ज्ञानेन्द्र शाह : राजपरिवारका सदस्य हुन्, ‘राजा’ होइनन्
शिरज शर्मा
नेपालमा राजतन्त्रको इतिहास लामो छ । पूर्वमा राई, किराँत लिम्बुको राजा होस् वा पश्चिमका डोटेली राजा हुन् । लमजुङ गोर्खाका घले राजा हुन् वा काठमाडौं उपत्यका भित्रका मल्ल र लिच्छविकालका राजा हुन् । कुनै कालखण्डमा नेपालमा धेरै टुक्रा टाक्री राज्य थिए र त्यहीँ राजा पनि थिए। तर, राजा वा राजतन्त्र भनेर शाह वंशको मात्रै कुरा गरिन्छ। अहिले सडकमा राजा ल्याउछु भन्नेले पनि उनै शाह वंशका सन्तानलाई राजा भनिरहेका छन् ।
तर,अचम्म के छ भने २०६५ जेठ १५ मा गणतन्त्र घोषणा भएपछि पनि कुनै व्यक्ति (जो ‘राजा’ पनि थिएन) आफुलाई ‘राजा’ भएको सपना देखिरहेको छ। उसलाई सपना देखाउनेहरु पनि यदाकदा अनेक रुप धारण गरेर सडकमा चिच्याएको भेटिन्छन् । कहिले विश्वहिन्दु महासंघको नाममा,कहिले राप्रपाको नाममा,कहिले राष्ट्र, राष्ट्रियता र धर्म बचाउ भन्ने नाममा त कहिले नागरिक आन्दोलन कै नाम धारण गरेर पनि ‘राजा’ को बाजा बजाइरहेका छन् ।
नेपालमा शाह वंशलाई नै ‘राजा’ हो भनेर मान्नुपर्ने कारण र यसको उदय कहाँबाट कसरी भयो अनि अन्त कहिले भयो ? भन्ने कुराको आ-आफ्नै व्याख्या छ। अनेकथरी विद्वान् र साधु सन्तको व्याख्याभित्र पनि राजतन्त्रको असली तथ्य र सत्य दुबै भेटिन्न।
हाम्रा जिजुबाजे भनेर अहिले व्यापारी ज्ञानेन्द्र शाह(राजपरिवारका एक जना सदस्य) ले भन्ने पृथ्वीनारायण शाहलाई मात्रै राजाको प्रथम वंश भन्ने कुरा पनि भएन। किनभने उनिभन्दा अगाडिका नरभूपाल शाह,राम शाह,द्रव्य शाह वा त्यसभन्दा पनि निकै अगाडि गयो भने कुलमन्डन शाहदेखी हिसाब गर्ने हो भने पनि नेपालमा राजतन्त्रको इतिहास लामो छ। तर,जति लामो इतिहास छ त्यति नै ‘कालो’ र बद्नामी इतिहास पनि तिनकै खलकमा भेटिन्छ । सत्यलाई तथ्यसँगै जोडेर हेर्ने हो भने कुनैपनी पुर्व राजाहरुको मृत्यु स्वभाविक र उमेर पुगेर भएको देखिदैन । कोही काटिए, कोही बिष खुवाइए, कोही जनावरको आक्रमणमा परे भनियो त कोहीलाई गोली हानियो। अन्तिम जिउँदो राजा विरेन्द्र शाह र उनका छोरा दिपेन्द्र शाह दुबैको मृत्यु पनि २०५८ जेठ १९ गते राती गोली लागेर भयो।
ऐतिहासिक लिखतहरूले के देखाउँछ भने पृथ्वीनारायण शाहको मृत्यु विसं १८३१ माघ १ गते नुवाकोटको देविघाटमा भएको थियो। उनकै मृत्युमा पनि सत्य र तथ्य फरक परिरहेको छ। एकाथरीले रोगले सताएर मृत्यु भएको हो भनेका छन् भने अर्काथरीले शिकार खेल्न जाँदा बाघको आक्रमणबाट मृत्यु भएको भनेका छन् । जे भएपनि ५२ वर्षमा भएको उनको निधन स्वभाविक चाहिँ होइन भन्ने प्रष्ट छ।
त्यसैगरी नेपालको राजाहरू मध्य सबैभन्दा बढी भूल गर्ने राजा भनेर चिनिएका रणबहादुर शाहको १८६३ साल वैशाख महिनामा हत्या भयो। आफ्नै सहोदर भाइ शेरबहादुर शाहले हानेको खुकुरीको चोटबाट उनको मृत्यु भएको हो। अर्थात उनी भाइबाटै काटिएका थिए।
उता १८५५ मा राजा भएर अल्पायु मै (२० वर्षको उमेरमा) वि. सं. १८७३ मा निधन भएका गृवाणयुद्ध शाहको मृत्यु पनि संकास्पद नै छ। भन्न चाहिँ उनकाे निधन सितला राेगका कारण भएको भनिएको थियोे ।तर, त्यतिबेला दरबार भित्रका अनेक षड्यन्त्र र तिकडमको उनी पनि सिकार भएका थिए।
राजा राजेन्द्र काशी धपाइएपछि राजा भएका सुरेन्द्र विरविक्र शाहको मृत्यु पनि सुखद थिएन। अझै यिनको त छोराको मृत्यु पहिल्यै भएको थियो । सुरेन्द्र पश्चात् यिनका नाति पृथ्वी विरविक्रमलाई सिधै राजा बनाइएको थियो। सुरेन्द्रले त्यस समयमा पागल जस्तै भएर काठमाडौंवासीलाई दु:ख र हैरानी समेत दिएका थिए भनिन्छ। यिनका बाबु राजेन्द्र काशिमा बस्दा षड्यन्त्र गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले राजेन्द्रलाई सत्ताच्युत गरि वि.सं. १९०४ वैशाख ३ गतेका दिन जबर्जस्ती राजसिंहानसमा बसाए ।तर, पञ्जापत्र बनाई सम्पूर्ण अधिकार श्री ५ बाट श्री ३ मा सारी जंगबहादुरले शासन हत्याएपछि वि.सं. १९३८ मा यिनको निधन भयो ।
सुरेन्द्रका जेठा छोरा तत्कालीन युवराज त्रैलोक्य विक्रम शाह नेपालको शाह वंशका युवराज भए तर, राजा भएनन् । राणाको हातमा गएको राजकीय अधिकार फर्काउन सक्ने डरले राणाहरुले त्रैलोक्यलाई मारेको भनिन्छ । त्रैलोक्यको राजा नबन्दै वि.सं.१९३४ मा ३० वर्षको अल्पायुमै निधन भएको थियो। यिनलाई धीर शमसेरले विष प्रयोग गरेर मारेको पनि भनिन्छ।
त्यसपछि राजा त्रिभुवन शाहको पनि जम्मा ४८ वर्षको उमेरमा २०११ फागुन ३० मा स्विजरल्याण्डमा मृत्यु भएको हो। राणा शासनको अन्त्य हुने समयमा भारत निर्वासित भएका यिनको पनि आफू जिवित हुँदै नाति ज्ञानेन्द्र शाह राजा बनाइएको भन्दै राणाहरु संग सम्बन्ध राम्रो थिएन। स्विजरल्याण्डको जुरिकमा भएको उनको मृत्यु पनि स्वभाविक लाग्दैन।
त्यसपछि राजा महेन्द्रको मृत्यु पनि दरवारमा स्वभविक हिसाबले भएको होइन । २०२८ साल माघ १७ मा चितवनको दियालो बङ्गलामा निधन भएको महेन्द्रलाई बाघले मारेको देखि आफैं बिरक्तिएर मरेको सम्म भनिन्छ। उनका छोरा विरेन्द्र र नाति दिपेन्द्रको मृत्यु त झन् रहस्यमय बनेकै छ। २०५८ जेठ १९ गते नारायणहिटी भित्रै गोली हानी यी दुवै बाबुछोराको हत्या भएको थियो।
राजाको जेठो छोरा राजा हुने शाह वंशको परम्परा भनिएको कुरालाई मान्ने हो भने २०५८ जेठ १९ राती सम्म मात्रै नेपालमा राजा र राजसंस्था रह्यो भन्न सकिन्छ। त्यसभन्दा पछि जसलाई ‘राजा’ भनियो र अहिले जसलाई ‘राजा आऊ देश बचाऊ’ भनेर निम्त्याएको छ ती पात्र राजा होइनन् । अर्थात २०५८ पछि ‘राजा’ बनेर जो नारायणहीटीमा बसेको थियो उनी राजा होइनन् । उनी राजपरिवार भित्रका एक सन्तान अर्थात स्व.महेन्द्रका महिलो छोरा ज्ञानेन्द्र शाह थिए। उनी व्यापारी थिए र हुन् । तत्कालीन समयमा माओवादी सशस्त्र युद्धमा रहेको र कांग्रेस,एमाले लगायत केही संसदवादी दल रत्नपार्क तिर लर्खराइरहेको मौकामा ज्ञानेन्द्रले मै ‘राजा हुँ’ भनेर गद्दीमा बसेका हुन् ।
त्यसलाई पनि किन अपमान गर्नु भनेर राजनीतिक दलहरूले संविधान सभा निर्वाचन पछि २०६५ सालमा गणतन्त्रको स्थापनासँगै राजतन्त्र औपचारिक रूपमा समाप्त भएको घोषणा गरियो। त्यसपछि केही शब्दका पुरेतहरुले ज्ञानेन्द्र शाहलाई ‘पूर्वराजा’ भनेर सम्बोधन गर्न थाले। अहिले अझै केही राजावादीहरु त ज्ञानेन्द्रलाई ‘पूर्वराजा’ भन्न पाइदैन समेत भन्न थालेका छन् । ‘राजा’लाई पुर्व भन्ने कि नभन्ने भन्दा पनि हामिले बहस गर्नुपर्ने कुरा के हो भने ज्ञानेन्द्रलाई ‘राजा’ भन्ने कि नभन्ने ?
ज्ञानेन्द्रलाई राजाको तहमा हेर्ने हो भने पुर्व भन्नेकी नभन्ने बहस सान्दर्भिक होला। तर, ज्ञानेन्द्र राजा नै होइनन् उनी राजपरिवारका सदस्य मात्रै हुन् । २०५८ जेठ १९ मा हत्या गरिएका राजा विरेन्द्रका माइलो भाइ,त्यसै घटनामा मारिएका दिपेन्द्रका माइलो बुबा बाहेक ज्ञानेन्द्रको परिचय एकजना राजपरिवारका सदस्य र ‘व्यापारी’ मात्रै हो। त्यसपछि पनि कसैले ‘राजा’ फर्काउने वा राजा छन् भन्छ भने उसले बुझ्नुपर्छ कि नेपालमा अब राजतन्त्र नै छैन। हाम्रो संविधानले राजाको पदलाई पूर्ण रूपमा समाप्त गरेको छ। यदि हामी ज्ञानेन्द्र शाहलाई ‘राजा’ वा ‘पूर्वराजा’ भनिरहन्छौ भने हामी अझै भविष्यमा राजतन्त्र ल्याउन चाहन्छौं भन्ने अर्थ लाग्छ।
झन्डै ५० वर्ष राजनीतिक जीवन बिताएका कांग्रेस कम्युनिस्टका नेताले संविधान त पढेकै होलान् । संविधान बनाउन भूमिका खेलेकै नेताहरू सबैजसो राजनीतिक दलको शिर्ष तहमा अझै छन् । अनि नेपालको अहिलेको संविधानले राजतन्त्रलाई खारेज गरेको र भविष्यमा राजा बन्ने कुनै सम्भावना पनि नरहेको कुरा त बुझ्नुपर्ने होइन र ? यदि बुझेको हो भने सार्वजनिक कार्यक्रम र टेलिभिजनमा गएर किन रोइलो गरेको ? किन विरक्तिएको ? अझै राजा र राजसंस्थाबारे बहस जरुरी छ र ? म त भन्छु यो बहस योग्य बिषय नै होइन।
यदि व्यापारी ज्ञानेन्द्र शाहलाई ‘राजा’ वा ‘पूर्वराजा’ भनिन्छ भने यसले राजतन्त्र फेरि फर्कन सक्छ भन्ने कुराको बहस जरुरी देख्छ। जुन कुराका लागि अहिलेको संविधान नै खारेज गर्नुपर्छ। संविधान सभाले बनाएको यो संविधान खारेज नभएसम्म ‘राजा’ शब्दको प्रयोग गर्नु भूल हुनेछ।
तसर्थ, संविधानमै नभएको ‘राजा’ वा ‘पूर्वराजा’ भन्ने शब्द निकालेर सार्बजनिक बहस गर्नु र टेलिभिजनमा अन्तरबार्ता दिनुले व्यापारी ज्ञानेन्द्र शाहलाई नै बल पुग्नेछ। त्यसैले, हामी लोकतन्त्रमा विश्वास गर्छौं र गणतन्त्रको स्थायित्व चाहन्छौं भने आजैदेखि ज्ञानेन्द्र शाहलाई व्यापारीको नजरले मात्रै हेरौं । चित्त बुझ्दैन भने पुर्व राजपरिवारका सदस्य भनौं,स्व. महेन्द्रको छोरा भनौं, स्व.विरेन्द्रका भाइ भनौं ! तर, ‘राजा’ वा ‘पूर्वराजा’ नभनौं ! संविधानले नचिन्ने व्यक्तिलाई हामीले चिनाउँदै नहिँडौं।

