अदालतमा माधवका १० घन्टा !

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका लागि बुधबार निकै कष्टकर समय बिताउनु परेको छ। उनले झन्डै १० घन्टा अदालत परिसरमा बिताए।
पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा बुधबार नेपाल आफैं अदालत पुगेका थिए। त्यसपछि उनको बयान र थुनछेक बहस सकिएसँगै पूर्वप्रधानमन्त्री नेपाल आदेशको पर्खाइमा बसे। अख्तियारले मुद्दा दायर गरेपछि सांसद पदबाट समेत निलम्बनमा परेका पूर्व प्रधानमन्त्री नेपाल दर्जन बढी कानुन व्यवसायी लिएर अदालतमा हाजिर भएका थिए। उनी विरुद्धको मुद्दामा उनको बयान र त्यसपछि थुनछेक बहस भएसँगै आदेसका लागि पर्खिरहेका नेपाललाई ढाडस दिन एकीकृत समाजवादीका नेताकार्यकर्ताको ठुलो भिड अदालत परिसरमा देखिन्थ्यो।
निकै तनावमा देखिएका नेपालले त्यसबीचमा कालो चिया र हरियो मकै खाएर समय कटाएका थिए। उनको पक्षमा बहस गर्न पुगेका कानुन व्यवसायीको माझमा रहेका नेपाल अदालतको आदेस कस्तो आउला भन्नेमा सोचमग्न देखिन्थे । उनले पटकपटक छेउमा रहेका वकिल मार्फत परामर्श लिन खोजेको देखिन्थ्यो । यद्यपि उनको अनुहारमा त्रास र बेचैनी स्पष्ट देख्न सकिन्थ्यो।
माधव नेपालका सम्धी समेत रहेका एकीकृत समाजवादीका सचीव सोमप्रसाद पाण्डे अदालत परिसरमा निकैबेर टेलीफोनमा ब्यस्त देखिन्थे हने साँझमा इजलास पुगेकी नेत्री रामकुमारी झाँक्री पनि नेपाललाई नजिक बसेर साथ दिइरहेकी देखिन्थिन।
पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय विरुद्ध अख्तियारले नेपाल सहित ९३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले विशेष अदालतलमा दायर गरेको मुद्दामा अध्यक्ष नेपालविरूद्ध १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरिएको थियो।
काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको जग्गा २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा खरिद गर्ने स्वीकृति दिइएको थियो। तर पछि हदबन्दीभन्दा बढी कानुनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो।
अन्ततः विशेष अदालतले राति ९ बजेपछि आदेश गर्दै नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको थियो । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्ने आदेश गरेको हो।

