गौर हत्याकाण्डको १७ वर्ष : प्रचण्ड-उपेन्द्रलाई मस्ती,पीडितलाई सास्ती !

शिरज शर्मा

२०६३ साल चैत ७ गते तत्कालीन मधेसी जनअधिकार फोरम, रौतहटले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा रौतहटको गौर स्थित राइस मिल्सको मैदानमा आमसभा गर्दै थियो । भर्खरै जनयुद्धबाट शान्ति प्रक्रियामा सामेल हुँदै गरेक तत्कालीन बिद्रोही माओवादी निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाले पनि सोही स्थान र समयमा आमसभा गर्ने तयारी थाल्यो।

माओवादीले योङ कम्युनिष्ट लिग (वाइसिएल) का कार्यकर्तालाई  चैत ६ मा मकवानपुर र बाराबाट दुई वटा ट्रकमा गौर पुर्यायो । आमसभास्थल राइस मिल्स चौरमा करिब १०० मिटरको दूरीमा उत्तरतर्फ माओवादीले र दक्षिणतर्फ फोरमले आ-आफ्नो सभा स्थल बनाए । चैत ७ बिहान ११ बजेदेखि गौरमा लाठीसहितको जुलुस निकालेर फोरमका कार्यकर्ताहरू नगर परिक्रमा गर्दै आमसभा स्थलतर्फ गए ।फोरमले माओवादी कार्यकर्तालाई मार्ने नै उदेश्य लिएर हुनसक्छ गाउँ गाउँबाट थप कार्यकर्ता बोलायो। जब दुवै समूह आ-आफ्नो कार्यक्रम स्थल पुगे,एक अर्काको मञ्च तोडफोड हुनथाल्यो।एकैछिनमा कार्यक्रम स्थल रणभूमिमा परिणत भयो ।

त्यो समय फोरमका कार्यकर्ता बढी आक्रामक र माओवादी कार्यकर्ता रक्षात्मक अवस्थामा देखिन्थे। त्यत्रो दुई पार्टीको कार्यक्रम हुने ठाउँमा मुस्किलले ८/९ जना मात्र प्रहरी थिए । भिडन्त रोक्न नसक्ने देखेपछि उनीहरू पनि त्यहाँबाट भागे ।त्यसपछि घटनास्थल सुरक्षाकर्मीविहीन बन्यो । त्यसपछि फोरमले भेटेजती माओवादी कार्यकर्तालाई लखेट्दै मार्दै गर्न थाले । जहाँ २७ जना माओवादी कार्यकर्ताको मृत्यु भयो । ५२ जना घाइते भए ।त्यो पासविक र क्रूर नरसंहारमा केहि महिलालाई नाङ्गै पारेर बलात्कार गरिएको र यौन अंगमा उखुको डाँठ घोचेर यातना दिइएको समेत कुरा बाहिर आए। अझै नजिकको मन्दिरमा माओवादी कार्यकर्तालाई काटेर रगतको भोग दिइएको समेत कुरा बाहिर आएका छन् । यसको सत्य तथ्य के हो उनै जानुन।

२०५२ साल फागुन १ गतेदेखी माओवादी जनयुद्ध सुरु भएको हो भने २०५४ देखि मधेसी जनअधिकार फोरम नामक गैरसरकारी संस्था मार्फत उपेन्द्रले मधेसमा राजनीति सुरु गरेका हुन् । त्यसभन्दा अगाडि उनी एमालेमा थिए। पूर्वी तराईमा आफूलाई राजनीतिक रूपमा स्थापित गर्न उपेन्द्रले गैरसरकारी संस्थाको रुपमा मधेसी जनअधिकार फोरम दर्ता  गरेका थिए। पछि त्यसैलाई पार्टी बनाएर अहिलेसम्म सत्ताको भर्‍याङ चढ्दै आएका छन् ।

माओवादी पनि २०६२/०६३ को आन्दोलनपछि शान्ति प्रक्रिया हुँदै खुला राजनीतिमा आएको हो । प्रचण्ड नेतृत्वको माओवादीमा तराईको प्रचण्ड बन्न चाहन्थे मातृकाप्रसाद यादव। उनैको निर्देशनमा गौरमा कार्यक्रम भएको हो। तर,आज गौर हत्याकाण्डको नैतिक जिम्मा न प्रचण्ड-उपेन्द्रले लिन्छन् न मातृकाले । जो मर्‍यो- मर्‍यो कसैलाई कुनै मत्लब नै छैन।

त्यो घटना हुने पुर्व संकेत प्रचण्ड,उपेन्द्र,मातृका वा अन्य तिनका नेताकार्यकर्तालाई पक्कै थियो। एकै मिति,समय र स्थानमा दुई पक्षको कार्यक्रम हुने भएपछि त्यहाँ गडबड हुने नीश्चित थियो । यसैले दुवै पक्षलाई स्थानीय प्रशासनले समय नजुधाउन भन्यो । तर दुवै पक्षले मानेनन् । अन्ततः झडप भयो र २७ जना माओवादी कार्यकर्ता मारिए। अरु ५२ जना घाइते भए। यो बीभत्स दृश्यले धेरैको मन छोयो,तिनका परिवारको बिचल्ली भयो,जनताका छोराछोरी मारिए ।तर,त्यै घटनाका योजनाकार,आयोजक जे भने पनि माओवादी र मधेसी जनअधिकार फोरम(अहिलेको जसपा) ले कुनै दु:ख मानेनन् बरु उल्टै सत्ताको चास्नीमा डुबुल्की मार्दै रहे।

जनयुद्धबाट आएका जनमुक्ति सेनाका सुप्रीमो कमरेड प्रचण्ड र  मधेस आन्दोलनको ठेक्का लिएर बसेका उपेन्द्र यादवको समुह आमनेसामने भएर लडीरहदा त्यसलाई रोक्न नखोज्नु र घटना भएपछि पनि जिम्मा लिन नसक्नु अनि पिडितले १७ बर्ष सम्म न्याय नपाउनु दु:खद पक्ष हो।

आफ्नो क्रान्ति पूरा गर्ने नाममा ‘मर्न र मार्न’ तयार हुने प्रवृत्ति बोकेका यी दुई नेता अहिले सत्तामा संगै छन् । संयोग पनि कस्तो भने अहिले सरकारमा प्रचण्ड प्रधानमन्त्री र उपेन्द्र उपप्रधानमन्त्री छन् । उपेन्द्रलाई बारा-२ को उपचुनाव जिताउन प्रचण्ड हेलिकप्टर लिएरै चुनावी प्रचारमा गएका थिए। तर,त्यही घटनामा ज्यान गुमाएकाको परिवार अहिले पनि न्याय खोज्दै सडकमा रुवावासी गर्दैछन्। उनीहरुको पिडाको आँसु न उपेन्द्रले देख्छन् न कमरेड प्रचण्डले पुछ्न सक्छन् ।बरु त्यसैलाई भजाएर अझैपनी आफ्नो सत्ताको भोक मेटाइ रहन्छन् ।

गौर हत्याकाण्डबारे माओवादी अझैपनी उपेन्द्र वा तत्कालीन फोरमलाई दोषी देख्दैन। उसले त्यसैबेला भनेको थियो- ,‘देशभित्र र बाहिरका वर्चस्वशाली शक्तिहरूले सुविचारित ढङ्गले मच्चाएको नृशंस हत्याकाण्ड हो।’माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यो बेला भनेका थिए-‘गौर हत्याकाण्डको डिजाइनर नेपालको दरबारीया शक्ति र भारतको हिन्दुवादी संगठन हो।’

उता उपेन्द्रले चाहिँ  माओवादी अध्यक्ष प्रचण्डको प्रत्यक्ष इसारामा घटना भएको दोष लगाएका थिए । प्रचण्ड र तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले घटनाको जिम्मेवारी लिनुपर्ने उनको दाबी रहेको थियो।अहिले सत्ताले उनको त्यो बोली फेरिएको छ।

देखाउनका लागि प्रचण्डले ‘गौर हत्याकाण्डपीडित सङ्घर्ष समिति बनाउन लगाएका छन् । त्योसँग सरकारी स्तरमै सहमति गरेर दोषीमाथि कारबाही गर्ने वाचा पनि गरेका छन् । तर,सत्तामा उपेन्द्रलाई उपप्रधानमन्त्री बनाएर बसेका प्रचण्डले पीडितलाई न्याय देलान् ? पत्याउन गाह्रो छ। ‘गौर हत्याकाण्डमा परेका जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा दोषीलाई कानुनबमोजिम कारबाहीको प्रक्रियामा अगाडि बढाउने’ प्रचण्डले यति भनेका छन् । के यो भनाइले पीडितले न्याय पाउने देखिन्छ ? पाए त ठिक हुन्थ्यो । नपाएमा ‘पीडितलाई सास्ती, प्रचण्ड-उपेन्द्रलाई सत्तामा मस्ती !’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय