काँग्रेसको शिक्षा नीति बहसमा उपकुलपतिको क्राईटेरिया

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागद्वारा आयोजित ‘कांग्रेसको शिक्षा नीति बहस अन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्श’ कार्यक्रममा प्रमुख अतिथि कांग्रेस सभापति शेरबहादुर देउवा र शिक्षा, वन तथा प्रविधि मन्त्री रघु पन्तको विशेष उपस्थितिमा त्रिभुवन विश्वविद्यालय लगायत उच्च शिक्षासम्बन्धी विविध विषयमा विमर्श गरिएको छ।
कार्यक्रमको सभापतित्व विभाग संयोजक नयनसिंह महरले गरेक थिए । कार्यक्रममा मन्त्री पन्तले त्रिविका नयाँ उपकुलपति छनोटप्रति लक्षित गर्दै विश्वविद्यालयको भीसि बन्न प्राध्यापकहरू नेताहरूकोमा नधाउन् भन्दै आफू योग्य ठहरिए प्रधानमन्त्रीले नै बोलाएर नियुक्त गर्नसक्ने व्यवस्था गर्नुपर्ने विचार व्यक्त गरे। यसले अब त्रिविको नयाँ भीसि नियुक्तिमा विज्ञापन नगरिने संकेत दिएको धेरैको ठम्याइ थियो।
उनले भनाइ राख्दा उपस्थित बौद्धिक समुदायमा केहीले एमाले नेतृत्वको वर्तमान सरकारद्वारा योग्य, अनुभवी र दलविहीन व्यक्तिलाई नियुक्ति दिन सकिने आशा व्यक्त गरेको देखिएको थियो भने केहीले पन्तको भनाइलाई केवल भाषणको रूपमा बुझेका थिए।
सभामा प्रमुख अतिथि देउवाले शिक्षा मानव जीवनको आधारशिला भएको उल्लेख गर्दै अभिभावकको चाहना अनुसार नेपालमै अन्तर्राष्ट्रियस्तरको अध्ययनको व्यवस्था भए विदेशी विद्यार्थीसमेत आकर्षित हुने बताए। उनले डा. तीर्थराज खनियाको नामसमेत उच्चारण गर्दै शिक्षा विषयक महत्वपूर्ण विचार राखेकामा धन्यवाद प्रकट गरे।
विशिष्ट अतिथि मन्त्री पन्तले एमाले, माओवादी र कांग्रेसबीच विचार फरक भए पनि देशमा स्थिरता आवश्यक रहेकोले मिलेर सरकार बनाएको स्पष्ट पारे। आफू शिक्षा क्षेत्रको व्यक्ति नभएकाले धेरै कुरा सिक्न आएको भन्दै फरक विचारका बीपी कोइरालाको पनि प्रशंसा गरे। बहुलवादको पक्षमा जोड दिँदै चीनले निजी क्षेत्रलाई उच्च शिक्षामा समावेश गर्दा विश्वका शीर्ष विश्वविद्यालयहरू उत्पादन गरेको दृष्टान्त दिंदै नेपालमा निजी शिक्षामा अंकुश लगाउनु नहुने धारणा व्यक्त गरे।
उनले उच्च शिक्षालाई विश्वबजारसँग प्रतिस्पर्धी बनाउने, नवप्रविधिको अध्ययन र नयाँ विषयहरू नेपालमै अध्ययन गराउने, युनिवर्सिटीमा मन्त्रीस्तरबाट कुनै हस्तक्षेप नहुने कुरा स्पष्ट पार्दै बौद्धिक वर्ग समाजबाट अलगिँदै गएकोप्रति चिन्ता व्यक्त गरे।
कार्यक्रममा त्रिविका पूर्व भीसि प्राडा तीर्थराज खनियाले उच्च शिक्षा नीति २०७६ पारित भए पनि लागू नभएकोप्रति गुनासो गरे। उनले विश्वविद्यालयलाई उत्पादनसँग जोड्ने, त्रिविको भिजन सन् २०३० सम्म बनाउने जस्ता नीति कार्यान्वयनमा नभएको बताए। साथै, विदेशी विद्यार्थी नआउनु, नयाँ विषयको अभाव, शुल्क नउठ्ने समाजवादी शिक्षा प्रणाली र सरकारी लगानी अभावजस्ता समस्याहरू औंल्याउँदै विश्वविद्यालय दलगत रूपमा चलेको उल्लेख गरे।
सुदूरपश्चिम विश्वविद्यालयका निवर्तमान भीसि प्राडा अम्मराज जोशीले शिक्षाको उद्देश्य सच्चरित्र मानव निर्माण भएको उल्लेख गर्दै फ्रान्स, अमेरिका जस्ता मुलुकमा संस्कृतिको प्रवर्द्धन हुने उच्च शिक्षा नीति भएको बताए। ग्लोबल वार्मिङ्ग, दीगो विकास, सिकाइको लागि सिकाइ जस्ता साझा अजेन्डालाई व्यवहारमा उतार्नुपर्ने धारणा राख्दै सरकारले शिक्षामा लगानी नगरेकोमा चिन्ता व्यक्त गरे।
पूर्व भीसि केदारभक्त माथेमाले त्रिविलाई हस्तक्षेपमुक्त प्राज्ञिक गणतन्त्रको रूपमा अगाडि बढाउनु पर्ने विचार राख्दै विश्वविद्यालयमा बोर्ड अफ ट्रस्टीज वा गभर्नर्सको आवश्यकता औंल्याए। उनले वर्तमानमा नयाँ विश्वविद्यालय खोल्नुभन्दा पोखरा वा विराटनगरका क्याम्पसहरूलाई समेटेर डिम्ड युनिवर्सिटी बनाउने वा निजी विश्वविद्यालय खोल्ने प्रस्तावसमेत राखे।
राष्ट्रिय योजना आयोगका सदस्य आरती बिच्छाले वर्तमान शिक्षा प्रणालीमा हाम्रो सभ्यता झल्किनुपर्नेमा विदेशी सभ्यता हावी भएको बताउँदै विद्यार्थीहरू किन विदेशिन्छन् भन्ने अध्ययन आवश्यक रहेको बताए। उनले विद्यालय तहमा ९५ प्रतिशत भर्ना हुँदा उच्च शिक्षामा ५७ प्रतिशत मात्र हुनु र बीचमै पढाइ छोड्ने समस्याको समाधान खोजिनीतिमा हुनु पर्ने बताए। साथै, विश्वविद्यालय शिक्षण केन्द्रितभन्दा अनुसन्धान केन्द्रित हुनुपर्नेमा जोड दिए।
कार्यक्रमको अन्त्यमा कांग्रेस सभापति देउवाले केन्द्रीय शिक्षा विभागद्वारा प्रकाशित शिक्षा मुखपत्र बुलेटिनको लोकार्पण समेत गर्नुभयो।

