पाहुनालाई मौलिक स्वाद चखाउँदै ‘मौलिक भान्छाघर’

काठमाडौ । काठमाडौको बुढानिलकण्ठ नगरपालिका-१० कपन,आकाशेधारामा सिन्धुपाल्चोकका युवा सुमन दाहालले एउटा मौलिक भान्छाघरको सपना देखे।त्यहीँ उनको ‘मौलिक बजार’ पनि चर्चामा छ। जहाँ ७५३ स्थानीय पालिकाको उत्पादन एकै ठाउँमा देख्न सकिन्छ।

सिन्धुपाल्चोकका सुमन र मन्डनदेउपुर, काभ्रेकी राधिका ढकाल (जो श्रीमान श्रीमती हुन्) को दैनिकी अहिले ‘मौलिक बजार’ र ‘मौलिक भान्छाघर’मा आउने आगन्तुक अर्थात पाहुनाको स्वागत, सत्कार र उनीहरुसँगै भलाकुसारी गर्दैमा बित्ने गरेको छ। यो दम्पतीले त्यहाँ आउने आगन्तुकहरुसँग ७५३ पालिकाको स्थानीय अर्गानिक उत्पादनको बजारीकरणका बारेमा पनि मीठो बहस चलाउछ्न ।

मौलिक बजार र मौलिक भान्छाघर हेर्न र स्वाद लिन संघीय सरकारका मन्त्रीदेखि प्रदेशका मुख्यमन्त्री सम्म पुगेका छन् । गत माघ १ देखि ७ गतेसम्म यहाँ महोत्सव समेत चल्यो । जहाँ कृषि र पर्यटनबारे थुप्रै बहस,छलफल र भलाकुसारी गरियो। साथमा अर्गानिक स्वादमा ८४ ब्यन्जन खानाका परिकार समेत राखियो।

सूचना तथा संचार प्रबिधि मन्त्री एवं नेपाल सरकारका प्रबक्ता रेखा शर्मादेखि कृषिमन्त्री बेदुराम भुषाल,श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारी,उद्योग मन्त्री रमेश रिजाल,संस्कृति, पर्यटन एवं नागरिक उड्डयन मन्त्री सुदन किराँती,नेपाल उद्योग बाणिज्य महाससंघका अध्यक्ष चन्द्र ढकाल लगायत संघीय र प्रदेशका मन्त्रालयका सचीव एवं विशिष्ट ब्यक्तिले त्यहाँ पुगेर यो जोडीको उर्जा, उत्साह र ब्यबसायलाई हौसला दिइसकेका छन् । सुमन र राधिकालाई थप हौसला थप्ने काममा जमिन बाँझो राख्न हुन्न भन्ने देखि विद्यार्थीलाई ‘पढ्दै कमाउदै’ अभियानमा समेत जोड्दै आएका नारायण सिग्देल पनि साथमा छन् ।

यहाँको मौलिक बजारसंगै मौलिक भान्छाघरले चाहिँ अर्को पनि सुबिधा थपेको छ। त्यो हो राती अबेर सम्म बस्दा कहिलेकाहीँ पाहुनालाई घर फर्किन ढिला भयो भने त्यहीँ बास बस्न समेत पाइन्छ।  बास नै बस्न आउने पाहुनालाई सुमनले कुन प्रदेशको पाहुना हो वा कुन मौलिक संस्कृती अनुसारको स्वाद खोजेको हो त्यै अनुसारको अर्गानिक परिकार बनाएर स्वागत गर्छन् । मौलिक परिकार त्यो पनि ‘सात बार,सात परिकार’ उनको स्लोगन नै छ।

मौलिक बजार र मौलिक भान्छाघरको बिशेषता भनेको नै ‘बसेपनी शहर,गाउँकै खाने रहर’ पूरा गर्नु हो। दाहाल भन्छन्-‘यहाँ आउने जोसुकैले आफुले चाहेको मौलिक परिकारको स्वाद चाख्न र मनपरेको चिज घरसम्म लैजान पाउँछन् ।’ त्यति मात्रै होइन यहाँ लोपोन्मुख अवस्थामा रहेको घट्ट,ढिकी,जाँताे,ठेकी,हलो,जुवादेखि कुटो कोदालो र बन्चरो समेत राखिएको छ। जसले नयाँ पुस्तालाई धेरै कुरा सिकाउछ।

