पृथ्वीनारायण शाहको ब्रतबन्ध गरिएको मैदीकोट

धादिङको मैदीकोट (हाल ज्वालामुखी गाउँपालिका-३) खड्गदेवी मन्दिर र यो कोट एक महत्त्वपूर्व पुरातात्त्विक, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय हिसाबले चर्चामा छ। यहाँको प्राकृतिक शुन्दरता र वरिपरिको दृश्यले मात्रै होइन यसले एउटा सिङ्गो इतिहास पनि बोकेको छ।

यो ठाउँमा नेपाल एकीकरणकर्ता श्री ५ पृथ्वीनारायण शाहको व्रतबन्ध गरिएको थियो। गोरखाका राजा नरभूपाल शाहले आफ्ना छोरा पृथ्वीनारायण शाहको ब्रतबन्ध गरेर त्यसपछि करिब ११ महिना धार्मिक ग्रन्थ अध्ययन समेत यहीँ बसेर गरेका थिए। शुक्रनीति, कामन्दकीय नीतिका अतिरिक्त रामायण, महाभारत जस्ता धार्मिक ग्रन्थहरू पनि पृथ्वीनारायण शाहले यहीँ बसेर मौखिक शिक्षाका रूपमा प्राप्त गरेको भनिन्छ ।

यो कोटबाट गोरखा दरबार र मनकामना मन्दिर समेत देखिने र उताबाट पनि मैदीकोट देखिएने भएकोले पृथ्वीनारायण शाह पटकपटक मैदी आउजाउ गर्न रुचाउँथे भनेर जानकारहरुले भनेको कथ्य सूनिन्छ । उनको आगमनका घटनाहरूलाई ऐतिहासिक तथ्य र प्रमाणले पनि पुष्टि गर्दछ। यहाँ घोडाले पानी खाने ढुंगाको डुँड,त्यतिबेलाका चौतारी र ठुला ठुला ढुङ्गाका छपनी अझै देख्न सकिन्छ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा आफ्ना भाइभारदारसँग छलफल गर्न यहि ठाउँ प्रयोग गरेको पनि भनिन्छ।मैदीकोटमा बसेर नुवाकोट,काठमाडौं र मकवानपुर आक्रमण गर्ने योजना बनाइएको भन्ने कुराको अर्को प्रमाण कोटबाट नजिक पर्ने डुँडेवारि भन्ने ठाउँमा टुँडिखेल भन्ने ठाउँ अहिले पनि छ। त्यसको वरिपरि ठुला ठुला ढुङ्गाका डुँड अझै भेटिन्छ। टुँडिखेलमा पृथ्वीनारायण शाहका सिपाहीले परेड खेल्ने र नजिकैको कुवामा पानी पिउने तथा घोडालाई तिनै डुँडमा पानी खुवाउने गर्दथे।

अर्को कथन के पनि छ भने पृथ्वीनारायणशाहको विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरीसँग १३ वर्षको उमेरमा भएको थियो । जसबाट गोरखा राज्यले ठूलो आर्थिक सहयोगको आश गरेको थियो । विवाह गरेर दरवार फर्कदा पृथ्वीनाराणशाह एक्लै आएका थिए । उक्त समयमा मकवानपुरमा ‘बढ्या छोरी ज्वाइँको साथ, सानी छोरी आमाको काख’ भन्ने लोकोक्ति प्रचलनमा थियो । त्यसैले छोरीको विवाह गरे तापनि ठूली नहुञ्जेल माइतीमा नै राख्ने अनौठो चलन थियो ।

उता पृथ्वीनारायण शाह महत्त्वाकांक्षी थिए। आफ्नो महत्त्वाकांक्षी पूरा गर्न जे पनि गर्न तयार हुन्थे । त्यसैले पृथ्वीनारायणको ससुरालीसँग पनि ठूलो इख थियो। दुलही लिन मकवानपुर पुगेका पृथ्वीनारायणको जेठान दिग्वन्धन सेनसँग झगडा भएपछि उनी पुनः रित्तो हात गोरखा फर्कन लागे। त्यसपछि मकवानपुरबाट गोर्खा फर्किनेबेला चित्लाङको बाटोहुँदै चन्द्रागिरि भञ्ज्याङ पुगेर त्यतिबेलाको नेपाल राज्य (काठमाडौँ उपत्यका) आँखा लगाए। पण्डितहरू भानु जोशी र कुलानन्द जोशीले पनि पृथ्वीनारायण शाहलाई नेपाल राज्यको राजा हुन उकासे।

चन्द्रागिरीबाट धादिङको जीवनपुर, केवलपुर, गोगनपानी, कटुवालपौवा, कल्लेरिघाट र धादिङकोट हुँदै मैदी पुगेर त्यहीँ बास बसेका थिए । त्यही बेला पाल्पाली राजा गन्धर्व सेनका उत्तराधिकारी छोरा उद्योत सेन तीर्थस्थलको यात्रा गर्ने भन्दै गोर्खा पुगेर गोरखनाथको दर्शन गरे। उद्योत सेन पृथ्वीनारायणका मामा हुन्। पृथ्वीनारायणले मामासमक्ष नेपाल राज्यको राजा हुने मनसुवा प्रकट गर्न मैदीकोट लिएर गए। मामा उद्योत र भन्जा पृथ्वीनारायणले मैदीकोटमै बसेर काठमाडौंको एकीकरण योजना बनाएका थिए ।

मैदीकोट र पृथ्वीनारायणको व्रतबन्ध बारे

मैदीकोट गोरखाका राजा पृथ्वीपतिका साहिँला छोरा दलु शाहले संवत् १७३० तिर स्थापना गरेका हुन् भनिन्छ । गोरखामा युवराज वीरभद्र शाहको स्वर्गे भएपछी राज्यको उत्तराधिकारीमा भाडभैलो मच्चिएको थियो । राजा पृथ्वीपति शाहका छोराहरू दलुशाह र उद्योतशाह गोरखाको राजा हुने प्रयत्नमा थिए। तर, युवराज वीरभद्र शाहका छोरा नरभूपाल शाहको घोषणा भएपछी दलु र उद्योत शाह गोरखाबाट निकालिएका हुँदा मैदीमा आएर बस्न थालेको ऐतिहासिक कुराबाट बुझिन्छ  ।

यिनै दलुशाहको दरबार हाल मैदीकोटमा थियो भनिन्छ । अहिले कायम रहेको खड्गदेवीको मन्दिर दलुशाहको दरबारभित्र नै थियो। मन्दिर छेउमा रहेको पौवा भने जिर्ण भएर अहिले भत्कियो। पृथ्वीनारायण शाहका बुबा नरभूपाल शाहको तीन वटी श्रीमती मध्य जेठी निसन्तान थिइन् । माइली श्रीमती कौशल्यावतीको गर्भबाट ७ महिनामा पृथ्वीनारायण शाह जन्मेपछि उनैलाई राजा बन्ने अवसर जुर्‍यो । पृथ्वीनारायणको जेठी आमाले उनको ब्रतबन्ध मैदीकोटमा गरेर राजा बनाउने मनसाय राखेकि थिइन् पनि भनिन्छ। नरभूपालले माइली श्रीमतीलाई केही समय मैदीमा नै राखेको र पछि मात्रै गोरखा लगेको भन्ने भनाइ पनि छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय