गोरखामा मनाइयो २०८२ को दसैं !

काठमाडौं । २०८२ सालको दसैंको टीका असोज १६ आउन करिब एक महिना बाँकी हुँदैमा गोरखा जिल्लाको केही स्थानमा भने यसबर्षको दशैं पर्व मनाइएको छ ।
गोरखाको सिरानचोक गाउँपालिका, गोरखा नगरपालिका र पालुङटार नगरपालिकाका केही स्थानमा भदौ १७ का दिन टीका र जमरा लगाएर दशैं मनाइएको हो । ‘पर्व समय सुधार राष्ट्रिय समाज’ले यो काम गरेको हो।
उक्त समाजले गत भदौ ८ गते नै घटस्थापनाको दिन भनेर जमरा राखेको थियो। सोही दिन नवदुर्गा सुरु भै भदौ १४ गते फुलपाती र १५ गते अष्टमी पूजा गरिएको थियो । त्यसैगरी १६ गते नवमी र १७ गते मंगलबार बडा दसैंको टीका लगाएको समाजले जनाएको छ। सो अवसरमा पालिका भित्रका विद्यालयका विद्यार्थीलाई टीका र जमरा लगाइदिएर हर्षोल्लासपुर्वक दसै मनाइएको थियो।
एक महिना अघि नै दसैं मनाउनुको खास कारण चाहिँ हरेक दिनमा २४ घण्टा हुन्छ भनेर हिसाब गरिएपनी प्रतिदिन हिसाबमा ३ मिनेट २७ सेकेन्ड कम हुने र त्यसरी कम भएको समय गणना गर्दा ७२ बर्षपछी एक महिना अपुग हुने भन्दै त्यो समय अहिले भएको जनाइएको छ।
समाजले दसै मात्रै होइन तिहारको टीका पनि असोज ७ मा तय गरेको छ। असोज ७ मा तिहारको टीका लगाउने तयारी स्वरुप अब केही दिनपछि तिहार भैलो सुरु हुनेछ।