सुमन/राधिकाको मौलिक बजारमा ७५३ पालिका भित्र उत्पादन भएका अर्गानिक कुराहरू हेर्न र किन्न पाइन्छ । यसैगरी मौलिक भान्छाघरमा आफैंले उत्पादन गरेको स्थानीय जातको दाल, चामल, तरकारी, कुखुरा, माछा र मासु जस्ता परिकार खुवाउने गरिएको छ । यसका लागि उनले यहीँ केही जग्गा भाडमा लिएर तरकारी उत्पादन गरेका छन् भने बाकी आफ्नो जन्मथलो सिन्धुपाल्चोकबाट ल्याउने गरेका छन् । दाहालले गाउँका युवालाई पनि अर्गानिक उत्पादनमा जोड दिन सिकाएका छन् ।

उनको भान्छामा पुगेपछि सातै प्रदेशको बिशेषता झल्किने लिम्बु,राई , मगर,तामाङ,गुरुङ,थारु लगायत जात जातिको मौलिक संस्कृतिक र मौलिक परिकारको स्वाद चाख्न पाउँदा पाहुनाहरु खुसी हुन्छन् । धेरैजसोले यो सेवा लिइसकेका पनि छन् ।

अहिले दाहालको मौलिक बजार र मौलिक भान्छाघर आन्तरिक पर्यटकको रोजाइमा समेत पर्न थालेको छ। सुरु सुरुमा काठमाडौ र वरिपरि जिल्लाका मानिस मात्रै पुग्ने उक्त ठाउँमा अहिले पुर्वदेखि पश्चिमका मानिसहरूको चासो बढेको दाहाल बताउँछन् ।उनको कामको प्रशंसा गर्दै स्थानीय तह र प्रदेश सरकार अनि संघीय मन्त्रीहरुले समेत प्रचार गरिदिएका छन् ।

यो ब्यबसायमा जोडिनुमा सुमनको अर्को पनि कथा छ। त्यो हो उनी आयुर्वेदका फाइदा र नेपालमा यसको प्रयोग बारे पनि जानकारी दिन सक्छन् । अर्थात उनले यस बिषयको तालिम लिएपछि नै उनको जिवनको लक्ष्य यता मोडिएको थियो। उनले नेपालमा ८ सय भन्दा बढी (त्यो पनि बहुमुल्य) जडिबुटीहरू सडे-गलेर खेर गइरहेका छन्  र त्यसलाई हामीले सदुपयोग मात्रै गर्दा पनि आर्थिकसँगै नागरिकका स्वास्थलाई जोगाउन सकिन्छ भन्ने कुराको ज्ञान पाए। जसको लागि उनले आयुर्वेदिक हेल्थ असिस्टेन्टको अध्यन समेत गरेका छन् ।

पढाइसंगै सुमनले सुरूमा सौन्दर्यसँग सम्बन्धित आयुर्वेदिक सामग्रीको उत्पादन र विक्री गर्न थाले। साथमा जमिन बाँझो राख्न हुन्न भन्ने अभियान नै लिएर आफ्नो जन्मथलो सिन्धुपाल्चोक जानेआउने गर्दै कृषि उत्पादनमा पनि जोडिँदै गए । उनलाई पछ्याउँदै गाउँका युवाहरू पनि यसैमा लाग्न थाले ।

सुमनले पढ्ने मात्रै होइन पढेको कुरा व्यबहारमै उतार्ने भन्दै सुरु गरेको स्वास्थ्य, सौन्दर्य तथा हर्बलसँग सम्बन्धित सेमिनार र गोष्ठीले बजारमा प्रभाव पार्न थाल्यो र उनले त्यसलाई देशका कुना कुनामा पुर्‍याउने भन्दै ७ वटै प्रदेशमा पुगे । त्यसपछि सुरु भयो उनको ‘फेमिलिएर’ बिजनेस । ‘अदुवा लसुन किन्न नपर्ने, सिलौटोमा पिन्न नपर्ने’ स्लोगन सहित आफ्नो पहिलो उत्पादनलाई प्याकेजिङ सहित बजारमा ल्याएका सुमनले त्यो संगै हर्बल,कष्मेटिक र  भान्छामा आबश्यक मसलाहरु उत्पादन र बिक्री  शुरु गरे।

अर्थ बिटको पत्रकारितामा सक्रिय राधिकाले पत्रकारिता छाडेर सुमनको सोच र सपना पुरागर्न साथ दिन थालिन। त्यसपछि यो जोडीले मौलिक बजार र मौलिक भान्सा घरको परिकल्पनालाई साकार बनाउदै अगाडि बढेका छन् । यहाँ ‘सातै दिन सात बार, सात प्रदेश सात विशेष परिकार भन्ने देखि ‘सात पंक्षी सात स्वाद, सात संस्कृति सात पहिरन, सातै दिन सांस्कृतिक साँझ’ भन्ने श्लोगन सहित कार्यक्रम हुने गरेको छ।साथमा शुक्रबार र शनिवार ८४ व्यन्जनमध्ये १४, २१ र ४२ व्यञ्जनको बुफे समेत चलिरहेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय