चुनावी ओझेलमा दुई संवेदनशील क्षेत्रबारे सरकार उदासीन

मनोज कुमार कर्ण

नेपालमा आसन्न संंसदीय चुनाव २०८२ फाल्गुण २१ गतेकाे महाेत्सवमा सारा देश लागिरहेकाे छ । यहाँ भएकाे जेनजी विद्राेह गत भदाै २३ गते र साे काे बहानामा ताेडफाेड, आगजनी, जानलेवा हमला आदिपछि हुन लागेकाे याे चुनाव असामान्य हाे ।

नेपाली जनताले यस चुनावमा कहाँकहाँबाट परिचालित शक्तिलाई चिन्न सकेनन् भने जेनजी आन्दाेलनकाे नाम भजाएर जाे जसले जेल बाहिर आए, देश खरानी पारे, दिनहुँ आफ्ना आराेपहरू सरकारी संयन्त्रमाथि दबाव बढाएर पखाल्दैछन्, यदि यस्ता कथित् नयाँ, कथित् सुशासन दिने नारावाला दललाई मतदान गरेर सत्ताकाे साँचाे सुम्पिदिए भने याे देश भू-गाेलमा नरह्नपनि अब सक्छ । ती अदृष्य शक्तिहरूले हिजाे जेनजी विद्राेहकाे आडमा भदाै २४ गते तीनजना प्रहरीलाई मारे, आज पर्यन्त आम नागरिकलाई दबाव, मीडियामा प्राेपागान्डा, स्टन्टबाजी आदिबाट प्रभावमा लिने काम गर्दैछन् ।

यस्ताबाट र नयाँ भनेपनि त्यही पदीय भागबण्डामा आफूले नसाेचेकाे मान्छे पर्दा वा, भनाैं आफ्नाे मान्छे नपर्दा प्राज्ञिक क्षेत्र त्रिभुवन विश्वविद्यालय (त्रिवि)समेत अहिले चरम् अशान्त कृत्रिमरूपले पारिएकाे छ ।

याे लेख अहिले चुनावमय नेपालमा प्राय: सबैकाे ध्यान निर्वाचनमा केन्द्रित रहँदा त्रिविकाे अस्तव्यस्त बेहालप्रति सरकारी उदासिनता र नेपाल प्रहरीकाे उच्च मनाेबल बढाउनेप्रति केन्द्रीत छ ।

असुरक्षित त्रिवि र उच्च शिक्षाका पदाधिकारी

हुनत विश्वले भारतमै पनि नालन्दा विश्वविद्यालयमा आगजनी सभ्यताका दुश्मनद्वारा गरिएकाे साक्षी बसिसकेकाे हाे । अन्य देशमा पनि विगतमा युनिवर्सिटिमाथि हमला भए र साथै नेपालमा पञ्चायतमा त्रिविमाथि दरबारीया शासनसत्ताले नियन्त्रण गर्न खाेजे । तर ईतिहास ग्वाही छ कि मानवसभ्यताकाे विकासकाे क्रम न विश्वमा कसैले सदाकाे लागि युनिवर्सिटि बन्द गरेर कहिल्यै गर्नसक्याे, न नेपालमा । हाल सभ्य दाबी गरिएकाे अमेरीकी डाेनाल्ड ट्रम्पकाे सरकारले हार्वडसमेत अन्य युनिवर्सिटिमाथि नै आर्थिक आक्रमण आफ्नाे कुरा युनिवर्सिटिकाे स्वायत्तता र प्राज्ञिक स्वतन्त्रताकाे विपरीत लाद्नखाेज्दा असफल भएकाे छ ।

नेपालकाे आर्थिक सबलीकरणकाे तुलना अमेरीकासँग छैन तर नेपालमा पनि युनिवर्सिटि छ, नेपाल देश बरू अमेरीकाभन्दा पहिला देखि अस्तित्वमा छ अनि नेपालमा पनि मानव सभ्यताका पूजारीहरू छन् । नेपालमा पनि त्रिविलगायत धेरै विश्वविद्यालय छन् तर विगत केही वर्षदेखि त्रिविलगायतकाे अवस्था भागवण्डाकाे राजनीति र त्यसले दलहरूले नसके विद्यार्थी ऊचालेर अभिष्ट पूरा गर्न पछि नपरिरहेका डरलाग्दाे अवस्था विद्यमान छ ।

हालसालै नेपाल संस्कृत विश्वविद्यालयमा भीसि प्राडा धनेश्वर नेपालमाथि आर्थिक अनियमितताकाे आराेपलगाएर भाैतिक आक्रमण भयाे, जबकी भीसि नेपाल त्यहाँ भीसिभएर जाँदा करीब छ: महिना प्रवेश नै उनलाई गर्न दिइएन भने उनकाे स्वभाव र आचरण आर्थिक अनुशासन बिगार्ने छँदैछैन । हाे, उनले आर्थिक अनुशासन बनाइराख्न र युनिवर्सिटिकाे विकास कार्यमा नियमत: र पारदर्शी हिसाबले अघि बढिरहँदा तर कसैलाई आर्थिक चन्दा “सुतेर खाने” परिजीविलाई दिएजस्ताे दिन पूर्ण अस्विकार गर्दा उनमाथि आक्रमण तिनै कथित् विद्यार्थीकाे आवरणमा एकखाले असामाजिक तत्वद्वारा गराइएकाे हाे । त्यस अघि साल २०७१ तिर पाेखरा विश्वविद्यालयमा भीसि प्राध्यापक खगेन्द्रप्रसाद भट्टराई रह्नुहुँदा उनीसहित २३/२४ जनाकाे टीम पूरा युनिवर्सिटिलाई नै भ्रष्टाचारी भनेर एक पूर्व मुख्य सचिव र केही नेताले चाहिएकाे काेर्षकाे सम्बन्धन नियमकानूनलाई तिलाञ्जलि दिएर तत्काल नदिंदा र उनीहरूका मान्छेलाई जागिरमा नहुलिदिंदा मुद्दा खेप्नुपर्याे ।

तर आकाशतर्फ हेरेर फालिएकाे थूक आफ्नै मुखमाथि पर्ने उक्ति जस्तै एक कप चीयासमेत अरूकाे पैसाकाे नखाने मान्छे प्राध्यापक खगेन्द्रप्रसाद भट्टराईले विशेष र सर्वाेच्च दुईटै अदालतबाट टीमसहित नै पूर्ण सफाई पाए । जसले अख्तियारमा रहेर उल्टै शक्तिलाई दुरूपयाेग गरेर निर्दाेषलाई करिब एक वर्ष दु:ख दिए, लाेकमानसिंह कार्की, उनले बरू आफ्नै कर्मकाे स्वभाविक सजाय भाेग्दै सरकार र दलहरूद्वारा पदावधी नसकिंदै लखेटिए ! “सत्यमेव जयते” हमेशा सावित भएकाे छ नेपालमा पनि ।

हाे, त्रिविमा हाल जसरी एउटा विद्यार्थी समूहले शुल्क घटाउनेलगायत केही माग राखेर त्रिवि पदाधिकारीलाई करिब महिना दिनदेखि कार्यालयमा प्रवेश निषेध गरि गत २०८२ माघ २२ गते विहिवार रेक्टर अफिसमा ताेडफाेड, पदाधिकारीहरूकाे फाेटाे टाँसेर अपशब्द लेखे (त्रिवि रजिष्ट्रार कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाकाे भाेलीपल्ट माघ २३ गते शुक्रवार सूचनापनि सार्वजनिक भयाे), याे घट्ना बाहिरबाट सामान्य देखिएपनि हाल देश चुनावमय रहँदा असामान्य हाे ।

