा उल्झन

हाल मतदाताहरूलाई नेताहरू धेरै नयाँले पनि पुरना नेतालाई माथदिने गरि उल्झन अर्थात्, कन्फ्युजनमा पारिदिएका छन् । सबैले हाेईनन् तर धेरै र नाम चलेकाहरूले । याे गलत कुरा हाे, ठग्नु, झूट बाेल्नु भएन किनकि तर्कले लेख्नुभन्दा हिजाे देखाएका उनीहरूका व्यवहार क्यामरामा कैद प्रमाण भई गिज्याइरहेकाे छ !

उदाहरणका लागि रास्वपाले कहिल्यैपनि २०७९ काे चुनावपछि वर्तमान संविधानले सुनिश्चित गरिसकेका कुराहरू प्रदेश, संघीयता, समानुपातिक प्रतिनिधित्वका सवालमा मुख खाेलेर समर्थन र व्यवहारमा उत्रेर साे अनुरूपका संसद, सरकार वा सडकमा गतिविधि देखाएन । बरू आफ्ना सुप्रिमाे नेतालाई सरकारी विभिन्न मुद्दाबाट जाेगाउनमा आजपर्यन्त सम्पूर्ण शक्ति लगाएकाे हरेक प्लैटफर्म र पार्टीकाे नीतिमा परेकाे देखिन्छ । देश र जनताका लागि साेच्ने फुर्सत् नै पाएकाे छैन, आफ्ना सभापति/अध्यक्षलाई जाेगाउनबाट ! हमेशा २०४७ सालकाे संविधानमा रहेकाे केन्द्रीकृत शासन प्रणाली राख्ने र प्रदेश-संघीयता बाेझ भए भन्दै गए । मधेशी नेतृत्व भर्खर आज काठमाडाैंका स्वतन्त्रबाट जितेका पूर्वमेयरले वरिष्ठ नेताकाे रूपमा बाहेक रास्वपामा प्रवक्ता सबभन्दा “ठूलाे” पाेष्टमा मनिष झा (काँग्रेस टेक्निकल हाल सभापति गगन थापाका पूर्वस्वकीय सचिव) बाहेक काेही छैनन् ।

बरू तिमी पुराना दलहरूले मधेशीकाे अधिकार र सम्मान दिएनाैंका आराेप खेप्ने नेपाली काँग्रेसले मधेशबाट मान्य विमलेन्द्र निधि र सुनसरीबाट मान्य विजयकुमार गच्छदार थारूलाई पार्टीकाे महामन्त्री, सभापति र सरकारमा उपप्रधानमन्त्रीसम्म र राष्ट्रपति डा. रामवरण यादबलाई बनाइसक्याे । हाे, याेभन्दा बढी अब सभापति/अध्यक्ष र प्रधानमन्त्री बनाएर देखाओस् रास्वपा, कम्युनिस्ट दलहरू, राप्रपा वा अन्यले, अनि बल्ल मधेशी, थारू, महिला, जननाति तथा पछिडीएका वर्गकाे उत्थानमा लागेकाे बुझिनेछ ।
अर्काे उदाहरण, काठमाडाैंका निवर्तमान स्वतन्त्रबाट जित्नुभएका मेयर बालेन्द्र साहले २०७९ काे संसदीय चुनावमा प्रत्यक्षतर्फ भाेट हाल्नुभयाे तर समानुपातिककाे ब्यालेट हाथमा राखेर हावामा घुमाएर अरूलाई पनि नहाल जस्ताे साङ्केत दिएर बाहिरिनुभयाे ।

आज रास्वपालाई आफ्ना सभापतिका सबै मुद्दा सरकारबाट खारेज गराउनु छ भने पूर्वमेयर साहलाई गत भदाैमा भएकाे जेनजी विद्राेहकाे भाेलीपल्ट, आफ्ना साेसल मीडियामा पहिला स्टैटस हाले झैं, देश जलेकामा संदिग्ध भूमीका त्याे पनि विदेशी सहयाेगमा रहेकाे भनेर जनताकाे मनमा बसेकाेले गर्दा उनलाई “भयमुक्त” हुनलाई “केही काम” सरकार प्रमुख नै बनेर गर्नुछ । अर्थात्, सरकारमा बसिरह्न रास्वपालाई फेरि “मजबूरी/बाध्यता” छ । र, अब जनताले भाेट कसरी दिने त भन्दा जनताका विकास, गरिबी, पछाैटेपन हटाएर सुशासनकाे घाेषणापत्र पार्टीकाे निर्दिष्ट सिद्धान्त बनाएर चुनावकाे मुखमा जनतालाई दिनुपर्नेमा “मधेशीकाे छाेरा बालेन्द्र साहलाई प्रधानमन्त्री बनाउने” ओठेभक्ति घाेषणा जनकपुरमा दिएका छन् ।

ठिक छ, मधेशीलाई प्रम त चाहिएकै हाे तर हाल मधेशीलाई भन्दा रास्वपाका सभापति र वरिष्ठ नेताद्वयलाई बढी प्रधानमन्त्रीकाे बाध्यता र आवश्यकता निजहरूकै संदिग्ध विगतले गर्दा हाे । याे कुरा बुझ्न मतदाताले जरूरी छ । हरेक नेताका गतिविधिमा पार्दर्शिता आज चाहेकाे छ- उ कहाँ जान्छ, कससँग भेट्छ, के सम्झाैता वा लेनदेन गर्छ, कुन करिष्माले गर्दा विपक्षी दलका युथ फाेर्स जिल्ला अध्यक्ष वा काँग्रेसका जिल्ला सचिवलाई जाने बित्तिकै “आफ्नाे पक्ष” पारेर सँगैका फाेटाे सार्वजनिक गर्छन् आदि ।

महाधिवेशन भए तर नेतृत्व फेरिएन, नेतृत्व खाेसिनु

स्थापित पुराना दल एमाले र नाम परिवर्तित तर पुराना माओवादी दल हाल नेकपामा क्रमश: अध्यक्षहरू केपी ओली र पुष्पकमल दाहाल “प्रचण्ड”ले महाधिवेशन त गराउनुभएका छन् तर नेतृत्व परिवर्तन जेनजी विद्राेहकाे भावना अनुसार भएकाे छैन । मतदाताकाे मनमा याे कुरा बसिरहेकाे छ । उता नेपाली काँग्रेसमा नियमित महाधिवेशन २०८३ वैशाखमा गराउने मिति तय सभापति शेरबहादुर देउवा समूहबाट सार्वजनिक गराइएपनि विशेष महाधिवेशन चुनाव- फाल्गुण २१ अघि गराईछाड्ने भनेर पार्टीकाे विधानकाे केवल चालीस प्रतिशत महाधिवेशन प्रतिनिधिकाे हस्ताक्षरकाे प्रावधान तर केन्द्रीय कार्यसमितिबाट पनि निर्णय पारित गराउने तथा केन्द्रीय कार्यसमितिकाे गत २०८२ मंसीरमा म्याद सक्दा म्याद थप गर्ने निर्णय गराए अर्थात्, केन्द्रीय समिति छँदै र नियमित महाधिवेशनकाे मिति घाेषणापछि नमिल्ने विशेष महाधिवेशन गत २०८२ पाैष २७ र २८ गते गरिसकिएकाे छ ।

निर्वाचन आयाेगले विशेष महाधिवेशन पक्षधर गगन थापालाई टेक्निकल्ली सभापति घाेषणालाई वैधता प्रदान गरेपनि अदालतमा देउवा समूह पुगेकाले थप लेख्न मिल्दैन । यहाँनेर के देखिए भने- पुराना दलहरूले म्युजिकल चेयरजस्ताे घुमीफिरी एकपछि अर्काेले नै सत्ता चलाइरह्ने; सरकारका विकल्प नदिने; जनताका आवश्यकताभन्दा पनि आफ्ना पद दलमा र सरकारमा सुनिश्चित पारिरह्ने आदि । यस्ता कुराले सभ्य, सचेत, अनुशासित युवामा के देखिन्छ भने परिवर्तनकाे आशा त छ तर अभिभावकलाई ससम्मानपूर्वक जिम्मेवारीबाट मुक्त गरेर, न कि बाहिरबाट “सम्मान” दिने तर भित्रबाट गल्हत्याउने र टिकटसमेत खाेसेर ! अनि सरकारमा रहेर जे जति अपारदर्शिता, साेसल मीडियामा प्रतिबन्ध लगाउने, सुशासन नदिई भ्रष्टाचार बढाए अनि सम्पत्ति शुद्धिकरणकाे मामिलामा नेपाल फाइनान्सियल एक्शन टास्क फाेर्सकाे ग्रे-लिस्टमा झर्याे, यी यावत् कारणले पुरना स्थापित दलहरूका गतिविधिले पूर्ण सन्तुष्ट मतदाताहरू भइसकेका छैनन् । यस्ताेमा त्रिशंकु सरकार, मिलीजुलीवालकाे नै निरन्तरता रह्ने देखिन्छ, कम्तिमा दुई ठूला दल र साना एकदेखि दुईकाे समर्थनमा बन्ने सरकार जस्ताे ।

काँग्रेसकाे सुवर्ण अवसर

गत २०८२ मंसिरमा काँग्रेसकाे केन्द्रीय कार्यसमितिकाे एक महिनाभन्दा बढी लम्बिएकाे बैठकमा महामन्त्री गगन थापा (हाल विशेषबाट सभापति)ले बाेल्नुभएकाे थियाे कि मैंले विमलेन्द्र निधि दाईलाई प्रधानमन्त्री बनाउनलाई पार्टीमा कुरा राखें, “कान्तिपुर दैनिक”मा लेखपनि लेखें तर सभापतिले दिनुभएन । आज उनै टेक्निकल सभापति गगन थापा, परिवर्तनका पक्षधर र मधेशमैत्री, नेता सभापतिमात्र नभइ टिकट बाँड्नेदेखि संसदीय दलकाे नेता चयन गरि प्रधानमन्त्री बनाउनसक्ने ठाउँमा “किङ्ग मेकर” हुनुहुन्छ ।

उता रास्वपाले मधेशमा छँदा “साह” र काठमाडाैंमा छँदा “शाह” थर लेखेर सूंडी जातका बालेन्द्र साहलाई देशकाे प्रधानमन्त्री बनाउने भित्रि मनले राेएर भएपनि प्रधानमन्त्री बनाउने घाेषणा गरेर मधेशकाे मत पार्टीकाे नीति, सिद्धान्त, विचारधारा केहीपनि नभएकाे दल र पपुलिज्मतर्फ तान्ने प्रयाश गर्दैछ ।

यस्ताेमा एक मतदाता, देशकाे सजग नागरिक, लाेकतन्त्र र संविधान पक्षधरकाे नाताले याे उल्लेख गर्न वाञ्छनीय याे स्तम्भकार ठान्दछ कि काँग्रेस सभापति गगन थापाले मनमा अभिलाषा पाल्नुभएकाे “मधेशी विमलेन्द्र निधिलाई प्रम बनाउने”लाई पूरा गरिहाल्नुपर्छ । मधेशी जनताले न्यायपनि पाउनेछ, सामाजीक सामुदायीक सम्मान पाउनेछ र, त्यहाँका मतदाताले सैद्धान्तिक र असलमा रहेका लाेकतान्त्रिक शक्तिलाई बल पुर्याउनेछन् ।

(लेखक पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय