आहा ! भक्तपुर

भक्तपुर भन्ने बित्तिकै ऐतिहासिक,धार्मिक र साँस्कृतिक शहर भन्ने बुझिन्छ । हुनपनी उपत्यकाका तीन शहर काठमाडौं,पाटन र भक्तपुरका आ-आफ्नै बिशेषता छन् ।

भक्तपुरको दरबार स्क्वायर घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो नै लाग्छ। त्यसमाथि भक्तपुर पुगेपछि नेवार संस्कृतिलाई नजिकबाट नियाल्न पाइने र चर्चित दही अर्थात जुजु धौ खान पनि कसैले छुटाउदैन।त्यसैले भक्तपुर एक मनमोहक ठाउँ भएकोमा दुइमत छैन ।

अनेकौं धार्मिक, साँस्कृतिक , ऐतिहासिक विशेषताले सुुसज्जित सुन्दर नगरी भक्तपुर हाल खुल्ला संग्रहालयको रुपमा रहेको छ । प्राचीन हिन्दु धर्मलाई प्रतिनिधित्व गर्ने थुप्रै मठमन्दिरहरु यस क्षेत्रमा रहनु यहाँको अर्को महत्वपूर्ण विशेषता हो ।

पचपन्न झ्याले दरबार, भगवती मन्दिर, तलुजा भवानी मन्दिर, भूपतिन्द्र मल्लको सालिक, सुनको ढोका, बाघको प्रतिमा सहितको ढोका लगायतका विविध प्राचीन धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक हिसाबले अत्यन्त महत्वपूर्ण तथा आश्चर्यपूर्ण कला कृतिहरुको विशाल भण्डार भक्तपुर दरबार क्षेत्र हिन्दू धर्मसंस्कृतिको खुल्ला संग्रहालय पनि हो भन्न सकिन्छ ।
विश्व सम्पदा सूचीमा समावेश यस क्षेत्र नेपालको प्रमुख पर्यटकीय केन्द्र पनि हो । राजा भूपतिन्द्र मल्लको समयमा निर्मित ५५ झ्याले दरबार यहाँको आकर्षणको मुख्य केन्द्रविन्दुको रुपमा रहेको छ । मयूरको आकृति दिएर बनाइएको यो दरबार नेवारी वास्तुकलाको अनुपम उदाहरण हो।

हाल राष्ट्रिय संग्रहालयमा परिणत यो दरबारमा स्वदेशी विदेशी पर्यटक तथा आगन्तुकलाई आकर्षित गर्ने गरी विभिन्न चित्रकला, थाङ्का, ऐतिहासिक पाण्डुलिपिहरु, मण्डला आदि लाई सुरक्षित गरेर राखिएको छ । दरबार प्रवेश गर्ने द्वारमा राखिएका बाघका दुई विशाल प्रतिमाले दरबारको रक्षा गरिराखेको जनविश्वास रहेको छ ।

हेरौं भक्तपुर दरबार स्क्वायर र वरिपरिको तस्बिर :