विगतमा यहि विद्यार्थी समूह अनेरास्ववियु (क्रान्तिकारी)काे आवरणमा साल २०६६ काे वैशाख ९ गते केही अराजक तत्वले त्रिविका तात्कालीन भीसि प्राडा माधव शर्मा (दिवंगत) र रेक्टर प्राडा सूर्यलाल अमात्य (दिवंगत)लाई बल्खु कुमारी क्लबनेर गाडी घेरेर दुर्व्यवहार गरे तर त्यही पदाधिकारी सेटका माओवादी रजिष्ट्रार प्राडा भीमराज अधिकारीलाई छाेएनन् । त्यसले अपराध कुन दलले विद्यार्थी उचालेर गरायाे, त्याे छर्लंग हुँदा याे स्तम्भकार साे बेला स्वयम्ले नेपाल/त्रिवि प्राध्यापक संघका वर्तमान/निवर्तमान १८-२० जनाकाे टाेलीमा एकल भर्खरका ठिट्टाभएर माओवादी-फाेरम सरकारका मुखिया प्रम पुष्पकमल दाहाल “प्रचण्ड” कहाँ सिंहदरबारमा स्तम्भकारले स्वयम्लाई कालाेमाेसाे दलेर हाथमा मार्कर र डस्टर लिई “हाम्रा फुलटाईमर पदाधिकारी भीसि र रेक्टरकाे याे हालत पारिएकाेले अब चक र डस्टरकाे सम्मान र सुरक्षा गर्नुस्, ज्ञापनपत्र दिएर कार्वाही हाेला भनेर हामीलाई विश्वास छैन” गएर दिएकाे थियाे। साे बेलाका गृहमन्त्री वामदेव गाैतमलाई प्रम प्रचण्डले सिंहदरबार सगरमाथा भेट्ने हलबाटै “मलाई कहिंकाे पनि छाडेनन् यी केटाहरू, जुन दलका भएपनि घिसार्दै भित्र काेच्नुस्” भन्न बाध्यभएकाे सम्झन्छु ।

आज दुर्भाग्य, उनै प्रचण्डले साल २०८० काे फाल्गुणमा ईतिहासमा पहिलाेपटक विज्ञापनद्वारा त्रिविमा भीसि प्राडा केशरजंग बराललाई नियुक्त गरेकाे र उनी भीसि बरालकै च्वाेइसमा विज्ञापनबाट नियुक्त रेक्टर प्राडा खड्ग केसी र रजिष्ट्रार प्राडा केदार रिजाल नियुक्त हुँदा भीसि बरालले काम गर्न नसकी हिंड्नुभयाे । अब त्यही माओवादी दलकाे नाम र संरचना बदलेका नेकपाका संयाेजक र सहसंयाेजकद्वय क्रमश: प्रचण्ड र माधव नेपाल अनि अनेरास्ववियु (क्रान्तिकार)लाई विज्ञापनका यीनै नियुक्त पदाधिकारी मन नपरेका हुन् ! सवाल छ, किन ? के भयाे त्यस्ताे ? तपाईंका नियुक्त भीसिले कि अन्फेवरेब्ल समयमा पनि काम गरेर टिक्नसक्नु पर्थ्याे ।

हैन, उनले लाेकतन्त्रमा स्वेच्छा अनुसार घर जाँदा अब त्रिविमा भागबण्डा पुर्याइदिनलाई अन्य काेहि पदाधिकारीले राजीनामा गरिदिनुपर्ने ? यदि तपाईं प्रचण्डले यति घुमाउराे ईन्ट्रेस्ट त्रिविमा रास्वपासँग राख्दै डिक्टेट नै गर्ने ईच्छा देखाईरहँदा शक्ति र क्षमतापनि राख्नुहुन्थ्याे/हुन्छ भने तपाईंका भीसिलाई असहयाेग गरि राजीनामा गर्न बाध्यपार्ने पछिका कुलपति/प्रम केपी ओलीसँग कुरा गर्नसक्नुपर्थ्याे नि ? जहाँ जे गर्नुपर्ने, त्याे नगर्ने अनि त्रिविमा विद्यार्थीलाई कथित माग राखेर उचाल्ने नैतिकतामा पर्छ त ? याे राजनीतिक हस्तक्षेपले त्रिविकाे स्वायत्तता र प्राज्ञिक स्वतन्त्रता, उच्च शिक्षाकाे यहाँ भविष्य कहाँ पुर्याउलान् ? के यस्तै “दलीय विचार”ले लैस गरेर तपाईंले आफ्ना नियुक्तिधारी त्रिविका अनुगमन, अन्यतर्फ र देशभरी पठाउनु हुन्छ ? देश बन्छ यसरी ? के काे नयाँ तपाईंहरू नेकपा-प्रचण्डहरू ? तर, दुर्भाग्य कि त्रिवि, नेसंविलगायत अन्य क्षेत्रमा देखिएका विकृतिप्रति सरकारले सकारात्मक, सहज र सामान्य अवस्था बनाउन हस्तक्षेप गर्नुपर्नेमा चूप्की साँधेकाे छ र, साथै कुनै स्थापित भनाउँदा ठूला सञ्चारगृहकाे पनि ध्यानगएकाे छैन ।

अभिभावकत्वकाे पर्खाईमा नेपाल प्रहरी

त्रिविजस्तै सरकारी बेवास्ता र खस्केकाे मनाेबलमा काम गर्नुपरिरहेकाे अर्काे संस्था हाे, नेपाल प्रहरी हाल । जेनजी आन्दाेलनकाे भाेलीपल्ट भदाै २४ गते स्वार्थी तत्वहरूकाे ताेडफाेड, आगजनी, कैदी भगाउने, जेल ताेड्ने, देश-सिंहदरबार जलाउने, काँग्रेस सभापति शेरबहादुर देउवाकाे अन्य मान्छे र व्यापारीकाे झैं घरमा आगाे लगाएर जानलेवा हमला गर्ने जस्ता राज्यद्राेह, आतंक र विध्वंशात्मक कार्यहरू गरिए । त्यसमा कतिपय निर्दाेष नागरिकपनि मारिए, जाे भाटभटेनी सुपरमार्केटलगायतमा कार्यरत्त थिए, बाटामा हिंड्दै थिए ।

त्यहि क्रममा आतंककारीहरूकाे समूहले काेटेश्वरमा नेपाल प्रहरीकाे सहायक हवल्दार अमृत गुरूङकाे ज्यान लिए भने महाराजगञ्ज प्रहरी वृत्तमा कैदीलाई सुरक्षा दिइरहेका असई मिलन राय र प्रहरी जवान उत्तम थापालाई हत्या गरे । पछि जेनजी आन्दाेलनकाे छानबिन गाैरीबहादुर कार्कीकाे नेतृत्वकाे आयाेग, कार्की स्वयम् आन्दाेलन पक्षधर भई सामाजिक सञ्जालमा खुलिसकेकाले निष्पक्ष छानबिनमा शंकारहँदै, उक्त आयाेगले प्रहरी नेतृत्व, गृहमन्त्री र तात्कालीन प्रम, सीडियाे आदिलाई बयानमा बाेलायाे । तर पूर्वाग्रहराखेर कार्की आयाेगले भने सिंहदरबार जलाउने, प्रहरीलाई मार्नेहरूलाई बाेलाएन र गृहमन्त्रीले प्रहरीले समातेकालाई पनि छाेड्न बाध्य पारे ।

