नेपालमा धर्म, समाज र सांस्कृतिक राजनीति

चन्द्र पौडेल

धर्मको शाब्दिक अर्थ धारण गर्नु, लिनु, मान्नु वा त्यसको घेरामा रहनु भन्ने हुन्छ। धर्मलाई कुनै वस्तुसँग सम्बन्धित गरेर अथ्र्याउने हो भने यसले त्यो विषय वा वस्तुको गुण वा विशेषतालाई जनाउँछ। जस्तैः पानीको धर्म तलतिर बग्नु, आगोको धर्म तातो हुनु र हिउँको धर्म चिसो हुनु हो। यो भयो, धर्मको वस्तुवादी अर्थ।

धर्मलाई समाज कल्याण र सामाजिक उपकारका कार्यसँग जोडेर पनि व्याख्या गरेको पाइन्छ। जस्तैः पार्टी पौवा बनाउनु, चौतारो बनाउनु, कुवा पोखरी बनाउनुलाई पनि धार्मिक कार्य मानिन्छ। तर आज समाजमा धर्मको नाममा जे प्रचलित छ, त्यो एक प्रकारले कुनै मादक पदार्थभन्दा फरक छैन। यसको मात लागेपछि मान्छे मदहोस हुन थाल्छ अनि भ्रम र यथार्थबीचको पृथकता देख्न छोड्दछ।

विशेषतः समाजमा कथित अवतारी पुरुषहरूको उदय हुन थालेपछि र कुनै खास समुदाय विशेषको आग्रह तथा वर्ग विशेषको स्वार्थ बन्न थालेपछि भएका विश्वका ठूलठूला युद्ध र काटमारहरू धर्मकै आडमा भएका छन्। जुनसुकै धर्म र आध्यात्मिक दर्शनको टेक्ने आधारभूमि तत्कालीन समाज नै हो र ती सबैको सारतत्व अदृश्य शक्तिमाथिको विश्वास नै हो, जसमध्ये बुद्धलाई अपवादमा राख्न सकिन्छ। तथापि तत्कालीन शाकहरूको अत्याचार, शोषण, उत्पीडत तथा समाजिक विसङगतिका विरुद्ध समाज सुधारको उद्देश्यले नै प्राचीन धर्महरूको उदय भएको पाइन्छ। अन्ततः त्यो शासक वर्गको शोषण र शासनको नयाँ औजारबाहेक केही रहेन ।

हरेक धर्माधिकारी एवम् तिनका अनुयायीहरूले आ–आफ्नो धर्मलाई सबैभन्दा बढी शान्ति, अहिंसा एवम् लोकोद्वारक मार्गको रुपमा चित्रण गर्दछन्।

हाम्रो देशमा हरेक व्यक्तिको चिन्तन बेग्लै छ। देश चलाउनेलाई सत्ताको, व्यापारीलाई कालोबजारीको, धनीलाई कस्तो परिकार बनाएर खाने भन्नेको अनि गरीब, निमुखालाई राहतको। यसै बीच देशभित्र एउटा जमात धर्मको महानताको लडाईं जित्न लागि परेको देखिन्छ। थर, रुप, रङ अनि पोशाकको राजनीतिमा तल्लीन छन्।

संसारको उदाहरणीय समाजको विभाजन गर्न लागि परेका छन्। तर वास्तविकता निकै फरक छ। यस्ता विभाजित विचार धेरै पटक तुहिएको छ।

नेपालमा गाई राजनीति ऐतिहासिक रूपमा

राजनीतिमा प्रतीकात्मक कुराको पनि अत्यन्त महत्त्व हुन्छ । अझ पहिचानको राजनीतिमा ती प्रतीकात्मक चिजहरूले सिङ्गो समुदायको पहिचान समेटेको हुन्छ । नेपालमा “गाई” हिन्दुहरूको एक त्यस्तै प्रतीकात्मक चीज हो । ऋग वेदमा चौपाया हत्यालाई अस्वीकार गरेको छैन, गाईलाई अत्यन्त पवित्र र यसको संरक्षण र प्रबर्दनका कुरा गरेको छन् , तर केही विद्वानहरुले हिन्दु वैदिक कालमा गाईको मासु खाने सामान्य कुरा थियो र विशेष बैदिक कार्यक्रमहरूमा गाई, गोरुको बलि दिने चलन थियो भन्ने गरेका छन्।

यद्यपि, पछिल्लो समयमा हिन्दुधर्म अन्तर्गत गाईलाई अत्यन्त सम्मान र पवित्र चीज भनेर पुज्ने गरेको पाइन्छ । सोही अनुरूपमा नेपालमा हिन्दु राज्यसत्ताले गाईलाई कानुनी रूपमा संरक्षित गदै राष्ट्रिय जनावार बनाएको हो । जसको लागी नेपालमा लामो हिन्दु संस्कृतिकरणले निक्कै ठुलो भूमिका खेलेको छ । नेपालमा हिन्दुहरूको प्रवेश तीन चरणमा भएको देखिन्छ, पहिलो चरणमा पहिलो शताब्दी तिर त्यसरी नै दोस्रो चरणमा १२ शताब्दीमा नेपालको पश्चिम क्षेत्र र तेस्रो चरणमा १४ शताब्दीमा हिन्दुहरूको नेपालमा प्रवेश भएको पाइन्छ । नेपालको पश्चिम तीरबाट तिनीहरूको प्रवेश र खस समुदायमा भएको प्रभावलाई हेर्दा पनि यो कुरा पुष्टि हुन्छ । नेपालमा हिन्दूकरणको अभ्यास लिच्छवीकाल र मल्लकालमा बढी संस्थागत रूपमा भएको पाइन्छ । खास गरी वर्णव्यवस्था र सो अनुसारको कानुन कार्यान्वयन कुराहरू नेपाली इतिहासहरूमा पाइन्छ ।

गौ हत्यालाई कानुनी रूपमा निषेध मूल रूपमा १८ औ शताब्दी देखि पाइला चालेको देखन्छ १८ औँ शताब्दी अवधि भरि नेपाललाई एक हिन्दु राष्ट्र बनाउने अभियान तीव्र भयो खास गरी दक्षिण भारतमा गाई खाने विदेशीहरूले शासन विस्तार गरेका थिए, उत्तरमा सुँगुर खाने चीनिया र तिब्बतीहरुको विस्तार थियो । यस्तो अवस्थामा हिन्दुत्वलाई जोगाउनु पर्ने हेतुले नेपाललाई असली हिन्दुस्तान बनाउने अभियानमा पृथ्वीनारयाण शाहले जोडदार भूमिका खेले ।

यस्तो अवस्थामा गोर्खा राज्य नै असली गौ रक्षक हो जसले असली हिन्दुस्तानको निर्माण गर्न सक्छ भन्ने अभिप्रायले उनले नेपाललाई असली हिन्दुस्तान बनाउने कुरा उल्लेख गरेको छ । यो एक राजनीतिक निर्णय थियो । यसलाई अझ मिहिन रूपमा बुझ्न  गोर्खा शब्दको नामकरण तर्फ केन्द्रित हुनु पर्दछ, गोर्खा शब्द संस्कृतको गौरक्षाबाट अप्रभंस हुँदै आएको हो भनेर केही विद्वानहरुले भनेका छन् , जसको अर्थ गाईको रक्षा गर्नु हो, जसलाई हिन्दुहरू पृथ्वीमाताको रक्षा सँग जोड्दछन् । गोर्खाको नामकरणमा योगी गोरखनाथ सँगको कथा पनि जोडिन पुग्छ यद्यपि,  शाब्दीक र व्यवहारिक अर्थलाई हेर्दा गौरक्षाबाट नै गोर्खा भएको कुरा नजिक हुन जान्छ ।

विशेष गरी पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तार गरे पछि जितेको राज्यहरूमा हिन्दु धर्म र संस्कार अपनाउनु पर्ने उर्दी नै जारी गरेको पाइन्छ । सो कुराको विरुद्धमा विद्रोह गर्दा अमानविय पूर्वक दवाई अन्य जाती र समदायको ग्रन्थ, साहित्य इतिहासहरू नष्ट गरेको आज पनि पढ्न पाइन्छ ।

सम्पूर्ण सरकारी कानुन, नियम, आदेश सम्पूर्ण कुराहरू हिन्दु धार्मिक मूल्य मान्यतामा आधारित थिए, त्यसैको एक पक्षको रूपमा गाईको पवित्रतालाई तत्कालीन हिन्दु राज्यसत्ताबाट प्रचार प्रसार गर्ने काम भयो । तर उक्त कुरा नेपालको वास्तविक सामाजिक सांस्कृतिक विविधता भन्दा विल्कुलै विरुद्ध थिए । रामशाहले ९१६०६ –१६३६० मा शाही आदेश मार्फत गौ हत्यालाई बन्देज लगाएका थिए । रामशाहको २६ थितिमा १२ औँ थिति गौचरको विस्तार गर्नु, गाईको रक्षा गर्नु राजाको धर्म हो अन्यथा राजालाई पाप लाग्छ भन्ने कुरा उल्लेख गरेको छ ।

रणबहादुर शाहले आफ्नो कानुनी बन्दोबस्तमा को २२ सवालमा‘‘गौबध गर्याको अम्बालीले जीवै मारिदिनु‘।।भनेको छ । जसले गौवधलाई अझ कठोर सजायको रूपमा लिएको छ । वि।स। १८६२ माघमा योग्या निधि तथा अन्य केही न्यायधिशहरु सोलुखुम्बु तथा पूर्वी पहाडी क्षेत्रमा गौ हत्यालाई निर्मुल गर्न र तत्कालीन राजाको आदेशमा गए ।

मुख्य रूपमा उक्त क्षेत्रहरूमा आदिवासी जनजातिहरूको बाहुल्यता भएको कारणले स्वाभाविक रूपमा गाई गोरुको मासु खाने चलन थियो । तर उनीहरूले फाल्गुण १८६० देखि यता कसैले गौ हत्या गरिए निजलाई शिर छेदन अथवा कैद सजाय हुने व्यवहोरा जानकारी गराए ९रेग्मी रिसर्च रेरिज १० । त्यसरी नै १८६२ मा एक दमाईलाई अत्यन्त निर्दयी पूर्वक मृत्यु दण्ड दिइएको कुरा महेश चन्द्र रेग्मीले रेग्मी रिसर्च सेरिज १० मा उल्लेख गर्नु भएको छ ।

उक्त घटनामा गाई मारेको अभियोग स्थानीय अधिकारीले भने “यसको ढाडको छाला उतारी मासु निकाल, त्यसमा अमिलो चक र नुन मिसाएर दल, निजलाई निजको मासु खान देऊ, अनि मार” । यस प्रकार दण्डको भयले गौ बधलाई निषेध गर्ने प्रयास गरेको देखिन्छ । लिम्बुहरूले थेवा साम्माङ र पुङ साम्माङ -सिकारी_ को पूजा गर्दा गाईको मासु भोग दिने चलन थियो ।

रणबहादुर शाहले लाल मोहर जारी गरी गोबध गर्नेलाई कठोर दण्ड दिने भन्दै प्रतिबन्ध लगाए पछि लिम्बुहरूले थेबा साम्माङ र पिचम्मा साम्माङ गर्दा गाईको बदली राँगो बलिदिन थाले । त्यसको अतिरिक्त लडी मरेका गाईको मासु खानेलाई “म्याग्जीन कर” लगायो । कर तिर्नु पर्ने डरले त्यति बेला नै धेरैले गाईको मासु खान छाडे त्यसरी नै मुलुकी ऐन १९१० मा जंगबहादुर राणाले गोवध गन्र्या ‘महलमा गाई लाई कसैले जानी जानी हतियार चलायो, ज्यू मरेन भन्या, नमासिन्या जातलाई अ‍ैन बमोजिम उसको अंश सर्वस्व गरी छाडि दिनु मासिन्या जातलाई मासि दिनु ‘।यसरी यसले प्रस्ट रूपमा ब्राम्हण र अन्य जातमा विभेद गरेको देखिन्छ साथै संस्कृतिकरण कानुनी रूपमा नै गरेको देखिन्छ ।

नेपालमा पहिलो चोटि हिन्दु अधिराज्यको घोषणा २०१९ सालको संविधानले गरेको छ । त्यसरी नै वि।स। २०२० सालमा नयाँ मुलुकी ऐन जारी गरियो, राजा महेन्द्रले जारी गरेको उत्त ऐनमा गौ बधको कुरालाई बडो चलाखी पूर्वक चौपायाको महलमा उल्लेख गरेको छ उत्त ऐनको चौपायाको महलमा जानी जानी गाई मार्नेलाई १२ वर्ष र वचन दिनेलाई ६ वर्ष कैद गर्नु पर्दछ भेर उल्लेख गरेको छ । उक्त ऐनको नवौँ संशोधन र गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन २०६६ ले समेत यस प्रावधानलाई परिवर्तन गर्न चाहेन । जसको मूल कारण नै राज्यसत्तामा हिन्दु संस्कृतिको बोलवाला कायम रहोस् भन्ने राज्य सत्तामा पहुँच हुनेहरुको हो । यस प्रकार दण्ड तथा कूटनैतिक प्रयोगले नेपालमा गौ बधलाई निषेश गर्ने र गाईलाई साझा धर्मको प्रतीक चिन्ह बनाउने राजनीतिक कार्य भयो । जो एक राजनीतिक हिन्दु संस्कृतिकरण थियो ।

२०४६ साल पछि

२०४६ सालको जन आन्दोलन पश्चात् देशको राजनीतिक वातावरण केही खुकुलो बनेता पनि देश हिन्दु संस्कार र संस्कृतिको प्रभावबाट एक इन्च तल झर्न चाहेन । एक दलीय पञ्चायति व्यवस्थाको विघटन भएता पनि आदिवासी जनजाति, दलित, मुस्लिमहरू प्रति भई रहेको विभेद हटेन, विभिन्न जाती जनजाति र समुदायहरूको विरोध हुँदा हुँदै पनि नेपालको संविधान २०४७ को प्रस्तावनामा नै नेपाललाई हिन्दु राज्य धोषणा ग¥यो भने गाईलाई राष्ट्रिय जनावरको रूपमा उल्लेख गर्यो । त्यसैले सामाजिक र सांस्कृतिक अधिकार विहीनको राजनीतिक अधिकारले मात्र विविधतायुक्त समाजमा न्याय गर्न सक्दैन भन्ने कुरा प्रस्ट पार्यो ।

२०६२/०६३ को जन आन्दोलन पछिको अवस्था

२०६२/०६३ सालको जनआन्दोलन गणतन्त्र उन्मुख मात्र नभएर आदिवासी जनजाति,दलित, मुस्लिम, महिला र पिछाडि पारिएका क्षेत्रका जनताको सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारको लागी गरिएको आन्दोलन थियो । त्यसैले यो आन्दोलन जनताको चेतनाको हिसाबले २०४६ सालको जन आन्दोलन भन्दा प्रगतिशील थियो । सबै भन्दा महत्त्वपूर्ण कुरो नेपाललाई मे १८,२००६ मा पुर्नस्थापित संसद्ले धर्म निरपेक्ष राष्ट्र घोषणा गर्यो । यति हुँदा हुँदै पनि राष्ट्रिय जनावर गाई नै बनार्इयो । त्यति मात्र नभएर नेपाल कानुन संशोधन गर्ने ऐन २०६६ ले मुलुकी ऐन चौपायाको महलमा भएको गौ बध सम्बन्धी कुरालाई परिवर्तन गर्न चाहेन, बरु हिजो कै ब्राम्हणवादी राज्य सत्ताले कायम गरेका प्रावधानलाई अनुमोदन गर्ने काम गर्यो । यसै कानुन अन्तर्गत कृपा भोटेनीको जेल चलान, धनकुटा, सिराहा, नुवाकोटमा गाई मारेका अभियोगमा आदिवासी जनजातिहरू पक्राउ परिरहकेका छन् ।

चर्चहरूको शासन

यी त भए नेपाली समाजमा हिन्दुवादसँग सम्बन्धित भएर मानिँदै र गरिँदै आएका आत्मिक तथा भौतिक आस्था र व्यवहारका कुरा। अब हामी इसाई एवम् इस्लाम धर्ममा प्रवेश गरौँ। त्यहाँ पनि यो भन्दा खासै फरक देखिँदैन। क्राइस्टले तत्कालीन समाजका दास र यस्तै धार्मिक सामाजिक रुपमा शासकीय दमन एवम् शोषणबाट पिल्सिएका मान्छेहरूलाई मुक्त गर्ने उद्देश्यले नै ठूलो वैचारिक संघर्ष गर्दै आत्मबलिदान सम्म गरे।

सत्य, निष्ठा, क्षमा, प्रेम, दया, करुणाद्वारा नै संसारमा सुख र शान्ति कायम राख्न सकिन्छ भन्ने उनको मूल सन्देश थियो। तर, समयक्रममा हिन्दु धर्मजस्तै यो धर्म पनि शासक एवम् धर्मगुरुहरूको शोषण र उत्पीडनको औजार बन्नु अनिवार्य थियो र बन्यो पनि। फलतः यो धर्म पनि झन् नराम्रोसँग हत्या हिंसामा सामेल भयो। इसाको उदयपछि क्रमशः मध्ययुगसम्म आइपुग्दा यसले राज्यमा सामान्य हस्तक्षेपमात्र गरेन, वास्तवमा शासकीय अधिकारमाथि नै प्रभुत्व जमाउन पुग्यो।

चर्चहरू राज्यका संयन्त्रभन्दा अझ बढी भ्रष्ट, अझ बढी सम्पत्तिशाली र अझ बढी शाक्तिशाली बन्दै गए। यसो भनौँ, वास्तविक राज्यशक्ति नै चर्चहरूको नियन्त्रणमा गयो। यसरी धर्मले शासकीय चरित्र ग्रहण गरेपछि त्यो हत्या, हिंसा र रक्तपातमा मुछिनु स्वभाविक थियो। नवौँ शताब्दीदेखि पन्ध्रौँ शताब्दीको अवधिसम्म ग्रीक र ल्याटिन चर्चको बीचमा भएका युद्धमहरू वा युरोप महाद्धीपमा भएका सबै युद्धका चालक र निर्णायक इसाई चर्चहरू नै थिए। यस्तै इसाई र इस्लाम बीचमा भएका युद्धहरू कमका थिएनन्।

अन्तमा

सबै विभेद र सामाजिक समस्यालाई हल गर्दै हामी अझ सहिष्णु, अझ धेरै विज्ञानमा निर्भर समाज निर्माणमा अघि बढौं। यो विषाक्त हावा हाम्रो समाजको सहिष्णुतामा घोलिन नपाओस्। अब सल्किन नपाओस् धरानको झिल्को ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय