प्रचण्डको छवि घट्यो, आन्दोलन गरौं !
शिरज शर्मा
प्रचण्डको अर्थ हुन्छ भय, आतंक वा डर पैदा गर्नु। नेपाली राजनीतिमा पुष्पकमल दाहालको नाम हो ‘प्रचण्ड’ । नामको अर्थ जेसुकै लागेपनि ‘प्रचण्ड’ तिनै व्यक्ति हुन् जसले १० वर्षे जनयुद्धको नेतृत्व गरे, जनमुक्ति सेनाको सुप्रीमो बने, त्यसपछि उनमा घमण्ड बढ्दै गएर अहिले सर्वहाराको भन्दा पुँजीपति वर्गको प्रिय बन्दै गए। प्रचण्डबारे भन्नैपर्दा सत्ता, शक्ति र व्यक्तिगत महत्वाकांक्षाले दम्भ र घमण्ड बढ्दै गयो अनि जे पनि बोल्न थाले ।
नेकपा मशालदेखी हालको नेकपा माओवादी केन्द्रमा लगातार अध्यक्ष रहेका प्रचण्ड बेलाबेलामा ‘उथलपुथल’ का कुरा गरिरहन्छन् । उथलपुथलको अर्थ हो- यताको उता पार्नु,बिगार्नु,भत्काउनु वा हलचल ल्याउनु। नेपाली राजनीतिमा चाहिँ ‘उथलपुथल’ लाई अराजक,अस्थिर र यताउता गरिरहने भनेर बुझ्न् सजिलो हुन्छ ! प्रचण्डले बेलाबेला व्यक्त गर्ने भाषालाई कतिपय सन्दर्भमा अर्थ लगाउनै पर्दैन । प्रचण्डले पद, पावर गुमाउँदै छन् र केही बिगार्न खोज्दैछन् वा आफैं अस्थिर बनेर दिमाग घुमाउँदै छन् भन्ने बुझ्न सकिन्छ। विगतदेखी अहिलेसम्म उनका गतिविधिले पनि त्यसको पुष्टि गरिहाल्छ।
२०५२ फागुन १ देखि सुरुभएको जनयुद्धका बेलामा प्रचण्डले आफ्नो मात्रै तस्वीर सार्वजनिक हुनुपर्ने,लेख रचना प्रकाशित गर्दा प्रचण्डपथको ब्याख्याबाट सुरु गर्नुपर्ने र अन्तिममा हेडक्वार्टर अर्थात प्रचण्डबाट ‘सेन्सर’ गरेर मात्रै संचार माध्यममा प्रकाशनका लागि पठाउनुपर्ने जस्ता हुकुमी र मुखिया शैली अपनाउथे।
जनयुद्धको जगमा १२ बुँदे सहमति, शान्ति प्रक्रिया र त्यसपछिका राजनीतिक घटनाक्रममा पनि प्रचण्ड मुखिया शैली मै रमाउन चाहन्थे। संविधानसभा निर्वाचन अगाडी बाबुराम भट्टराईसँग एउटै घरमा बस्दा ‘मुखिया’ हुन नपाइने देखेर अलग बस्न खोज्नु, बाटोमा हिड्दा सरकारी सुरक्षा बाहेक जनमुक्ति सेना,वाइसीएल र कार्यकर्ताको तहगत घेराबन्दीमा ‘शान’ देखाएर हिंड्नु, खाना र पाहुना भेटघाटमा दरबारको जस्तो ‘राजश्री’ देखिनु उनको विशेषता थियो।
समयक्रममा जनयुद्धका बेला गाउँमा हुँदा भन्दा शहर पसेपछि प्रचण्डको बोली व्यवहारमा परिवर्तन हुन थाल्यो। फलस्वरूप: उनको ‘मुखिया’ बन्ने आकांक्षा झन् झन् बढ्दै गयो। नयाँबजारपछी लाजिम्पाट र खुमलटारका आलिसान महलको बसाई, ठुला ब्यापारी र ठेकेदारसँगको उठबस अनि संगतले प्रचण्डलाई सर्वहारा क्रान्तिकारी नेताबाट सिधै पुँजीवादी नेता र सामन्त मुखियाको हैसियतमा पुर्यायो। तीन पटक प्रधानमन्त्री बनेपछि झन् सत्ताको गुलियोले यति लठ्ठ बनायो कि अब सत्ता र शक्ति नभै नहुने भो ! यहाँसम्म आइपुग्दा हिजो सँगै लडेका र एउटै भान्सामा खाएका नेताहरू क्रमशः प्रचण्डको मुखिया प्रवृत्तिबाट आजित भएर छुट्टिदै गए।
डा.बाबुराम भट्टराई,मोहन बैद्द, सिपि गजुरेल,नेत्रबिक्रम चन्द, रामबहादुर थापा,लेखराज भट्ट, हरिभक्त कडेल,टोपबहादुर रायमाझी,गोपाल किराँती,मणि थापा, इन्द्रमोहन सिग्देल,धर्मेन्द्र बास्तोला,नारायण शर्मा हुँदै लोकेन्द्र बिष्ट,खड्ग विश्वकर्मा,आहुती र हेमन्त ओली सम्मले प्रचण्डलाई छाडे । जनार्दन शर्माहरु अहिले पनि अब प्रचण्डलाई काँधमा बोकेर हिंड्न सकिन्न भनिरहेका छन् ।
यति हुँदा पनि चेत नखुलेर प्रचण्डले पुनः आफ्नो छवि र शान घट्यो भन्ने रोइलो निकालेर ‘मुखिया’ले जस्तै आदेश दिन थालेका छन् । मुखियाले सोझा गाउँलेलाई अर्हाए जस्तै प्रचण्डले नेताकार्यकर्तालाई उर्दी जारी गर्दै भनेछन् ‘मेरो छवि पहिलेजस्तो भएन,अब आन्दोलन गरेर त्यस्तै बनाउनुपर्यो’। ‘प्रचण्ड’ ले नेताकार्यकर्तालाई आफ्नो छवि फिर्ता ल्याउन सडक आन्दोलनमा उत्रिन आह्वान गरेका छन् ।
सदनमा मुख्य प्रतिपक्षी दल भएर पनि कहिले वामपन्थी एकताको नाममा र कहिले दुई बुँदेको नाममा सत्ता बाँडफाँड गर्न खोजिरहेका प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले कुनै भाउ नदिएपछि बल्ल आन्दोलनको राग अलाप्न पुगेका हुन् । यो आन्दोलन केवल प्रचण्डले ओली-देउवासँग केही पाउनको लागि मात्रै हो । देशको पक्षमा,जनताको पक्षमा वा कार्यकर्ताकै पक्षमा पनि यसले केही हुनेवाला छैन। प्रचण्डले भन्दैमा ‘मेरो शान घट्यो,मेरो मान घट्यो,छवि पहिलेको जस्तो भएन’ भनेपछि सबैले बुझे भैहाल्यो कमरेडलाई फेरि ‘सुप्रीमो’ बन्न मन लागेछ !
प्रचण्डले बोलेको यो शब्द हेरौं त-,’अब आन्दोलन नै विकल्प हो। बरु फेरि जेल, नेल र यातना भोग्न तयार हुनुपर्छ।’ अब बुझ्नुपर्छ यो सबै कसका लागि ? अब जेल कसका लागि जाने ? किन जाने ?उनको अर्को बोली पनि हेरौं त, ‘विगतमा म चुनावमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई गाडी अगाडि–पछाडि हुन्थे। त्यो समयको प्रचण्डप्रति जनताले विशेष बुझाइ राख्थे। अहिले भने त्यो स्थिति छैन।’ यसको मत्लब प्रचण्डलाई फेरि जनमुक्ति सेनाको त्यो सुरक्षा घेरा चाहियो ? वा मुखिया बन्न अर्को कुनै जुक्ति र शक्ति चाहियो ?
यसर्थ,अब जनताले एकपटक ठन्डा दिमागले सोचौं अब हामीलाई राजा, मुखिया,सुप्रीमो होइन असल नेता चाहिएको हो। नेपाली जनतालाई अब उथलपुथल गर्ने,हावादारी गफ गर्ने र पटकपटक प्रधानमन्त्री हुने पात्र चाहिएको होइन । गणतन्त्रको रक्षा,संविधानको पालना र संघीयताको सम्बर्द्धन गर्दै विकास र समृद्धिको यात्रामा हिंड्न प्रेरित गर्ने नयाँ र वैकल्पिक शक्तिको आवश्यकता बोध गर्ने नेता चाहिएको हो ।