दुनियाँले जेनजी विद्राेहमा देखेका तीता सत्यहरू प्रहरीकाे हकमा के कस्ता थिए भने प्रहरीसँग पानीकाे फाेहरा फाल्न पर्याप्त पानी, सवारी साधन केही थिएन । आन्दाेलनकर्मीकाे आडमा आतंककारी गतिविधि अनियन्त्रित भई देश जलाउने, मान्छे मार्ने, सम्पत्ति ताेडफाेड गर्नेमाथि ब्याटल गरि आत्मसुरक्षाकाे लागि प्रहरीसित हथियार थिएन, जबकी आतंककारीसँग अमेरीकि पिस्टल, अमेरीकि राईफल र ईन्सास राईफलहरू थिए ! नेपाल प्रहरीसँग नहुने हथियार कथित् आन्दाेलनकर्मी तर वास्तवमा ती आतंकवादीसँग कसरी रहे ? त्यस अवस्थामा नेपाल प्रहरीले सशस्त्र प्रहरीसँग ब्याकअप माग्दा ब्याकअप नदिने कसरी बनाइयाे ? कसले ब्याकअप नदिनलाई सशस्त्रलाई अर्डर दियाे ? सेना स्वयम्ले सिंहदरबार, संसद, बालुवाटार, शितलनिवास, अदालतहरूलाई जल्नबाट मूकदर्शकभई बचाउन नसकेकाे तर त्यही सेना शितल निवासनेर कै निर्मल निवास (पूर्वराजा ज्ञानेन्द्र शाह)काे घर जाेगाउन केही प्रयासै गर्नुपरेन, आफैं जाेगियाे, कसरी ? यी प्रश्नहरू सामान्य न हिजाे थए, न आज छन् !

सरकारबाट निष्पक्ष अभिभावकत्वकाे भूमिका

जेनजी विद्राेहकाे आडमा रास्वपाका सभापति रवि लामिछाने जेलबाट हात हल्लाउँदै बाहिरिए, हाथले ईशारागर्दै बम फाल्न समर्थकलाई भनेका सबै कुरा भीडियाेमा देख्न सकिन्छ । उनले त केहीपनि सत्य छैन नै भन्छन् । तर जनताले के देख्दै छन् भने जेनजी आन्दाेलनपछि भदाै २७, २०८२ मा बनेकाे सरकारमा प्राय: सबै रास्वपाका मान्छे देखिए । कति बालेन्द्र साहमार्फत् सरकारमा गएपनि स्वयम् साह नै रास्वपाबाट हाल चुनावी उम्मेद्वार छन् भने चारजना मन्त्रीले नै राजीनामा दिई कतिजना रास्वपाकाे टिकटबाट उम्मेद्वार छन् भने कतिले रास्वपामा गएपनि बस्न नसकेर कुलमान घिसङहरू उज्यालाे नेपाल पार्टीबाट चुनावमा छन् ।

याे लेख राजनीतिक नभएर सरकारकाे उचित अभिभावकीय ध्यानाकर्षण त्रिवि, नेसंविलगायत उच्च शैक्षिक थलाे र नेपाल प्रहरीकाे मनाेबल उठाइराख्नलाई गम्भीररूपमा गराउनलाई हाे । प्राध्यापक, शिक्षक, बुद्धिजीविपनि यस देशका एक सजग नागरिक हुन्, संविधानले मतदानकाे अधिकार दिएकाे छ र मतदान गर्ने कार्य बिना छलफल चुपचाप हुँदैन । र, सरकारले खबरदार, तिमिहरू बाेल्न पाउँदैनाैं, आचारसंहिता उल्लंघन गर्न पाउँदैनाैं भनेर संवैधानिक हकमाथि गलतढंगले मुख थुनेर बाठाे बनेर आफ्ना उम्मेदवारहरूमात्रलाई जिताउने गरि गतिविधि गर्न मिल्दैन । कि शिक्षक, प्राध्यापक नागरिक हाेईनन्, भाेट नहाल भन्नुपर्याे ! यदि हैन भने सहिरूपमा स्वभाविकरूपमा चुनाव हाेस्, देश बचाउने चुनाव हाेस् केवल सरकार बनाएर देश विकास गर्ने खालकाे र सरकारले प्रहरी र त्रिवि, नेसंविलगायतकाे अवस्थामा सार्थक पहल सबैले प्रभावपरेकाे जस्ताे गराेस् । यी कुराहरू नहुँदा असम्वेदनशील सरकारकाे ध्यानाकर्षण युनिवर्सिटिले गराइरहन्छ, याे वैश्विक अभ्यास नै हाे ।

(उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढाेका, ललितपुर)

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय