३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु

काठमाडौं । नवलपरासी पूर्वमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ।

दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुर्घटनामा मध्यविन्दु- ७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही ठाउँका २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको छ। सोही दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा पश्चिम नवलपरासीको बर्दाघाट नगरपालिका-५ घर भई चोरमारामा बस्दै आएका २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको छ।

मंगलबार बिहान करिब ६ बजे अम्रराबाट चोरमारा आउँदै गरेको लु ९ प ८११६ नम्बरको मोटरसाइकल मध्यविन्दु नगरपालिका-७ अम्रसा जंगलको भित्री सडकमा दुर्घटनामा परेको हो। मोटरसाइकलमा तीन जना सवार रहेको र तिव्र गतिको कारण मोटरसाइकल चिप्लिएर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय