नेसपा (नयाँ शक्ति)को १०औं वर्ष र अबको बाटो
नारायण खनालहाम्रो गौरवशाली पार्टी, नेपाल समाजवादी पार्टी ( नयाँ शक्ति ) ले यही जेठ ३० गते शुक्रबारका दिन नौ वर्ष पुरा गरी विधिवत १०औं वर्षमा पाइला टेक्दै छ । यो हामी सबै वैकल्पिक शक्ति निर्माणमा लाग्ने अभियन्ताको लागि खुशीको कुरा हो।
यस अवसरमा नयाँ शक्ति पार्टी नेपालले आफ्नो पार्टीको स्थापनाको १०औं वार्षिकोत्सव नेपालभित्र मात्र नभएर विश्वभर रहेका नेपालीहरूको बीचमा मनाउने प्रतिबद्धता गरेको छ। विगत वर्षहरूमा जस्तै यस वर्ष पनि विभिन्न रचनात्मक कार्यक्रमहरू सहित उत्शाहजनक ढङ्गले १० औं वार्षिकोत्सव मनाउन सुरु भैसकेको छ। यो कुरा हाम्रो निम्ति,नेपाली जनताको निम्ति र विश्वभरका वैकल्पिक राजनैतिक दल र त्यसमा आबद्ध सम्पूर्ण अभियान्ताका निम्ति ज्यादै खुसी र गौरवको विषय हो ।
हामीले २०७३ जेठ ३० मा जुन खुशी र उत्साह बोकेर वैकल्पिक शक्ति निर्माणको यात्रा थालनी गरेका थियौं त्यसको १० औं वर्षमा प्रवेश गरेको कुरा यस अवसरमा नेपाली जनताको बीचमा संप्रेषण गर्न गराउन पाउँदा हामीलाई झन् ठूलो खुशी र गौरवको अनुभुती भइरहेको छ । तपाईं हामी सबैलाई थाहा भएकै कुरा हो कि- देशमा नयाँ शक्ति पार्टी नेपालको गठन र घोषणा इतिहासको युगिन आवश्यकताले ल्याएको हो। आज भन्दा ठिक दश वर्ष अघि काठमाडौंको दशरथ रङ्गशालाबाट दुनियाँले सुन्ने, देख्ने र गहिरो अनुभुति गर्ने गरी वैकल्पिक शक्ति निर्माणको धमाकेदार ‘इन्ट्री’ भएको थियो। त्यसबखत धेरैजसो दलका शीर्ष नेता उपस्थित भएर नयाँ शक्तिको नयाँ विचार, नयाँ नेतृत्व र नयाँ कार्यक्रमलाई शुभकामना दिएका थिए।
नयाँ शक्ति पार्टी नेपालको त्यो ऐतिहासिक घोषणा सभाले देश भित्र र देश बाहिर रहेका नेपाली जनताको बीचमा इतिहासकै अभुतपुर्ब र असाधारण आशा, भरोसा, खुसी र विश्वासको संचार गरेको थियो भने मरणासन्न अवस्थामा अन्तिम शास फेरिरहेको साम्यवादी विचार धारा र पुंजिबादी विचार धाराको सिंहासन र त्यसको कम्पाउण्डमा एउटा शक्तिशाली भुकम्प नै ल्याइ दिएको थियो ।
जसले साम्यवादी विचार धारा र पुंजिबादी विचार धारा दुबै शिबिरमा रहेका डाडाँभाटा र धुरी खाँबाहरू पुरै हल्लाइ दिएको थियो भने अहिले सम्म पनि त्यसका पराकंपनहरू जारी रहेका छन र निकट भविष्यमा यस भन्दा ठुला र बिनाशकारी हलचल हुने पुर्ब संकेत भइ पनि रहेका छन । सम्पूर्ण नेपाली जनताको बीचमा देशमा नयाँ र वैकल्पिक राजनैतिक सोच र शक्तिको लागी सकृय पहल ,गठन ,घोषणा , निर्माण र विस्तार गर्नुका पछाडि हाम्रो कुनै रहर , मनोगत लहड र शनक वा नयाँ परिस्थितिमा कुनै नयाँ फण्डा फालेर नेता भइहाल्ने इच्छाको बिषय नभएर त्यो बेला नयाँ युग र समाजले पैदा गरेका नयाँ प्रकारका चुनौती हरूलाइ वस्तुवादी ढङ्गले समाधान गरी मुलुकको अग्रगामी रुपान्तरण गर्ने उदेश्य रहेको थियो ।
नयाँ युग र समाजले पैदा गरेका नयाँ चुनौतीहरूलाइ समाधान गर्न देशको कुनै न कुनैसचेत नागरिक अगाडि आउनु नै पर्दथ्यो । इतिहासको युगिन आवश्यकता र आकस्मिकताको दन्दात्मक नियम अनुसार त्यसका निम्ति डा. बाबुराम भट्टराई बिल्कुलै नयाँ सोच सहित अगाडि आउनु भयो र त्यसको केन्द्रीय नेतृत्व उहाँले गर्नु भयो । त्यस प्रकारको नयाँ र वैकल्पिक राजनीतिका लागि स्पेस (स्थान) काल (समय) प्रत्येक सचेत नेपाली नागरिकको निम्ति खुला थियो । तर त्यस प्रकारको नयाँ परिस्थिति लाइ नजिकैबाट देख्ने , अनुभुती गर्ने, परिबर्तनको धड्कन लाइ छाम्ने र इतिहासको युगिन आबस्कता लाइ बुझेर पुरै देशको नेतृत्व लिने अधिकारी दार्शनिक हुनुपर्दथ्यो । यो काम कुनै हचुवा र डरपोक र कायर अधिकारीको बसको कुरा पनि थिएन ।
उहाँको यही नयाँ सोच सहितको नयाँ र वैकल्पिक राजनैतिक शक्तिको उदय संङ्गै यस महायज्ञमा थोर बहुत योगदान गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो पुस्ताको काँधमा पनि आइपर्यो । हाम्रो यस प्रकारको युगिन राजनैतिक सकृय पहल र प्रयत्न त्यो पनि आठ दशक लामो र ज्यादै कडा प्रकारको लोकतान्त्रिक क्रान्तिको लगत्तै पुनः फेरि अर्को तर बिल्कुलै नयाँ क्रान्तिको कुरा गर्नुका पछाडि कुनै दृश्य वा अदृश्य शक्तिको उक्शाहट ,ब्याक्तित्व आबेग वा उत्तेजना ,कसै सँगको बदला वा रिसिपी वा कसै सँगको इगोका कारणले त्यो कुरा गरिएको थिएन भन्ने कुरा बस्तुगत रुपमा पनि पुराना राजनैतिक दलहरूको पतन र नयाँ र वैकल्पिक राजनीतिक दलहरूको यस अबधिमा भएको उत्साहाजनक उदयले दिन प्रतिदिन झन पछि झन स्पष्ट गरिरहेकै छन ।
प्रस्तुत आलेखमा आज म नेसपा ( नयाँ शक्ति ) को विगत राजनैतिक यात्राका केहि सकारात्मक र केही कमजोरीहरूका अलावा वैकल्पिक राजनैतिक शक्ति निर्माणका संभावना र हाम्रो पार्टीको आगामी बाटोका सवालमा आधारित रहेर संक्षिप्त बिमर्श गर्ने उदेश्यले सहभागी भएको छु ।
सोच क्रान्ति
विश्वमा पहिलो ,दोश्रो ,तेस्रो हुदै चौथो औद्योगिक क्रान्ति हुनु भन्दा पहिला मानिसको दिमागमा विभिन्न युग र समाजमा, विभिन्न मानिसहरूको दिमागमा, विभिन्न विधामा पहिला नयाँ’ सोच क्रान्ति’ भए जस्तै नेपालमा पनि आठ दशक लामो तर ज्यादै कडा प्रकारको नेपाली जनताको बलिदानीपूर्ण संघर्ष पछि लोकतान्त्रिक क्रान्तिको ऐतिहासिक कार्यभार केही सिमा समस्या तथा कमजोरीहरू सहित पुर्ण भइसके पछि मुलुक बिल्कुलै नयाँ युग र समाजमा प्रबेश गरेको थियो ।
मानिसहरू रैती बाट सार्बभौम नागरिक हुने र रुढीबाद बाट विज्ञानलाई आत्मसात गर्ने सोचको संस्थागत बिकास हुनुले नेपाली समाज ढिलै भए पनि समृद्धिको नयाँ युग र समाजमा प्रबेश गरेको थियो । त्यो अवस्थामा नयाँ समृद्धिको युगले पैदा नयाँ प्रकारका राजनैतिक ,आर्थिक ,सामाजिक ,सांस्कृतिक र परराष्ट्रका संभावना र चुनौतिहरू संतुलित र परिपक्व ढङ्गले हल गर्दै नेपाली समाजको वैचारिक नेतृत्व गर्नुपर्ने ऐतिहासिक कार्यभार देश सामु रहेको थियो । तर त्यसका निम्ति सर्बप्रथम हाम्रो दिमागमा ’नयाँ सोच क्रान्ति’ अनिवार्य सर्त थियो । त्यसको अभावमा जतिसुकै प्रतिभाशाली कप्तान भए पनि नपुशक साबित हुनुको विकल्प थिएन ।
काठमाडौंको दशरथ रङ्गशाला बाट नयाँ शक्ति पार्टी नेपाल को घोषणा गर्दा हामीले यो पनि भनेका थियो : बि.स . १९९० को दशकमा नेपाल प्रजापरिषदको गठन र नेतृत्वमा सुरु भएको निरकुंश जहानिया राणा शासन विरुद्धको जनजागरण आन्दोलन आधुनिक राष्ट्रिय राज्य नेपाल निर्माणको जग थियो भने त्यस यता झन्डै आठ दशक लामो र काङ्गेस – कम्युनिस्ट पार्टीहरूको नेतृत्वमा भएका शान्तिपूर्ण र सशस्त्र जनयुद्धको आडमा देशमा संविधानसभाबाट नयाँ संविधान बने संङ्गै लोकतान्त्रिक क्रान्तिको ऐतिहासिक कार्यभार पुरा भइसकेको थियो । त्यस यता मुलुकमा समृद्धिको नयाँ युग सुरु भएको बताएका थियौं। दास र रैतीबाट सार्बभौम नागरिक हुने र रुढीबाद बाट विज्ञानलाइ आत्मसात गर्ने सोचको स्बिकारोक्तिले नै नयाँ आधुनिक र समृद्धिको नयाँ युग र समाजमा मुलुक प्रबेश गरेको कुरा जगजाहेर छ ।
विचार निर्माणमा सफलता, पहिलो महत्वपूर्ण उपलब्धि
नयाँ शक्ति पार्टी नेपालले नयाँ परिस्थितिमा नयाँ ढङ्गले देशमा वैकल्पिक राजनीतिको अगुवाइ गर्ने उदेश्यले संविधान सभा बाट नयाँ संविधान निर्माणकै प्रक्रियामा रहेको बेला २०७० चैत २ गते को नेपाल साप्ताहिक पत्रिकामा डा. बाबुराम भट्टराईले एउटा लामो र ज्यादै बेबस्थित विचार सहितको आलेख – “ खाँचो नयाँ शक्तिको “ प्रकाशित भए पछि दुनियाँ भरी छरिएर रहेका नेपाली हरूको बिचमा ब्यापक बहस सुरु भएको थियो ।उहाँले त्यो आलेखमा – नयाँ शक्तिको युगिन आवश्यकता र औचित्य ,त्यसको राजनैतिक ÷ वैचारिक आधार ,राजनैतिक ऐजेण्डा र निर्माणको बाटो बारे सुस्पष्ट ब्याख्या गर्नु भएको थियो । उहाँले त्यो आलेखमा – नयाँ शक्ति निर्माण कसरी गर्नेत ? भन्ने बारे संभाब्य विकल्प प्रस्तुत गर्दै भन्नुभएको थियो ः नयाँ परिस्थिति श्रृर्जना भइरहेको छ भने पुरानो विचार ,पुरानै पार्टी र पुरानै नेतृत्वको रुपान्तरण हुन सक्ने झिनो संभावना लाइ मध्य नजर गर्दै पहिलो , यिनै मौजुदा राजनैतिक पार्टीहरूले देशको आवश्यकता बोध गरेर आफु लाइ रुपान्तरण गर्ने। दोश्रो, सबै पार्टी भित्रका यस विचारलाइ आत्मसात गर्ने मानिसहरू मिलेर नयाँ धुर्बिकरण पनि हुन सक्छ ।अथवा यो सबै प्रक्रिया भन्दा फरक ढङ्गले नयाँ नेतृत्व जन्मिन पनि सक्छ ।“ भन्नुभएको थियो ।माथि उल्लेखित दुबै
संभावनाहरू धेरै कमजोर भएको पाइए पछि नयाँ शक्ति पार्टी नेपालले तेस्रो विकल्पलाइ प्रस्थान बिन्दु बनाउनु पर्ने निष्कर्षमा पुगेको थियो । नयाँ शक्ति पार्टी नेपालले त्यस यता दर्शन शास्त्रको क्षेत्रमा द्धन्दबादको समृद्धिकरण गरी समुन्नत समाजवादको सिद्धान्त, अर्थशास्त्रको क्षेत्रमा समतामूलक समृद्धिको सिद्धान्त, समाजशास्त्रको क्षेत्रमा इन्द्रेणी राष्ट्रबादको सिद्धान्त,राजनीति शास्त्रको क्षेत्रमा समाबेशी ,समानुपातिक र सहभागिता मुलुक लोकतन्त्रको सिद्धान्त र मनोबनौटशास्त्रको क्षेत्रमा सदाचार र मानवीय खुसी जस्ता राजनैतिक सिद्धान्तका नविन पाँच अङ्गहरूको निर्माण गर्न सक्नु नै हाम्रो पार्टीको प्रथम सफलता हो ।
त्यसै गरी नयाँ र वैकल्पिक राजनीतिको दृष्टिकोणमा मुख्यतया बर्तमान नेपाली राज्य र नेपाली जनताको बीचमा रहेका पाँच अन्तरबिरोध बा समस्या हरूको पहिचान गर्न सक्नु र त्यसको समाधानका निम्ति “ पाँच स “ ( स्बाधिनता,संघियता ,सुशासन ,समृद्धि र समाजवाद ) को रुपमा परिभाषित गर्दै पार्टीको राजनैतिक कार्यदिशा शुनिश्चित गर्न सक्नु दोश्रो ठुलो सफलता हो । त्यसै गरी नेसपा ( नयाँ शक्ति ) ले डा. बाबुराम भट्टराईको प्रस्तावित नयाँ शक्तिको जन्मको पहिलो र दोश्रो आधार झिनो पनि नदेखिए पछि तीन वर्ष सम्म लगातारको वैचारिक र सांङ्गठनिक चरणबद्ध अभियान बाट गुज्रिएर तेस्रो विकल्पका लागि स्पेस ( स्थान ) , काल ( समय ) र सोच बैज्ञानिक ,वस्तुवादी ,व्यवहारिक रहेको निष्कर्ष सहित २०७३ जेठ ३० गतेका दिन, काठमाडौंको दशरथ रंगशालामा , देशै भरीका एक लाख बढी अभियान्ता र जनसमुदाय हरूको बिचमा , स्पष्ट राजनैतिक /वैचारिक , सांङ्गठनिक कार्यदिशा र निति तथा कार्यक्रम सहित बिधिबत नयाँ शक्ति पार्टी नेपालको गठनको घोषणा गरिनु तेस्रो ठुलो सफलता हो ।

त्यसैगरी २०८१ कार्तिक ५–६ गते प्रयटकिय नगरी पोखरामा भएको पार्टीको ऐतिहासिक विधान अधिवेशन र त्यसको लगत्तै २०८१ माघ २७–२९ गते सम्म काठमाडौंमा भएको ऐतिहासिक पार्टीको प्रथम महाधिवेशन र त्यो महाधिवेशनमा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई द्रारा प्रस्तुत र ब्यापक छलफल प्रश्चात कर्तल ध्वनीका साथ पारित– “नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार “नामक राजनीतिक तथा सँगठनात्मक प्रतिबेदनको निर्माण र सोही प्रतिबेदन माथि टेकेर पार्टी लाइ समाबेशी ,समानुपातिक र सहभागिता मुलुक सिद्धान्तका आधारमा प्रत्यक्ष निर्वाचन प्रणालीको प्रोशेज र प्रक्रिया बाट सुन्दर ढङ्गले केन्द्रीय समितिको नेतृत्व ,पदाधिकारी र सदस्य हरूको निर्वाचन गर्नु ÷ गराउनु हाम्रो पार्टीको चौथो सबैभन्दा अर्को ठुलो सफलता रहेको छ ।
यसका अलावा हाम्रो पार्टीले पार्टीको नाम – नयाँ शक्ति पार्टी नेपाल र नारा – अबको निकास आर्थिक बिकास समृद्धि ,सम्भव छ, हाम्रै पालामा भन्ने चयन गरेर ,युग सापेक्ष नयाँ सोच र कामको बीचमा उचित प्रकारको तालमेल तादम्यता मिलाउन सक्नु पाँचौ ठुलो सफलता मान्नुपर्छ । किनकि नयाँ युग र समाजको नेतृत्व गर्न पुरानो नाम र नारा राख्दा भ्रम श्रृर्जना मात्रै हुने थियो । त्यसैगरी देशमा राजनैतिक स्थायीत्वका लागि जनताबाट प्रत्यक्ष निर्बाचित कार्यकारी राष्टपतीय प्रणालीका लागि हस्ताक्षरित अभियान २०७३ जस्ता कार्यक्रमहरूले नयाँ लोकतान्त्रिक विकल्पका लागि जनमत श्रृर्जना गर्न ,भौतिक शक्ति निर्माण गर्न र संघर्ष गर्नका लागि सकारात्मक योगदान पुर्याएको कुरा बिशेष उल्लेखनीय रहेका छन ।
यस दौरानमा पार्टीको केन्द्रीय समिति द्रारा आयोजित लुम्बिनी संकल्प २०७४ ,चिवा भन्ज्याङ्ग – झुलाघाट मध्य पहाडी लोकमार्ग १८–८९ किलोमिटर “ असल राजनीति का लागि जनसंबाद यात्रा २०७४ ,विद्यार्थी सँगठनले गरेको शैक्षिक सुधार सत्याग्रह २०८१ ,त्यसैगरी यस अबधिमा हाम्रो पार्टीको तर्फबाट स्थानीय ,प्रदेश र संघमा निर्बाचित भइ प्रतिनिधित्व गर्ने जन प्रतिनिधि हरूले अरु राजनैतिक दलका प्रतिनिधि हरूले भन्दा मौलिक नयाँ ढङ्गले सडक – सदन र सरकारको काममा बिशेष योगदान पुर्याउदै आएको र पार्टीको निर्माण र विस्तारमा उहाँ हरूको भुमिका लाई सकारात्मकढङ्गले समिक्षा गरिनुपर्छ ।
समग्रमा यस छोटो अबधिमा हाम्रो जस्तो भर्खरै जन्मेको पार्टीले देशका सबै जिल्ला र अन्तर्राष्ट्रिय स्तरमा समेत सँगठनात्मक संजाल बनाउन सक्नु , नियमित कार्य संपादन गर्न सक्नु , सिमित साधन श्रोर्तका बाबजुद देश भित्रका सबै जिल्लाका पार्टी संप्रक कार्यालयहरू नियमित संचालन हुनुले हाम्रो पार्टीको बिकाश र सफलता लाइ सुन्दर ढङ्गले ब्यक्त गर्दछन । नेसपा (नयाँ शक्ति) र यसको नेतृत्वसँग आम जनसमुदायका प्रश्नहरूको सुख्खा उत्तर मात्र छैन, प्रत्यक समस्याको तर्कसहितको समाधान पनि रहेको छ ।
पार्टी भित्रका सिमा समस्या तथा कमजोरीहरूको संक्षिप्त समिक्षा
१) नेसपा ( नयाँ शक्ति ) को ऐतिहासिक प्रथम महाधिवेशनमा प्रस्तुत र पारित दस्तावेजमा पार्टीको तर्फबाट यस अबधिमा भएका सिमा समस्या तथा कमजोरी हरूको निर्ममता पुर्बक समिक्षा गर्दै भनिएको छ – ’ २०७४ बैशाख देखि असौज सम्म भएका तीन चरणका स्थानीय निर्वाचनमा अन्ने पार्टी हरूको चुनाव चिन्हहरूको प्रयोग गरिनु कमजोरी भएको छ । तत्कालीन प्रचण्ड सरकारले बदनियतपुर्ण ,प्रतिशोधपुर्ण र षड्यन्त्रमुलुक ढङ्गले नयाँ पार्टीहरू लाइ चुनाव चिन्ह नदिने ऐन बनायो ।
बिभिन्न पार्टीहरू सँग मिलेर त्यस विरुद्ध हामीले गरेको आन्दोलनलाइ दबाएर उल्टै हामीलाई पुलिस हिरासतमा राख्ने हर्कत सम्म गर्यो, त्यो स्थितिमा हामीले पहाडमा एउटा र मधेस केन्द्रित दलको चुनाब चिन्ह लिएर स्थानीय चुनाव लडन पुग्यौं ।मधेशमा अर्को एउटा बामपंथी दलको चुनाव चिन्ह लिएर ।त्यसले पार्टी लाइ अपुरणिय क्षति पुर्यायौ ।भर्खरै जन्मेको नयाँ पार्टी लाइ मुन्टैमा निमोठन खोज्ने हाम्रा बिरोधि हरूले आम जनतामा भ्रम छर्ने अवसर पाए । हाम्रो वैकल्पिक राजनैतिक पहिचान बारे जनमानसमा नै भ्रम पर्याै ।हामीले चिर्न सकेनौं ।अहिले फर्केर हेर्दा हामीले स्बिकार गर्नैपर्छ ,त्यसरी कुनै क्षेत्रीय पार्टीको चुनाव चिन्ह लिनु सट्टा कि हामीले स्बतन्त्र चिन्ह लिनु प्रर्दथ्यौ कि चुनाब नै लडनु हुदैनथ्यो ।त्यसको लगत्तै २०७४को प्रतिनिधि सभा निर्वाचनको निम्ति बामपंथी दल हरू सँग गठबन्धनको प्रयासले पार्टीको छबि लाइ थप अरु धमिल्याउने काम मात्रै गर्याै ।
२) हामीले २०७६ बैशाखमा एउटा मधेस केन्द्रित दल सँग एकता गरेर समाजवादी पार्टी बनायो ।अनि ठिक एक बर्ष पछि २०७७ बैशाखमा अर्को मधेस केन्द्रित दल सँग एकता गरेर ’ जनता समाजवादी पार्टी ,नेपाल ’ बनायौं ।हाम्रो मनशाय पबित्र थियो ।हिमाल – पहाड र मधेस जोडेर हामी राष्ट्रिय एकता समृद्ध गर्न चाहान्थ्यौं ।एकातिर त्यो प्रयोग लामो समय सम्म टिकेन ।अर्कोतिर पुरानै सोच र शैली भएका हरू सँगको एकताले हाम्रो पार्टीको वैकल्पिक राजनैतिक पहिचान र स्वच्छ नैतिक छबिलाइ समेत प्रश्न गर्ने ठाउँमा पुर्याइदियो ।
३) २०७९ असारमा ’नेपाल समाजवादी पार्टी’ को रुपमा पुनर्गठित गरिसके पछि २०७९ मङ्गसिरमा भएको आम निर्वाचनमा माओवादी केन्द्र सँग साझा चुनाव चिन्ह लिनु र निर्वाचन क्षेत्र गोरखा – २ अरु लाइ छोडनु गंभिर गल्ती थियो ।
एमाले बाट अलग्गिए पछि अफ्ठ्यारोमा परेको माके र भर्खरै नेसपाको रुपमा पुर्नगठित भएको बेला अलमलमा परेका हामी बीचको हतारो निर्णयको दुष्परिणाम थियो ।त्यो चुनावी तालमेल । प्रचण्डलाई गोरखा– २ छोडनु हाम्रो नेतृत्वको सदासयतापुर्ण उदारवादी कमजोरी थियो ।
पछि बेइमानीपुर्ण र मुल्यहीन शत्ता देखि शत्ता सम्मको राजनीति गर्ने हरूले भ्रम फैलाएझै त्यहाँ अरु कुनै अपारदर्शी समझदारी बा लेनदेन केही थियन र हुन पनि सक्दैन ।वैचारिक – राजनैतिक ढङ्गले माओवादी आन्दोलनको अध्याय नेपालमा पुरा भइसक्यो ।अब नयाँ युगको यात्रा नयाँ ढङ्गले गरिनुपर्छ भनेर स्वेच्छिक र खुला रुपमा नयाँ वैकल्पिक राजनैतिक अभियानमा हिडिसकेका हामीले आफ्नो ऐतिहासिक दाइत्ब बिर्सेर फेरि पछि फर्कने कुरा असम्भव र कल्पना बाहिरको कुरा हो ।षड्यन्त्र र जालझेलमा पोख्त र निष्ठा र आदर्श बाट स्खलित भएका हरू सँग निकट हुनुहुन्न भन्ने पाठ हामीले यस घटना बाट सिकेका छौ ।यी कमि कमजोरी हरूका बाबजुद यस अबधिमा कैयौं सकारात्मक काम र अनुभवहरू पनि भएका छन ।’
हाम्रो पार्टीको राजनैतिक जीवनमा यस अबधिमा घटेका यिनै ति तीन ठुला राजनैतिक घटनाहरू हुन जसले ,हाम्रो नियत सफा र मिसन स्पष्ट हुदाहुदै पनि हाम्रो मौलिक पहिचान नै पुरै समाप्त पारिदिए । पार्टीको जीवनमा घटेको यी राजनैतिक घटनाक्रमहरूले गर्दा नयाँ लोकतान्त्रिक विकल्पका लागि हामी लाइ आर्थिक ,भौतिक र नैतिक रुपमा सहयोग गर्दै , हाम्रै नेतृत्वमा परिवर्तन हुने कुरामा ढुक्क हुदै बिभिन्न पार्टीहरूका अलावा कुनै पनि पार्टीमा नलागेको नयाँ युवा पुस्ता हाम्रो पार्टीमा उत्शाहका साथ सामेल भइ परिवर्तनको प्रक्रियामा फुरुङ्ग हुदै हाम्रो पक्षमा दृढतापुर्बक उभिएका हाम्रा मतदाता र आम जन समुदायको ठुलो तप्का निरास हुन पुग्यो ।
यस अवधिमा हाम्रो पार्टीमा जोडिएको प्रत्येक मानिसले हाम्रो पार्टी र नेतृत्वलाइ एउटा रेल्वे स्टेसनको रुपमा प्रयोग गर्याै ।नेसपा ( नयाँ शक्ति ) को स्टेसनमा तबसम्म मात्रै मानिसहरू बसे जब सम्म अर्को रेल स्टेसनमा आएन । जब स्टेशनमा अर्काे नयाँ रेल आयो तब मानिसहरू आफ्ना बोरी बिस्तारा बोकेर चढे । कुरा यही सिमित छैन पार्टी भित्र प्रबेश गरेका पद लोलुप , क्यारिरिष्ट र अवसरबादीहरूले कैयौंपटक हाम्रो पार्टीलाई कहिले पेरिस डाँडा त कहिले बालकोट लगेर बिसर्जन गर्ने कुचेष्टा गरे । उनीहरूको त्यस प्रकारको तथाकथित प्रयास असफल भए पछि कतिपयले तथाकथित सिद्धान्तहीन एकता र धुर्बिकरणको नाममा आफै बिभिन्न समयमा बाहिरिएर समाप्त भए भने कतिपय एक बा अर्को बहानामा साइड लागे । कतिपयले हामी ६० काट्यौं ! पार्टी बन्छ कि भनेर आइ हालियो ! अब बन्ने देखिएन भन्दै पलायनको बाटो रोजे ।
विश्वप्रसिद्ध रुसी साहित्यकार लियो टाल्सटायले एक ठाउँमा भनेका रहेछन – ’ सबै मानिसहरू संसार बदल्न चाहान्छन तर आफु लाइ बदल्न कोही पनि चाहादैन ।’भन्ने भनाइ हाम्रो पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई बाहेकका अधिकांस अभियान्ताहरूमा यो कुरा हुबहु लागु भयो । यी नै ति यस्ता आन्तरिक र बाह्य ऐतिहासिक कारण हरू थिय ,जस्ले पार्टीको मुल नेतृत्वलाई यति धेरै मनोबैज्ञानिक दबाबको मनोदशामा धकेलि दिएको थियो कि अब पार्टीलाई १) तत्काल पार्टी बिघठन गरी नयाँ परिस्थितिमा नयाँ ढङ्गले लोकतान्त्रिक विकल्पका लागि पुनः राष्ट्रिय अभियान संचालन गर्ने ।२) विचार र राजनीति मिल्ने दल र समुह सँग केही क्षति मोलेर भए पनि धुर्बिकरण र एकताको प्रक्रियामा प्रबेश गराउने ।
हाम्रो पार्टीको दर्शन ,सिद्धान्त ,विचार ,राजनीति ,सँगठनात्मक मुल्य मान्यताहरू आफैमा सही, बैज्ञानिक ,वस्तुवादी र व्यवहारिक हुदाहुदै पनि पार्टी यि र यस्तै प्रकृतिका राजनैतिक तनाव बाट गुज्रदै आएको छ भने आज पनि पार्टी ,पुरानो तनाबको भारी बाट पुरै मुक्त हुन सकिरहेको छैन ।
अब हामीले विगतको तनाबको भारी दिमागमा बोकेर कहीं पनि पुगिदैन । हामीले हाम्रो पार्टी भित्रका सिमा समस्या तथा कमजोरीहरूलाई खुला हृदयका साथ स्विकार गर्दै त्यसको बिबरण बहुसंख्यक जनसमुदायको बीचमा जस्ताको तस्तै राखेर हाम्रो पार्टी भविष्यमा कमजोर होइन झनै मजबुत बन्नेछ । किनकि इतिहासको प्रमुख रचनाकार बहुसंख्यक जन समुदाय हरू नै हुन हामीले जनतामा बिश्बास गर्नु प्रर्दछ र जनता बाट सिक्नु प्रर्दछ । हामीले आफुलाइ धुरी बनाएर होइन जनता लाइ धुरी बनाएर जब सोच्न सुरु गर्नेछौं तब हाम्रा सबै राजनैतिक समस्या हरू सहज ढङ्गले हल हुन सुरु हुनेछन् ।
यि सबै कुराहरूका बाबजुद पनि हाम्रो पार्टीको मुल नेतृत्वले नेसपा (नयाँ शक्ति)को जहाज लाई यस अबधिमा ज्यादै परिपक्व र सन्तुलित ढङ्गले दुश्मनका जङ्गि अड्डाहरू ,कैयौं समुन्द्रका भुमरी हरू ,पहाडी चट्टानहरू ,भिर पाखा र खोला कुन्दराहरूमा ठोक्किन बाट जोगाउदै यसलाई एउटा श्रृर्खलामा, एउटा सेटमा ,सँगतिपुर्ण ढङ्गले एउटा लयमा कुदाइ रहेको छ । जुन कुरा सही छ ।
नयाँ वैकल्पिक राजनैतिक दल हरूको भविष्य
बि.स.२०७० को दशकको प्रारम्भमा देशमा नयाँ लोकतान्त्रिक विकल्पको मुल्यबोध गर्दै कैयौं नयाँ राजनैतिक दलहरूको उदय भएको भए पनि उनीहरू मध्ये कतिपयले सुशासनको मात्रै कुरा गरे । कतिपयले लोकतन्त्रको मात्रै कुरा गरे ।कतिपयले बेथितिको मात्रै कुरा गरे ।कतिपयले सिर्फ: सामाजिक बिभेदको मात्रै कुरा गरे र कतिपयले कुशासन को मात्रै कुरा गरे भने कतिपयले पहिचानको मात्रै कुरा गरे र त्यसका लागि योगदान गरे । तर ,नयाँ शक्ति पार्टी नेपाल नै यस्तो पार्टी थियो ,जस्ले धेरै सुबिचारित ढङ्गले ,लामो आन्तरिक तयारी सहित , राज्य संचालन र राष्ट्र निर्माणको अल्पकालीन ,मध्यकालीन र दृर्घकालिन सोच सहित राम्रो गृह कार्य गरी , गंभिर जिम्मेवारीबोध सहित नेपाली जनता सामु प्रस्तुत भएको थियो । यि सबै वैकल्पिक र लोकतान्त्रिक विकल्पहरूलाइ नेपाली जनताले नजिकै बाट हेरी रहेका थिय ।
हेर्दाहेर्दै कतिपयले यस अबधिमा मार्ग नै परिवर्तन गरे भने कतिपयले तथाकथित एकता र धुर्बिकरणको नाममा बिजातिय प्रबृत्ति हरू सँगको सतसर्गले अनावश्यक एकता र बिभाजनको समेत सिकार भए भने कतिपयले वैचारिक तथा राजनैतिक स्पष्टताको अभाबको कारणले जान बा अन्जानमा आफ्नै अस्तित्वलाइ समेत संकटमा पारे । कतिपयले पुरानै शक्तिहरूको चङ्गुलमा फसेर अनावश्यक बदनामिको भारी बोक्दै हिडिरहेका छन ।समग्रमा बितेको दशकमा नयाँ र वैकल्पिक राजनीतिको अभ्यास र नतिजालाइ मुल्यांकन गर्दा ति सबै शक्तिहरूको बीचमा एउटा शक्तिशाली एउटै सार्थक केन्द्र बन्न सकिरहेको छैन ।
त्यसको बाबजुद पनि नयाँ र वैकल्पिक राजनीतिक दल र समुह बा अभियानहरूले कुनै न कुनै ढङ्गले नयाँ र वैकल्पिक राजनीति लागि सकारात्मक योदान गरी रहेकै छन ।अब भने यि सबै नयाँ र वैकल्पिक राजनीतिका नाममा अघि आएका शक्तिहरूको बीचमा सार्थक संबाद गरी एउटा गति र आकार दिन भने धेरै ढिलो भइसकेको छ । नयाँ र वैकल्पिक राजनीतिक शक्तिको भविष्य धेरै उज्ज्वल छ तर यस लाइ अस्थिर ,ढुलमुल दोहोरो चरित्र बोकेका ,क्यारिष्ट र हिरोइज्म , अधैर्यता बाट जोगाउदै यस लाइ उन्नत प्रकारको लोकतान्त्रिक सांस्कृतिकमा आधारित बनाउनुपर्ने अभिभाबकिय भुमिका हाम्रो पार्टीले निकट भविष्यमा खेल्नुपर्ने छ ।
नेसपा ( नयाँ शक्ति) को अबको बाटो
हाम्रो पार्टीको ऐतिहासिक प्रथम महाधिवेशनले पार्टीको तत्कालीन कार्ययोजना अन्तरगत वैचारिक तथा राजनीतिक काम, सँगठनात्मक काम ,प्रचारप्रसार र प्रकाशनको काम ,जनपरिचालन र आन्दोलनको काम ,आर्थिक श्रोत तथा बेबस्थापनको काम, कार्यगत एकता र संयुक्त मोर्चाको काम लाइ प्राथमिकताको सुचिमा राखेको छ र त्यस लाइ पार्टीको आन्तरिक पंक्ति र आम जनसमुदायको बीचमा समेत पुर्याउने उदेश्य लिएको छ । यस काम लाइ लागु गर्नु गराउनु पार्टीका सबै अभियान्ता हरूको अनिवार्य दायित्व हुनेछ । वैचारिक तथा राजनैतिक कामका संन्दर्भमा हाम्रो पार्टीले स्पष्ट भनेको छ – “ आज बिश्व र नेपालका गंभिर संरचनात्मक समस्या हरूको अन्तर्यमा समग्र युग परिवर्तनको वैचारिक – राजनैतिक संकट रहेको स्पष्ट छ ।हाम्रो पार्टीको प्रथम महाधिवेशनले उत्तर – पुंजिबाद र उत्तर साम्यवादको वैचारिक – राजनैतिक विकल्पको रुपमा समुन्नत समाजवादको अबधारणा अगाडि सारेको छ ।यस सन्धर्बमा केही समय अभियानात्मक ढङ्गले वैचारिक – राजनैतिक काममा केन्द्रित भएर त्यस लाइ स्थापित गर्नु जरुरी हुनेछ ।
खास गरी नेपालमा पुराना शक्तिहरूसँग रुष्ट भएर बिभिन्न रुप र रंङ्गमा नयाँ शक्तिहरूको उदय भइरहेको छ । तर तिनिहरूको स्पष्ट कार्यदिशा जनसमक्ष प्रस्तुत हुन सकिरहेको छैन ।यो स्थितिमा वैकल्पिक राजनितीको समग्र वैचारिक-राजनीतिक आधार बारे हाम्रो पार्टी पंक्ति मात्रै होइन आम जन समुदायलाई समेत सुसूचित गर्नु आबश्यक हुनेछ ।
त्यसैले पार्टीले प्रशिक्षण बिभाग मार्फत बिस्तृत पाठ्यसामग्री तयार गरेर संघ ,प्रदेश र स्थानीय तह सम्म व्यवस्थित ढङ्गले प्रशिक्षण कार्यक्रम संचालन गर्ने छ भने देशका प्रमुख केन्द्रहरूमा सार्बजनिक ढङ्गले समेत विचार मंन्थनका कार्यक्रम राखेर वैकल्पिक राजनीतिको औचित्य र अन्तरबस्तुबारे सार्बजनिक बहस सिर्जना गर्ने भनेको छ । त्यस्तै कार्यगत एकता र संयुक्त मोर्चाको प्रश्नमा सोही दस्तावेजमा भनिएको छ-,’युगिन कार्यभार पुरा गर्ने वैकल्पिक राजनीतिक शक्तिको निर्माण एकैचोटि बनि बनाउ रुपमा वा रातारात हुदैन । साथै वैकल्पिक शक्तिहरू बिभिन्न रुपमा उदय हुन पनि सक्छन् ।
लामो समयको निर्माण र बिनिर्माण ,संघर्ष र ध्रुवीकरणको चरण पार गरेर मात्रै एउटा भरपर्दो र दिगो वैकल्पिक राजनीतिक शक्ति निर्माण हुन सक्छ ।त्यसैले हामीले कुनै अंहकार र एकलकाँटे प्रबृत्ति नबोकि तर आधारभूत मुल्य मान्यता र विचारमा दृढ भएर वैकल्पिक शक्तिहरू सँग सहकार्यको पहल गरिनेछ ।पुराना पतनशिल र भष्ट शक्ति हरूका विकल्पमा उदय भइरहेका बिभिन्न नयाँ शक्ति र ब्याक्ती हरू सँग संबाद ,सहकार्य ,कार्यगत एकता र संयुक्त मोर्चा गर्दै अन्ततः बृहत वैकल्पिक शक्तिहरूको धुर्बिकरणका निम्ति प्रयत्न तथा अगुवाइ गर्नुपर्नेछ । यस सन्दर्भमा हाम्रो पार्टीको राजनीतिक संबाद समितिले सबै प्रकारको दलिय आग्रह र पुर्बाग्रहबाट माथि उठेर नयाँ र वैकल्पिक पार्टी,समुह एबं ब्यक्तीसँग संबाद र सहकार्यको निम्ति व्यवस्थित पहल गर्ने निति लिएको छ ।
अन्त्यमा
देशमा पुराना राजनीतिक दल हरूले सदियो देखि नेपाली समाजमा जायज÷नजाएज तरिका अपनाएर आफ्नो राजनीतिक,आर्थिक, सामाजिक र सांस्कृतिक कब्जा गरी साम्राज्य कायम गरेका छन । उपरी र सतही प्रकारले हेर्दा त्यस प्रकारको उनिहरूको साम्राज्य केही बलियो देखिएको भए पनि त्यो भित्रभित्रै आफ्नै कारण का कारणले मक्कियर त्यसका डाँडा भाटा र धुरी खाँबा हरू काम नलाग्ने भइसकेका छन ता पनि त्यसको विरुद्ध निर्णायक रुपमा प्रहार गर्ने र त्यस प्रकारका शक्तिहरू लाइ हमेशाका लागि देश बाट बिदा गर्ने नयाँ र भरपर्दो वैकल्पिक शक्तिको निर्माण हुन सकेको छैन । नयाँ र वैकल्पिक लोकतान्त्रिक शक्तिको साझा केन्द्र वा मोर्चा आजको राष्ट्रिय आवश्यकता बनेको छ ।
अतः इतिहासको यो जिम्मेवारी हिम्मत र साहसका साथ सबैले आ– आफ्नो स्थान बाट बहन गरौ र सकिन्छ देशमा २०७० को दशक यता स्थापना भएका नयाँ राजनैतिक दलहरूको बिचमा एउटै केन्द्र बनाउने ढङ्गले बिमर्श गरौ । सकिदैन, हुदैन भने २०८४ को निर्वाचन सम्म जादा संयुक्त मोर्चा मार्फत एउटै घोषणा पत्र,एउटै चुनाव चिन्ह र साझा उम्मेदवार खडा गरेर जाने बिषयमा सार्थक संबाद होस भन्ने आम जनसमुदायको चाहाना हो भन्ने कुरा पनि कसैले बिर्सनु हुदैन ।
–नारायण खनाल नेसपा (नयाँ शक्ति)का केन्द्रिय सदस्य र केन्द्रिय प्रशिक्षण विभागका सदस्य हुन।

