बहसमा बाबुराम र हस्ताक्षर !

वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लागिरहेका नेसपा(नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गरेको एउटा हस्ताक्षरका कारण यतिबेला नेपाली राजनीतिमा अर्को एउटा निरर्थक बहसको सुरुवात भएको छ।
यो बहसको सुरुवात बाहिरबाट भन्दा पनि उनकै पार्टी भित्रैबाट थालनी भएको देखिन्छ । सहकारी ठगी प्रकरणमा हाल पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने माथि राज्यले ‘प्रतिशोध’ देखायो भन्ने एकाथरी बुझाइ छ भने प्रतिशोध होइन ‘थुनामा राखेर छानविन’ हो भन्ने अर्कोथरी बुझाइ देखिन्छ। रविका समर्थक नेताकार्यकर्ताले यसलाई प्रतिशोध देखेका छन् । सत्तारूढ दलका नेताकार्यकर्ताले ‘छानविन’ भैरहेको र अदालतले गरेको निर्णयमा गलत ब्याख्या नगरौं भनिरहेका छन् ।
त्यसबाहेक अर्को एउटा अवसर खोज्ने शक्ति पनि छ। जसले रविलाई राजनीतिमा स्थापित भएको र रास्वपाले ०८४ मा बहुमत ल्याओस् भन्ने चाहदैन तर, रविको समर्थकबाट नराम्रो कमेन्ट नआओस् अनि जनताको माया पनि नखोसियोस भन्ने चाहिँ चाहन्छ। मुख्यतः नेकपा माओवादी केन्द्र र केही मधेस केन्द्रीत दल यो स्वार्थमा छन् ।माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त बोल्दा ‘रविलाई अन्याय हुन दिन्न’ भन्ने तर,सत्तापक्षसँग मिलेर भित्रभित्रै निचोर्ने गरिरहेका छन् । पछिल्लो पटक संसद अवरुद्धदेखि गृहमन्त्रीको राजिनामा सम्मको अडानबाट पछि हटेसँगै प्रचण्डको बोली र व्यबहार फरक छ भन्ने विषय स्पष्ट भैसकेको छ।
तर, एकाथरी वैकल्पिक शक्ति निर्माणको अभियानमा लागेका दल अनि डा.बाबुराम भट्टराई लगायत केही व्यक्ति र समूह यस्ता पनि छन् जसले राजनीतिक व्यक्तिलाई राजनीतिक नै व्यबहार हुनुपर्छ र राज्यको व्यवहार सबैलाई एकै हुनुपर्छ भन्ने चाहन्छ । न्याय सबैको लागि एउटै हुनुपर्छ र राज्यको व्यवहार पनि सबैलाई बराबर होस् भन्ने चाहना वैकल्पिक धारको नेतृत्वकर्ताको देखिन्छ। त्यसैले नयाँ र वैकल्पिक शक्ति जोसुकै भएपनि लोकतन्त्रको फूलबारीमा फूल्न पाउनुपर्छ भन्ने यो समूहले भन्दै आएको कुरा हो ।
सायद यसैको लागि हुनुपर्छ गोरखाको पुर्ख्यौली खेतमा रोपाइँ गर्न जानुअघि डा.भट्टराईले रास्वपा कार्यालयमा पुगेर हस्ताक्षर गर्दै रविको पक्षमा ऐक्यबद्धता जनाए। उनले त्यहाँ महाभारतको कृष्ण र कंसको कथा पनि सुनाए । राज्यले कुनै नयाँ बिचार बाहिर आउनै नदिने र आइहालेछ भने पनि त्यसलाई निमोठ्ने प्रयत्न गरेको उनको आसय थियो। तर, भट्टराईले त्यो कुरा रवि वा रास्वपाको लागि मात्रै भनेका थिएनन् । उनी स्वयं यसमा पीडित हुन् । भट्टराईले २०७३ जेठ ३० मा नयाँ शक्ति पार्टी घोषणा गरेपछि राज्यसत्ताको नेतृत्व गर्नेबाट कंश कै व्यबहार भोगेका थिए। जुनकुरा उनले २०५२ मा जनयुद्ध सुरु गर्नु अघि ४० बुँदे माग राख्दा र जनयुद्धको समयमा समेत भोगेका थिए। नयाँ बिचार दिनेलाई कंशले कृष्णलाई गरेजस्तो व्यबहार गर्छन् भन्नू उनको भोगाइ हो, सत्य हो र यो कुरा भन्दैमा रविको समर्थन गरेको वा रविलाई कृष्ण बनाएको भन्ने अर्थमा बुझ्नु हुँदैन ।
बाबुरामले रवि कास्की प्रहरीको हिरासतमा हुँदा पनि गएर भेटेकै हुन् । रवि मात्रै होइन हिजो रेशम चौधरीलाई नेल र हत्कडी लगायर राखेको बेला पनि बाबुराम पुगेकै थिए। माइतीघरमा हुने न्यायको आन्दोलन र प्रदर्शन होस् वा कुनै देशको सार्वभौमसत्ता माथिको हस्तक्षेप होस् बाबुरामले अन्यायमा परेकाको पक्षमा ऐक्यबद्धता जनाएकै छन् । उनी कुनै जनसमर्थन बटुल्न वा आफू पपुलर बन्नका लागि यस्तो गर्छन् भन्ने पनि लाग्दैन। अहिलेसम्मको राजनीतिक जीवनमा बाबुरामले निजि स्वार्थ वा कुनै ‘स्टन्ट’ र ‘पपुलारिटी’का लागी युटुबर र क्यामेरा बोकाएर कुनैपनी कार्यक्रममा पुगेका छैनन् । रास्वपा कार्यालयमा पुगेर हस्ताक्षर गर्दा के-के न भैहाल्छ वा सर्वस्व हरण हुन्छ भनेर सोच्न जरुरी पनि छैन।
कहिलेकाहीँ नदी वा तलाउमा डुब्दै गरेको मानिसलाई किनारमा बसेर हात चलाउदै गर, खुट्टा हल्लाउँदै गर भनिदिँदा मात्रै पनि डुब्न लागेको व्यक्तिमा आश बढ्छ । त्यसैगरी कसैलाई अफ्ट्यारो परेको बेला एक शब्द बोलिदिँदा वा लेखिदिँदा मात्रै पनि उसको धड्कनले काम गर्न सक्छ, उसका आँखामा आशाको ज्योति थपिन सक्छ। त्यसैले वैकल्पिक शक्ति निर्माणका अभियन्ताले यो साहस पनि गर्नुपर्छ। कसले के भन्ला वा कसले के साेंच्ला भनेर मात्रै निर्णय लिने हो भने कहिलेपनि सही र सत्य भेट्टाउन गाह्रो हुन्छ। अर्काको कमेन्ट वा टिप्पणीलाई हेरेर मात्रै पार्टीको धारणा बनाउने हो भने निति, विचार, सिद्धान्त र अनुशासन कहाँ खोज्ने ?
रवि लामिछाने दोषी हुन् कि होइनन् ? उनको पार्टीको नीति र विचार ठिक हो वा होइन ? सहकारी प्रकरणमा रविको संलग्नता के हो ? यो सबै कुराको निर्क्योल अदालतले नै गर्नुपर्ने हो। तर, जुन ढंगले रविको हिरासत बसाइ लम्बिएको थियो, कास्की काठमाडौं चितवन र बुटवलमा धरौटी मागियो र छाडियो, पछि उच्च अदालतले पुर्पक्षका लागि कारागार पठायो यो सबै कुरामा पनि सत्य बाहिर आउला।
आफैंमा रवि लामिछानेको आचरण, स्वच्छता र इमानदारीताको मापन गर्ने निकाय कुनै दल वा व्यक्ति होइन। अमेरिकी नागरिकता, दोहोरो राहदानीका कुरा मात्रै होइन गृहमन्त्री हुँदाका धेरै विषयमा उनीबारे प्रश्न उठेकै छ। बाबुरामले हस्ताक्षर गर्दा यी सबैको जिम्मा लिएर गरेको पनि होइन ! बाबुरामले रविलाई कारागार राख्नुपर्छ र पर्दैन भनेर निसाफ गरेका पनि होइनन् । तर, रविकै जस्तो मुद्दामा अन्यलाई गरेको व्यवहार र रविलाई गरिएको व्यवहार समान हो कि होइन ? अन्य आरोपितले जस्तै सहानुभूति र सहजता रविले पनि पाए वा राज्यले अलिकति बलमिच्याई गर्यो ? यदि राज्यको व्यबहार समान होइन भने समान गरियोस् भन्ने आशय हस्ताक्षरको हुनसक्छ ।
बाबुरामको हस्ताक्षरले रविको पार्टी ह्वात्तै बढ्ने, बाबुरामको पार्टी सिद्दिने वा अदालतले दिने न्याय र फैसलामा प्रभाव पक्कै पार्ने होइन होला । तर, बाबुरामको पार्टीमा हस्ताक्षरले किचलो ल्यायो, पदाधिकारी रिसाए वा पार्टीमा छलफल भएन भनेर जे जस्ता टिप्पणी सार्वजनिक गर्न खोजिएको छ यो सुखद होइन। यसकारण बाबुरामले हस्ताक्षर गर्नु हुँदैनथ्यो भनेर तर्क सहित बहस गर्ने सामर्थ्य कतिजना पदाधिकारीसँग छ ?
बाबुराम गोरखा भएको बेलामा चियापसल र असारे रोपाइँमा बाबुराम रास्वपा कार्यालय गएको र उनको हस्ताक्षर बारे टिप्पणी गर्नु वा सामाजिक सञ्जाल र संचार माध्यममा दुई चार शब्द ओकल्नु मात्रै नेता हुने गुण होइन !
जहिलेपनी असल नेताकार्यकर्ताले दुश्मनका अगाडि पार्टी नेतृत्वको रक्षा गर्छ र गर्नुपर्छ। तर, पार्टी बैठकमा भने नेतृत्वको भयंकर आलोचना गर्नुपर्छ, फरक मत राख्न, मनमा लागेका कुरा धोइपखाली गरेर नेतृत्वलाई पनि सच्चिन मद्धत गर्नसक्छ। वैकल्पिक शक्ति निर्माणमा लाग्ने अभियान्ताले नेतृत्वको सार्वजनिक आलोचना गरेर पुरानै शक्तिको जस्तो व्यवहार देखाउने हो भने कसरी वैकल्पिक ? कसरी नयाँ ? कस्तो फरक ?
यसर्थ,अहिले वैकल्पिक शक्ति माथी चौतर्फी हमला भैरहेको बेलामा नकारात्मक भावना लिएर अघि बढ्दा न वैकल्पिक भईन्छ न नयाँ र अग्रगामी भइन्छ ! यो त केवल आलोचना गर्न पाउनुपर्छ, लोकतान्त्रिक व्यवस्थामा किन बोल्न नपाउने ? भनेर सामाजिक संजाल रङ्याउने वा युटुबमा चर्को आवाज निकाल्ने बाहेक अर्को उपलब्धि केही होला र ?
बाबुरामको हस्ताक्षरकै विषयमा पार्टीको बैठक बस्नुपर्ने र औचित्य पुष्टि गर्नुपर्ने हो भने अहिले संसदमा प्रस्तुत हुने माननीयहरुको आलोचनात्मक चेत भन्दा माथी वैकल्पिक भन्नेहरूको चेत पनि छैन भनेर बुझ्नुपर्ने हुनसक्छ !

