निधिकाे त्याे कुरा, जुन महामन्त्रीद्वयले बुझ्न चाहँदैनन्
मनोज कुमार कर्ण
नेपालमा जेनजी विद्राेह पश्चात् निर्मित् सुशिला कार्कीकाे अन्तरिम चुनावी सरकारकाे एकमात्र म्यान्डेट नै प्रस्तावित मिति २०८२ फाल्गुण २१ गते देशमा आम संसदीय निर्वाचन गराएर नवनिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु हाे । सरकार बनाइने बेला मीडियामा कुरा आइरहेकाे अनुसार कार्कीले राष्ट्रपतिजीलाई छ महिनादेखि एक वर्षभित्र चुनाव गराउने अनाैपचारिक कुरा गर्नुभएर नै जानीजानी छ महिनामा फाल्गुण २१ गते चुनावकाे मिति ताेकिएकाे हाे ।
अर्थात्, फाल्गुण २१ गते चुनाव सम्पन्न नै हुनेछ भनी सरकार नै पूर्ण मनसाय बनाइसकेकाे छैन तसर्थ, कहिले वैशाखमा चुनाव गराउने भनेर घुमाउराे अनाैपचारीक प्रस्ताव सरकारले गर्ने भने दल दर्ताकाे म्याद छाेटाे भयाे भनेर म्याद बढाइएकाे तालिकाका कुराहरू आइरहेका छन् ।
यद्यपी, सरकार समयमा नै चुनाव सम्पन्न गराउने भनिरहेकाे याे बेग्लै कुरा भयाे, तदनुसारकाे तयारी गरिपनि रहेकाे र एमालेलगायत लाेकतन्त्रमा विश्वास गर्ने सबै दलहरूले भाग लिने गरि दल दर्ता गराएका छन् । यस सरकारलाई सडक र मीडियामा देखिने, सुन्ने गरी चुनाव हुँदैन, याे-याे माग पूरा नभए हुन दिन्नाैं भन्ने अवराेधक मेडिकल व्यवसायी तथा बैंक डिफाैल्टर दुर्गा प्रसाईं र जेनजी विद्राेहका स्वघाेषित् नायक गैह्रजेनजी सुदन गुरूङ हुन्, जसमध्ये गुरूङले नै सरकारलाई टेवा दिएकाे हाे । प्रसाईं र गुरूङमा समानता भनेका यीनिहरू हाल दलविहीन र सडकमा अदृष्य भएपनि ताेडफाेड, आगजनी, हिंसा गराएर जनतामा त्रास उत्पन्न गराएर सत्तालाई चुनाैती दिने हुन् ।
याे लेख भने सरकारकाे यहि कमजाेरीलाई टेकेर आऊने फाल्गुणमा यदि सरकारले चुनाव गराउन सकेन भने काँग्रेस, नेपालकाे एकमात्र पूर्ण मानककाे लाेकतान्त्रिक वैश्विक मान्यता पाएकाे दल, ले महाधिवेशन र देशकाे चुनावबारे के कस्ताे निर्णय लिंदा राम्राे हुने; यदि गाम्भीर्यतालाई विचार गर्ने हाे भने काँग्रेसकाे महाविधेशन आम चुनाव अघि गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा वा चुनावपछि मात्र महाधिवेशन गर्ने भनेर पूर्व उपसभापति विमेलेन्द्र निधि र पूर्व महामन्त्री कृष्णप्रसाद सिटाैलामध्ये कुन विचारले लाेकतन्त्र र काँग्रेसलाई फायदा पुर्याउने, र विमलेन्द्र निधिमाथि लाग्दै आएका अनर्गल आराेपहरूबारे सत्यता के हुन्, त्याे एऊटा युनिवर्सिटि र प्राध्यापककाे नजरमा लाेकतन्त्र र व्यवस्था जाेगाएर भविष्य अगाडि बढाउने साेचमा प्रकाशपार्न उद्देश्य राखेकाे हाे ।
हाल देशकाे अवस्था
माथि भर्खर केही उजागर गरिए अनुसार नेपालमा याे कार्की सरकारले फाल्गुण २१ गते चुनाव गराउनलाई दुईटा तगाडा (अवराेधक) भेट्नुपर्ने एक राजावादी आडमा बैंक डिफाैल्टर दुर्गा प्रसाईं र गैह्रजेनजी तर जेनजी समूहमा पकड जमाएका कार्की सरकारकै एक आधारशिला सुदन गुरूङ हुन् । प्रसाईं वर्तमान संविधान र व्यवस्थाका बाहिरी विराेधी हुन् तर वास्तवमा उनी कसैकाे पनि मान्छे हाेइनन्, कुनै राष्ट्रियता उनमा छैनन् अपितु जसले उनकाे ऋणभार हटाइदिने गलत आश्वासन दिनेछ, त्यहि व्यवस्था र उसैकाे हुनेछ । उनमा विचार परिवर्तन मान्छेले लुगा फेर्ने जतिकै सजिलाे छ । यस्ताे मान्छेलाई राज्यले नियन्त्रण गरेर चुनाव सम्पन्न गराइ लाेकतान्त्रिक पटरीमा देशलाई राख्न समस्या छैन । यसमा सरकारकाे आफ्नाे दृढता, डिल गर्ने क्षमता, कला, नियन्त्रण शक्ति र स्वयम्मा उच्च नैतिकता, जनतामा झूठकाे पर्दाफास गर्ने तरीका आदि हुँदा पुग्छ ।
सरकारकाे चुनाव गराउने अजेण्डामा अर्काे अवराेधक आफ्नै मान्छे भने चुनाैतिदिने खालकाे छ, सुदन गुरूङ । गुरूङले जेनजीकाे माग पूरा नभए चुनाव हुन दिन्नाैं भन्छन् मीडियामा । जेनजी वा, यस्ता गैह्रजेनजी फँसेका छन् आफ्नै अधैर्यता, जिद्दीपन र अदूरदर्शिताले गर्दा । भदाै २७ गते कार्की सरकार बन्दा संविधानलाई त जेनजीहरूले टेके तर संविधानकाे विपक्षमा उभेर बिघटन गराइहाले । यदि आज संसद भएकाे भए संसदबाट धेरै माग पूरा हुनसक्थ्याे । यहि संसदबाट राष्ट्रपतिले सुशिला वगैरहलाई मनाेनित गरेर र मनाेनितले पनि प्रम आपतकालमा एकचाेटीकाे लागि बन्नपाउने गरि संविधान संशाेधनबाट बाधा अड्काउ फुकाउ गर्न पाएकाे भए जेनजीका लाेकतान्त्रिक र जायज धेरैजसो मागहरू सजिलै जायजरूपमा नै पूरा हुनसक्थ्याे । जेनजी विद्राेहपछि श्रीलंकाले यहि माेडल सरकार बनाउन संविधान र संसदलाई टेकेर अपनायाे र देश शान्ति र विकासकाे पथमा छ तर नेपालले सडकबाट टिपेर बंगलादेशमा पाकिस्तानकाे दबावमा माे. युनुसकाे टप्परटुइयां सरकार बनाए जस्ताे नेपालमा पनि अराजकता भाेली गर्न मिल्नेगरी पाकिस्तानकै दबावमा (मेयर बालेन्द्र साहकाे जिद्दमा) बनाइयाे ।
यदि नेपालमा श्रीलंकवाला त्यस्ताे संवैधानिक र संसदबाट सरकार बनाइएकाे भएकाे अवस्थामा गुरूङ वा जेनजीहरूले हाम्रा माग पूरा गरेर मात्र चुनाव गराउ सरकार भन्न मिल्थ्याे, अब भने स्वयम्काे गल्तिले देशलाई चुनाव हुन दिन्नाैं भनेर बन्धक बनाउन हुन्न, पाईंदैन, बन्धक बनाए राज्यले यस्ता “अवराेध” पन्छाउन एक्शन लिनुपर्छ । अत: याे सरकारले प्रस्तावित मिति फाल्गुण २१ गते चुनाव गराउन सुदन, बालेन्द्रहरूलाई फकाउन, सम्झाउन वा गलाउन समय लिनसक्ने भएकाे र तबसम्म मिति ताेकेर ब्यालेटमा दल, स्वतन्त्र र तिनका चुनाव चिन्ह छापेर अर्बाैं रूपैयाँ मतपत्र खेर जानेजस्ताे रिस्क लिने अवस्था नरहेकाेले वस्तुत: र वैज्ञानिक ढंगले साेच्ने हाे भने हालकाे मितिमा चुनाव हुँदैन । यद्यपि याे स्तम्भकार वर्तमान संविधान, व्यवस्थाप्रति कट्टिबद्ध रहेकाेले सरकारकाे चुनाव गराउने महाेत्सवमा हमेशा सहयाेग नै गर्ने हाे, माथिकाे विश्लेषण एक नेपाली सचेत जनता र प्राध्यापकीय दृष्टिले गर्दा हाे ।
निधि र सिटाैला बनाम् महामन्त्रीद्वय
नेपाली काँग्रेसकाे पन्ध्राैं महाधिवेशन आम चुनाव २०८२ फाल्गुण २१ गते अघि गराउने विचार महामन्त्रीद्वयकाे छ भने पूर्वगृहमन्त्रीद्वय रहिसक्नुभएका पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटाैलाहरूकाे चाहिँ चुनावपछि मात्र गर्ने रहेकाे छ । सबै विचार याेग्य छन्, तर्कपूर्ण छन् तर हाल देशकाे अवस्था असामान्य रहेकाेले काँग्रसलाई जेनजीका जायज र लाेकतान्त्रिक माग समेटेर जेनजीलाई समेट्नुपर्ने, काँग्रेसलाई समयसापेक्ष दल बनाई कम्युनिस्ट ध्रुवीकरणलाई काउन्टर दिई सशक्त र मियाे पार्टी बनाउनुपर्ने, काँग्रेसलाई फुट्न दिने नभई एक ढिक्काले राख्नुपर्ने आवश्यकता छन् । तर चुनाव नै फाल्गुण २१ गते हाेला कि नहाेला भन्नेमा सरकार स्वयम् अलमलमा माथि वर्णन गरिए झैं अवस्था छ, याे कुरा काँग्रेसका पदाधिकारीले राम्ररी बुझ्नै पर्छ ।
महामन्त्रीद्वयलाई लागेकाे हाेला जेनजी भनेकाे मेयर बालेन्द्र साह र सुदन गुरूङलाई व्यक्तिगत सम्पर्कले जाेड्दा काँग्रेस विजयी हाेला, म जितुँला । तर एकाधजनाले जित्दैमा र पार्टी २०७४ सालकाे जस्ताे वामपन्थी षड्यन्त्रकारीहरूले आपसमा क्षणिक वर्षका लागि मिलिदिएर सत्ता कब्जा गरिदिए झैं अब जेनजीहरूले पाँच-दस सिट काँग्रेसी केही नेतालाई दिने वचन दिएर बाँकी पाकिस्तानी वा, अमेरिकन लब्बीवालाहरू साह र गुरूङले जितेर नेपालकाे संसद, सरकार सबै कब्जा गरिदिए के हुन्छ ? तसर्थ, एकाधजनाकाे चुनावमा जीतकाे लागि सिङ्गाे काँग्रस र नेपालकै लाेकतन्त्र र भविष्यलाई जूवाकाे जस्ताे दाउमा राख्न सकिँदन, मिल्दैन पनि ।
पूर्वउपसभापति निधि र सिटाैलाकाे भनाइ यहि हाे कि कम समय रहेकाले काँग्रेसकाे सम्पूर्ण शक्ति हाल एक्यबद्ध भई आमचुनावमा लाग्नुपर्छ अनि चुनावपछि जसले जुन पद महाधिवेशनमा जितेपनि भैगाे । यी दुई पूर्वपदाधिकारीमाथि चुनाव जित्न नसक्ने, सभापतिले मनाेनित गरि केन्द्रीय सदस्य र समानुपातिक सांसद बनाइदिएकाे र अबपनि हार्ने डरले आफ्ना भविष्य सुनिश्चित गर्नलाई सभापति शेरबहादुर देउवाकै हाथबाट चुनावमा टिकट वितरण गराई पछि महाधिवेशन पनि गराउने भनी आराेपहरू लागिरहेका छन् । धेरैले अपशब्दपनि बाेल्छन्, लेख्छन् तर संस्कारित र पुराना दलका कार्यकर्ताबाट यस्ताे अपेक्षा गरिंदैन । र, परिस्थिति बुझेर मात्र अगाडि बढ्नुपर्छ नत्र काँग्रेस अहिले चुनाैती नै चुनाैतीका माझ उभेकाे छ ।
काँग्रेसमा हाल सभापति देउवामा भदाै २४ गतेकाे जेनजीकाे नाममा घूसपैठियाद्वारा आक्रमण र आगजनी हुँदा तर भ्रातृ र शुभेच्छुक संस्था कसैलेपनि नबाेल्दा अब वैराग्य उत्पन्न भएर उनले यथाशीघ्र बहिर्गमन चाहेका हाेलान् । उनकाे फेवर पाउनलाई डा. शेखर काेइरालाले नियमित अधिवेशन, चुनाव अघि, देउवाकाे मनमा पाप छैन आदि बाेलेका हाेलान् । त्यसैगरी स्वयम् महामन्त्रीद्वयले पनि सभापति देउवाकाे निकटमा नै रहेर पछिल्ला समय बिताए, उनकाे फेवर नै पाउनलाई । यस्ताेमा “सात भाइ” भनेर जसले आजकाे सभापति र पाँच चाेटी प्रधानमन्त्री बनाए, खासमा निधि र सिटाैला । उनीहरूलाई देउवाकाे फेवर लिन खाेजेर महाधिवेशन भाँड्ने भनेर सराप्नु वा सराप्न लगाउनु कसैबाट नै संस्कारकाे कमी, दिमागी दिवालियापन र चरम् हमत्त्वाकांक्षा पलाएर भलै पार्टी भांडमा जाओस् तर मैं सभापति वा प्रधानमन्त्री तत्काल खाेसिलिऊं नै कुरा हुन् ।
वास्तवमा वैज्ञानिक ढंगले साेच्ने हाे भने निधिकाे कुरा चुनावपछि मात्र काँग्रेसकाे महाधिवेशन गर्ने यस कारण हाेला । चुनावमा जाँदा पार्टीमा एक ढिक्का हुन जरूरी छ, जुन महाधिवेशनबाट मनमा चिरापार्छ । दाेस्राे, याे चुनावमा काँग्रेस न केवल ठूलाे पार्टी भएर जित्नैपर्छ अपितु, जेनजीका जायज लाेकतान्त्रिक मागहरू समेटेर देशकाे संविधान र लाेकतन्त्र जाेगाउनु छ । यदि फाल्गुणमा वा सारेपनि मानाैं वैशाख २०८३ मा चुनाव सम्पन्न भए, चुनावसम्म जेनजी धेरैका सहायक दल लाेकतान्त्रिक काँग्रेस नै हुनेछ । उनीहरू कसैकसैकाे प्रत्यक्ष कार्यकारी राष्ट्रपतिवाला माग न हाल पूरा हुन सक्छ, न जेनजीहरू यस्तै अवस्थामा देश-विदेश जहाँका मतदाता संख्या बढाएपनि दुई-तिहाई सिट संसदमा ल्याउने आकारमा जितेर भाेली पूरा गर्न सक्छन् । अतिवादी वामपन्थीहरूपनि यस मागमा निर्णायक मत ल्याउन सक्दैनन् । यस्ताेमा देश यदि शीघ्रातिशीघ्र चुनावमा गयाे भने काँग्रेेेसले देशकाे शासकीय प्रणाली र संसदीय माेडेल जाेगाउने मात्र नभई जेनजीका जायज मागहरू, प्रत्यक्ष कार्यकारी राष्ट्रपति/प्रधानमन्त्री बाहेक, पूरा गर्न समय पाउने भई निरस्त गर्नसक्छन् । तसर्थ, काँग्रेसलाई यथाशीघ्र चुनाव चाहिएकाे हाे । यदि सुदन गुरूङहरू चुनाव राेक्छन् भने जनताले चिनेर उनलाई एक्लाउने हुन् ।
जहाँ निधिकाे सवाल हाे
वास्तवमा विमलेन्द्र निधि काठमाडाैंका मिडियाले साथ नदिएका, काठमाडाैंमा मधेशमूलका मान्छे भनेर दलमा पनि भित्रभित्रै पछाडि पारिएका, मधेशमा मधेशवादी दल, जनमत आदिद्वारा कथित् उपल्लाे जात-तल्लाे जातकाे षड्यन्त्रमा “भूरावाल” भनी लला अर्थात्, कायस्थ उपल्लाे जातकाे बिल्ला भिडाइएर पारिएका (जबकि उनी जति समावेशी शायदै अन्य नेता नेपालमा काेही हाेलान्) तर देउवाका राजनैतिक पण्डित “चाणक्य”, स्वयम्मा विकासप्रेमी र सफल मन्त्री रहेका, विगतमा चुनाव जितेकापनि र हारेका पनि, काँग्रेस र नेपालमा अति कम मध्ये निष्ठावान र उच्च संस्कारित, भारतका सत्ताधारी वा विपक्षी जुनसुकै दलका नेतालाई भेट्ने हैसियत भएका, सदैव लाेकतन्त्र र संविधानका पक्षधर रही जनता र कार्यकर्ताका कुरा सुनेर पार्टी हितमा निर्णय लिने, स्वयम् महामन्त्री गगन थापाले आदरपूर्वक नाम लिने पात्र हुन् । निधिले देश, संविधान, लाेकतन्त्र जाेगाउन चुनावी हारजीतले हताेत्साही हुने मान्छे नै हाेइनन् र, याे कुरा धैर्यता आजका महामन्त्रीले र संस्कार अनि सभ्यता उनीहरूका धेरै कार्यकर्ता जाे अपशब्द मीडियामा लेख्छन्, बाेल्छन् ले सिक्छन् कि सिक्दैनन्, याे सवाल उठेकाे छ ।
२०७४ सालमा निधिपनि हारे, डा. शेखर काेइरालापनि हारे र डा. आरजू देउवापनि चुनाव हारे एकसाथ । त्यसबेला मधेशवादी दलका सद्भावनाका नेता राजेेन्द्र महताेले उपेन्द्र यादबहरूसँग “२०७२ काे संविधान नै मान्दैनाैं, पुनर्लेखन गरिनुपर्छ” भनेर मेची-महाकली मधेश आन्दाेलन काठमाडाैंमा समेत गर्दा जाे राजेन्द्र महताेलाई केपी ओलीकाे सरकारले विराटनगरमा खुट्टा भाँचेकाे थियाे पुलिसद्वारा र जाे राजेन्द्र महताेले मधेशकाे माग पूरा नहुञ्जेल काठमाडाैं नपस्ने भनी दिल्ली जाँदा एकै चाेटी त्रिभुवन विमानस्थलबाट बालुवाटार प्रम ओलीलाई भेट्न गई सर्लाही आफ्नाे क्षेत्र छाेडेर निधिकाे धनुषामा गई ओली र एमाले रघुविर महताेकाे कराेडाैं रूपैयाँ लगानीमा र त्यहि जातपातकाे जनतालाई भाँड्ने तिकडममा महताेलाई जिताइएकाे तथ्य काँग्रेस महामन्त्रीद्वय, उनका कार्यकर्ता, काँग्रेस, मधेश र देशले यति चाँडाे बिर्सनुभएन । हाे, साे २०७४ मा डा. आरजूले, मिडियामा आए अनुसार, डा. शेखर र निधिविरूद्ध हराउन चलखेल गरिन् र उनिपनि त्यही पाईन् ! २०७९ मा निधि पुन: चुनावमा उत्रन खाेजेकैले हिमालसम्मपनि उक्लनुभएकै हाे । तर आफूले मात्र चाहेर हुँदैन, दलले पनि विचार गर्छ ।
निधिकाे याे कुरा कुन मीडियाले छाप्ने “कष्ट” आजसम्म गर्याे ? के निधि एक्लै हार्ने नेता मध्ये हुन् ? अनि निधिमाथि मात्रै काँग्रेसभित्र उनले विचार राख्दा खनिनुपर्ने के कारण छन् ? तसर्थ, एकाधजनालाई जिताएर काँग्रेसलाई नेपालमा माटाेमा मिल्काउनु छ कसैकाे अजेण्डा भने अलगकाे कुरा भयाे, नत्र चुनाव पहिला गराएर जेनजीलाई काँग्रेसले जायज माग पूरा गराएर सरकार, संसद, संविधान र याे व्यवस्थाप्रति विश्वास जगाएर संसदमा भित्र्याउने महान् काम गराेस् अनि शान्त अवस्थामा महाधिवेशन गराएर जाे जसलाई जे बन्नुछ, बन्दा हुन्छ । नेता निधिले विकासप्रेमीकाे छवि बनाएका हुनाले दलले टिकट दिएर एक्यबद्धता देखाए भने उनले स्वयमकै बलमा चुनाव जितेर पहिला जस्तै आऊने हुन्, आफ्नैले धाेका नदिउन् ।
(लेखक पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

