रविले कसरी पाए डेढ करोड ऋण ?

काठमाडौं । बिरगंज स्थित सानो पाइला सहकारीको रकम ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पुर्व डिआइजी छविलाल जोशीलाई बिरगंज लगिने भएको छ।

दुबै आरोपी हाल रुपन्देहीको भैरहवा कारागारमा रहेका छन् । यसअघि पोखराको सुर्यदर्शन सहकारी,काठमाडौंको स्वर्णलक्ष्मी सहकारी र चितवनको सहकारी ठगीमा समेत आरोपित उनीहरु धरौटीमा छुटेपनी रुपन्देहीको सुप्रीम सहकारी ठगीमा उच्च अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका थिए।

बिरगंजको सानोपाइला सहकारी ठगी आरोपमा प्रहरीले अनुसन्धान सकेर जिल्ला अदालत पर्सामा रवि र छवि सहित आरोपित विरुद्ध मुद्दा दायर गरेपछि उनीहरूलाई कारागारबाटै झिकाउने तयारी गरेको हो। पर्सा जिल्ला अदालत स्रोतका अनुसार रवि र छविलाललाई चाँडै पर्सा अदालतमा झिकाएर बयान गराउने र थुनछेक आदेश गर्ने तयारी छ।

सानो पाइला सहकारी ठगीमा रवि र छविलाल सहित २९ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूले सानो पाइला सहकारीको कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रूपैयाँ हिनामिना गरेको अभियोगमा उल्लेख छ। यद्यपि रवि र छवि सहित ४ जना कारागारमा भएपनि अन्य २५ जना प्रतिवादी फरार छन्। उनीहरूको हकमा अदालतबाटै म्याद जारी गर्न सरकारी वकिल कार्यालयले अभियोग पत्रमा माग गरेको छ।

सानो पाइला सहकारीको दोस्रो चरणको अभियोगमा प्रतिवादी बनाइएका भूपेन्द्र राई, सागर केसी, मनिषा पाण्डे, दीपक लामा, विशाल तामाङ, कविता तामाङ, भगवती बम्जन, खिमानन्द कँडेल, नवीन अछामी, हेमन्त अधिकारी, दिपिका राई, नविना रिमाल, इरान लामा, सविना आले मगर, भक्तबहादुर भ्लोन, प्रदिप लामा, सविता लामा, शान्तिकुमारी सुवेदी, गणेशराज श्रेष्ठ, सुनिता नेवा, रोमन काफ्ले, कमल लामा, कल्पनाकुमारी श्रेष्ठ, राजु बराल र नवराज राउत फरार रहेको अभियोग पत्रमा उल्लेख छ।

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेको नयाँ तथ्य फेला पारेको प्रहरीले अभियोग पत्रमा उल्लेख गरेको छ। प्रहरी अनुसन्धानबाट सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा १ लाख रूपैयाँबराबरको सेयर लिएर लामिछानेले १ करोड ५० लाख ऋण लिएको दाबी गरिएको छ। लामिछानेको ग्राहक परिचय नम्बर-००१-०१५४६१ रहेको र त्यसै मार्फत २०७८ साउन १८ गते सदस्य बनी सोही मितिमा बचत खाता खोलेर एक लाख जम्मा गरेको र भोलिपल्टै १ करोड ५० लाख ऋण विनाधितो लिएको उल्लेख छ।

रविको नाममा निकालिएको ऋणको भाखा २०८२ साउन १८ गतेसम्मका लागि राखिएको पनि उल्लेख छ। त्यस समय अरुले १६ प्रतिशत सम्म ब्याज तिर्ने गरेको भएपनी लामिछानेको हकमा वार्षिक १२ प्रतिशत मात्रै ब्याजको दर कायम भएको ऋण अभिलेख फेला परेको प्रहरी दाबी छ। रविको ठेगाना काठमाडौ मात्र उल्लेख रहेपनी श्रीमतीको नाम निकिता पौडेल र बुवाको नाम लालचन्द्र लामिछाने उल्लेख छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय