संसद पुनःस्थापना संभव छ ?

काठमाडौं । बिघटित प्रतिनिधि सभा ब्युँताउन नेकपा एमालेले अगुवाइ गरेको छ। आफ्ना निवर्तमान सांसदहरूलाई हस्ताक्षर गराएपछी कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न पुग्दा एमाले अध्यक्ष केपी शर्मा ओली उत्साही थिए। तर,देउवाले त्यति धेरै उत्साहित नहुन सुझाएपछी अहिले एमाले पनि चुनावी प्रक्रियामा सहभागी भैरहेको छ।

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागी कांग्रेस र एमाले सहित ६४ दलले समानुपातिक उम्मेदवारको सूची समेत बुझाइसकेका छन् । उता अदालतमा कांग्रेस र एमाले सहित केही साना दलका निवर्तमान सांसदहरूले हस्ताक्षर गरेर संसद पुनःस्थापनाको ‘ढोक्सा’ पनि थापेका छन् । अहिले मुख्यतः एमाले नेतृत्व चाहिँ ‘जता भत्क्यो उतै दैलो’ भनेर दुई डुंगामा खुट्टा राखेर सवार छ। संसद पुनःस्थापन भए पनि हामीले गर्दा भन्ने र चुनाव हुँदा पनि हामीले गर्दा भन्ने जस लिने दाउमा एमाले नेतृत्व देखिन्छ।

फागुनको चुनावलाई लक्षित गर्दै सरकारले धेरै तयारी अघि बढाइरहेको छ भने निर्वाचन आयोगले पनि अब समानुपातिक मतपत्र छपाईको काम सुरु हुने भनिसकेको छ। सेना परिचालन,म्यादी प्रहरी भर्ना,निर्वाचन आचारसंहिता जस्ता कुरामा समेत सरकारले गृहकार्य गरिरहेको छ। देशव्यापी चुनावी माहोल बन्दै गईरहेको भएपनी एमाले अध्यक्ष ओलीले अझै पनि अदालतले परिस्थिति र व्यवहार हेरेर संसद पुनःस्थापनाको निर्णय लिनुपर्ने र लिन्छ भनिरहेका छन् । चुनाव आउन ६२ दिन मात्रै बाँकी हुँदा एमाले नेतृत्वको यो भनाइमा केही न केही रहस्य लुकेको अनुमान पनि गरिएको छ।

केहीदिन अघि प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल रूपमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले देशमा लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्ने क्रम योजनाबद्ध रूपमा अघि बढाइएको आरोप लगाए । ‘जनताबाट निर्वाचित सरकार ढालिनु भनेको लोकतन्त्र र संविधानमाथि सिधा आक्रमण हो,’ ओलीले भने, ‘यसले जनताको सार्वभौम अधिकार कुण्ठित बनाउँछ ।’ ओलीको यो भनाइमा पनि संसद पुनःस्थापना सहित आफुहरु पुनः सत्तामा फर्किने मनस्थितिको नै प्रतिनिधित्व गर्दछ।

ओलीले अझै डरलाग्दो तरिकाले यो पनि भने,-‘नेतामाथि झुटा मुद्दा थोपर्ने, समाजमा अशान्ति फैलाउने, लुटिएका हतियार फिर्ता नहुने अवस्था, जेल तोडेर भागेकालाई अगाडि सार्ने प्रयास र बुथ कब्जाजस्ता गतिविधि भए भने त्यस्तो निर्वाचन लोकतन्त्रको आवरणमा गरिएको नाटक मात्र हुनेछ ।’

अरु दलभित्र संसद पुनःस्थापनाको कुरामा त्यतिधेरै बहस नभएपनी एमाले भने पुनःस्थापनाकै पक्षमा जोड गरिरहेको छ।तर,एमालेले भनेजस्तो अब संसद ब्यूँतिने संभावना टर्दै गएको छ। देश चुनावी बाटोमा अघि बढ्दा सरकार र दलहरू समेत चुनावी  गतिविधिमा संलग्न देखिएका छन् । नयाँ र वैकल्पिक शक्ति भन्नेहरूलाई छिटो चुनाव चाहिएको छ। कतिपय दलले आगामी प्रधानमन्त्री समेत घोषणा गरेर अघि बढेका छन् ।

अर्कोतिर संसद पुनर्स्थापनाको कुरा गर्ने दलहरु नै समानुपातिक सूचि बुझाएर प्रत्येक्षको लागी जिल्ला जिल्लाबाट उम्मेदवार सिफारिस गराइरहेका छन् । नेकपा एमाले सबैभन्दा बढी संसद पुनर्स्थापनाको वकालत गरिरहे पनि अध्यक्ष ओलीकै सचिवालयले पार्टी अध्यक्ष कमरेड ओली झापा-५ बाट एकल उम्मेदवार सिफारिस भए भन्दै मिडियामा समाचार दिइरहेको छ। त्यसो त एमालेले देशैभर चुनाव लक्षित गतिविधि तिव्र पारिरहेको छ।सबैजसो जिल्लाबाट उम्मेदवार सिफारिस भैसकेको अवस्थामा टिकट कसलाई दिने भनेर पार्टी नेताहरू रस्साकसी गरिरहेका छन् ।अझै पुराना शक्तिहरु कांग्रेस,एमाले र नेकपा बीच चुनावी तालमेल समेतको छलफल चलिरहेको छ। त्यसैले पनि संसद पुनर्स्थापनाको कुरा गर्नेहरु अब ब्याक भैसकेको बुझ्न सकिन्छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय