आज पनि होली,तराईमा धुमधामसँग मनाइँदै

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ बिहिवार मनाइए पनि तराई क्षेत्रमा आपसमा रङ र लोला खेली आज मनाइँदै छ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भभावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। केही वर्षअघिसम्म उत्ताउलो रूपमा मनाइने यो पर्व प्रहरी प्रशासनको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ।तराईका जिल्ला सँगै काठमाडौं उपत्यका र पहाडी जिल्लाका शहरमा बसोबास गर्ने तराईवासीले आज धुमधाम होली मनाउने छन् ।
आजभोलि सडकमा कामविशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएपनि आपसमा चाहिँ लोला हानेर रमाइलो गर्नेहरू बढेका छन्। फागु पर्वको अवसरमा राजधानी लगायत पहाडी र हिमाली क्षेत्रका सडकमा फोहर पानी छ्यापेको देखिएन। यद्यपि होलीमा सवारीसाधन नियम बिपरित चलाउने,होहल्ला गर्ने र मादक पदार्थ सेवन गर्नेलाई भने प्रहरीले नियन्त्रणमा लिने गरेको छ।
यस पर्वका अवसरमा हिजो काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाएका थिए।चिरमा राखिएका ध्वजापताका औषधोपचारमा काम लाग्ने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइने चलन छ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भस्म भएकी, तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ।
त्यसैबेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ।
यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षस्नी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन्। निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले एक दिन पहाड तथा हिमाली क्षेत्रमा र भोलिपल्ट तराईमा सार्वजनिक बिदा दिंँदै आएको छ।

