आत्मवृत्तान्त : १७ सालको घटनादेखि वीपीको मेलमिलापको नीतिसम्म
प्रा. खगेन्द्रप्रसाद भट्टराई
राजा महेन्द्रले उनको उच्च महत्वकांक्षाको कारण वी.पी. नेतृत्वको जन निर्वाचित सरकारलाई २०१७ साल पुस १ गते अपदस्त गरी वी.पी. र अरु केही कांग्रेसी नेताहरुलाई बन्दी बनाए । केही समय उनीहरुलाई सिंहदरवारमा राखियो र त्यसपछि सुन्दरीजल जेलमा ।
सुरुमा उनीहरुलाई पुस्तक–पत्रिका पनि दिइएन । बाहिर कोहीसँग सम्पर्क हुने कुरै भएन । कुनै पनि बेला हत्या हुनसक्ने शंका र संभावना थियो भन्छन् वी.पी. । तर त्यो चाहिं भएन । केही समयपछि वी.पीले सबै राजनीतिक बन्दीहरुलाई एकै ठाउँमा राख्नुपर्दछ, अखबारहरु पढ्न पाउनु पर्दछ, खेलकुदको व्यवस्था हुनुपर्दछ, आफ्ना नातेदारहरु र इष्टमित्रसंग भेटघाटको व्यवस्था हुनुपर्दछ र मुद्दा अदालतमा चलाउनपाउनु पर्दछ भनेर भोक हड्ताल सुरु गरे । प्रायः ती सबै मागहरु पूरा भएपछि १३ औं दिनमा उनले भोक हड्ताल तोडे ।
जेलमा वी.पी. संगै गणेशमानजी, किसुनजी, सूर्य प्रसाद उपाध्याय, सूर्यनाथ यादव, जमान सिंह, योगेन्द्रमान शेरचन, रामनारायण मिश्र आदि नेताहरू थिए । धेरै समयसम्म उनीहरुसंग बस्दा वी. पी. उनीहरुका सबल र दुर्वल पक्षहरुको बारेमा आफ्नो भनाई राख्तछन् पुस्तकमा ।
गणेशमानजीको अनुशासन र दृढताको प्रशंसा छ तर उनी राजा र सिपाहीहरुलाई तथानाम गाली गर्ने । किसुनजी आध्यात्मिक किसिमको व्यक्ति तर कहिलेकांही नराम्रैसंग रिसाउने । सूर्यप्रसाद बौद्धिक थिए तर भित्रभित्रै के गर्दैछन्, थाहा नपाईने । केही न केही लेखिरहन्थे र त्यस्तो गर्दा अरुलाई आशंका हुने । सबै वन्दीहरु किताव र अखवारहरु पढ्दथे र आपसमा छलफल र वादविवाद हुन्थ्यो ।
कहिलेकाहीँ निकै चर्काचर्की हुन्थ्यो तर एक किसिमको आत्मीयता थियो भन्दछन् वी.पी. । यसरी ८ वर्ष जेलमा बिते । यस प्रशंगमा भारतीय नेताहरुको जेल वसाईको कुरा पनि जोड्दछन् । उनी भन्दछन्ः “जवहरलालजीहरु अढाई वर्ष पनि लगातार जेलमा बसेनन् क्यारे अहमदावाद फोर्ट जेलमा । त्यसमा जो उनीहरुको वीचमा तनाव हुने, वोलचाल बन्द हुने, त्यस्तो त हाम्रो भएन । … जवाहरलालजीले गान्धीलाई गाली गरेका छन् – ‘यो सठियाएको बूढो, यसको दिमागै छैन र यसमा आत्मसम्मान पनि छैन’ – भनेर गान्धीलाई भनेका छन्, र पटेलसँग त तं तं म म भनेर बोलचाल बन्द छ । … अनि राजाजीको वारेमा पनि त्यस्तै कडा आक्षेप । मलाई लाग्दथ्यो तिनीहरुभन्दा त हामी ज्यादा संयम र ज्यादा घनिष्टताका साथ वस्यौं ।” (पृष्ठ ३००–३०१)
वी.पी. भन्दछन् भारतीय नेताहरुको वौद्धिक स्तर माथि भए पनि नैतिक स्तरमा त्यस बेलाका नेपाली नेताहरु कम थिएनन् । यता नक्खु जेलमा गिरिजाप्रसाद कोइराला, रुद्रप्रसाद गिरी, श्रीभद्र शर्मा आदिलाई राखिएको थियो र उनीहरुले केही न केही गर्नुपर्यो भनेर वी. पी. लाई खबर पठाइरहन्थे । यसै बीच सुवर्ण शमशेरले वी.पी.लाई सूचित गरी फेरि सशस्त्र क्रान्तिको लागि आह्वान गरे । हातहतियारहरुको संकलनमा जुटे । भारतले पनि सहयोग गर्ने आशा गरिएको थियो तर त्यसै बेला भारतको र चीनको सम्बन्ध बिग्रिएकोले परिस्थिति बदलियो । नेहरुको अनुरोधमा आन्दोलन स्थगित भयो र पछि फिर्ता लिइयो (पृष्ठ २९३) ।
गिरिजा प्रसाद कोइरालाको नख्खु जेलको केही दिनको अनशनपछि उनी छुटे र उनको र राजाको बीचमा वेलावेलामा भेट भयो बन्दीहरु रिहा गर्ने सन्दर्भमा । राजा वी. पी. लाई उनको सकृय नेतृत्व स्वीकारुन् भन्ने चाहन्थे, तर त्यो कुरा वी. पी. लाई स्वीकार्य थिएन । वी. पी. कुनै पनि शर्त मानेर छुट्न तयार थिएनन् ।
भारतीय राजदूत राजवहादुरले वी.पी.लाई छुटाउन मध्यस्थताको काम गर्न खोजे । तर वी.पी.लाई त्यो मनपरेन । उनले गिरिजालाई लेखेको चिठीमा भनेका छन्, “भारतीय राजदूतलाई पनि धन्यवाद दिनु र भन्नु कि यो हाम्रो राजा र हाम्रो कुरा हो, यसमा तपार्इंले मैत्रीपूर्ण अभिरुचि लिए पनि हामीहरु आफ्नो समस्या आफैं खोजौंला । हाम्रो कुरामा धेरै अभिरुचि नलिनुस् । र राजालाई भनिदिनू कि हामी यस–यस कारणबाट सहमत हुन सकेनौं ।” (पृष्ठ २०५)
वी.पी. आफ्नो राष्ट्रको स्वाभिमान आफैंले जोगाउनुपर्दछ भन्ने मान्यता राख्तथे । यो कुरा उनको चिठीले देखाउँदछ । गिरिजाले त्यो चिठी पछि राजालाई देखाए । राजाले चिठी पढे र प्रतिलिपि बनाएर राखे । शायद वी.पी. को भनाई राजालाई ठीक लागेको थियो (पृष्ठ ३०५) ।
केही दिनपछि वी.पी. लाई कुनै संकेत नै नगरी, उनलाई र गणेशमानजीलाई जेलबाट मुक्त गरे । यो २०२५ सालको कुरा हो । किसुनजीलाई केही समय अगाडि नै नक्खु जेलमा सारिएको थियो । उनी त्यहीं थिए ।
वी.पी. छुटेपछि उनलाई भेट्न मानिसहरु ओइरिन थाले । उनी विराटनगर जाँदा उनको ठूलो स्वागत भयो । उनी उपचारको लागि भारत जाँदै थिए, त्यसका लागि केही सहायता रकम पनि उठ्यो । भारतमा पनि ठाउँठाउँमा उनको भव्य स्वागत भयो । बंबईमा उनको घांटीको अपरेशन भयो; केही दिन उनी त्यहीं आराम गरेर वसे र पछि नेपाल आए । नेपालमा उनको बारेमा विभिन्न चर्चाहरु भइरहेका थिए । राजाले फेरि जेल हाल्न सक्ने देखेर उनले नेपाल छोड्ने निर्णय गरे । भारतमै बसेर नेपालमा परिवर्तनको लागि काम गर्ने उनको सोच रह्यो र उनले करीव ७ वर्ष भारतबाट नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सञ्चालन गरिरहे ।
वी.पी. फेरि नेपालमा सशस्त्र क्रान्ति गर्न तयारी गर्न थाले । हतियार जम्मा गर्न थाले, स्रोत जुटाउन थाले । त्यति वेला भारतमा इन्दिरा गांधी प्रधानमन्त्री थिइन् । उनीसँग वी. पी. ले सहयोगको लागि अनुरोध गरे । युरोपको भ्रमणमा गए; जर्मनी, इङ्ल्यान्ड, स्वेडेन आदि देशमा गई सहयोगको लागि अनुरोध गरे । पछि फर्केर आएपछि एक जना जर्मनसंग संपर्क भयो र उससंग केही हतियार पनि किने । सैनिक तालिमको व्यवस्था गरे । त्यसै वेला बंगलादेश पाकिस्ताबाट छुट्टिनको लागि लडाइँ भयो । त्यो लडाइँमा भारतको संलग्नता बंगलादेशको तर्फबाट भएको थियो । अब परिस्थिति बदलियो । नेपालमा सशस्त्र आन्दोलनको कुरा स्थगित भयो । फेरि भारतमा इन्दिरा गान्धीको विस्तारवादी नीति देखियो । उनले अनेक खेल खेली सिकिमलाई भारतमा मिलाइन् सन् १९७५ तिर (२०३२ साल) । वी.पी. भन्दछन् यसले उनलाई झस्क्यायो ।
उनले राष्ट्र रहेन भने अरु कुरा रहँदैन र त्यो परिस्थितिमा राजा र जनता मिल्नु सिवाय अरु उपाय छैन भनी राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ साल पुस १६ गते नेपाल आए । नेपाल आउनु अगाडि उनले दिएको देश भक्तिपूर्ण वक्तव्य अत्यन्त महत्वपूर्ण छ । यही वक्तव्यका साथ उनको आत्मवृत्तान्त सकिन्छ ।
आत्मवृत्तान्तले धेरै नयाँ कुराको जानकारी गराउँदछ । यसले भारतले नेपाललाई सहयोग गर्नुको साथै नेपालमाथि हस्तक्षेप गरेको कुरा वताउँछ । भनिएको दिल्लो संझौता संझौता नभएर समझदारी मात्रै भएको कुरा छ । यो समझदारीमा पनि वी.पी को.प्रत्यक्ष संलग्नता देखिंदैन । वी. पी. भारतीय राजदूतहरूले गरेको हेपाहा व्यवहारप्रति असन्तुष्ट देखिन्छन् । कहिलेकाहीँ विरोध नै गर्दछन् ।
राजा महेन्द्रसँगको उनको सम्बन्ध विचित्रको छ । राजाले उनलाई २०१५ सालको आम निर्वाचनमा हराउन खोजेको कुरा एकातिर छ भने वी.पीले राजालाई उनको अनकूल प्रधानमंत्री बनाउनका लागि सल्लाहा दिंदा वी.पी लाई नै रोज्दछन् । राजा वी.पी. लाई सम्मान, स्नेह गर्दछन्, विदेश जाने वेला के उपचार ल्याईदिउँ भनेर सोद्धछन्, उनको संमानमा कविता/गीत पनि लेख्दछन्, सुनाउँछन्, तर पछि उनैलाई अपदस्त गर्दछन् ।
वी.पीले राजाको २०१७ सालको कदम उनको हितमा छैन, राजपरिवारको हितमा छैन भनेका थिए, जुन अहिले आएर सत्य सावित भएको छ । राजा निरंकुश हुन खोज्दा नेपालबाट राजसंस्था नै समाप्त भएर गयो ।
वी.पी. को आत्मवृत्तान्तलाई गहिरो गरी हेर्दा उनले राजाको वेलावेलाको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएर सावधानी अपनाउनु पर्ने थियो । राजाको वाहिरी र भित्री व्यवहार र मनसाय बुझ्न सक्नुपर्दथ्यो । वी. पी. ले आफ्नो अभिव्यक्तिमा होसियारीका साथ संतुलन कायम गरेको भए राम्रो हुन्थ्यो । वम्बैमा र लन्डनमा विद्यार्र्थीहरुसंग उनले व्यक्त गरेको कुराले राजा रिसाएको अनुमान वी.पी आफैं गर्नेछन् । बम्बैमा विद्यार्थीहरु बीच “राजा शक्ति हत्याउन ढुकिरहेको छ” भनेका थिए । लण्डनमा “मलाई समस्या रेडिकलहरूबाट छैन । मलाई समस्या राजासंग छ” भनेका थिए । यी सबै कुरा राजाले सुने र उनी चिढिएको अनुमान सजिलै गर्न सकिन्छ । यस्ता अभिव्यक्तिहरु नदिएको भए हुन्थ्यो । हुनत वी.पीले राजाको विरोध गरेका होइनन्, राजा संवैधानिक भएर बसुन् भनेका हुन् ।
वी.पीले पुस्तकमा उनी गान्धीबाट ज्यादै प्रभावित भएको कुरा गरेका छन् । तर वी. पी. र गान्धीमा धेरै कुरा मिल्दैनन् । गान्धी धर्मका कट्टर पक्षपति थिए. वी. पी. लाई धर्ममा विश्वास थिएन । गान्धी अहिंसामा विश्वास गर्दथे; वी.पीले राणाको विरुद्धमा सशस्त्र क्रांन्ति गरे । पछि पनि प्रजातन्त्र पुनः स्थापनाका लागि सशस्त्र आन्दोलनको घोषणा गरे ।
यो जीवनी लेखनमा गणेशराजजीले ठूलो मिहेनत गरेका छन् । टेपमा रेकर्ड गरिएको कुरालाई लिपिबद्ध गरी पुस्तक निकाल्ने काम सजिलो छैन । उनले लेखेको भूमिका पढ्दा उनले पाएको दुःख सजिलै बुझ्न सकिन्छ । तर दुःख अत्यन्त फलदायी भएको छ ।
वरिष्ठ साहित्यकार कमलमणि दीक्षितले ‘उनको सन्तोषको कुरा हो’ मा पुस्तकको राम्रो विवेचना गरेका छन् । तर दुवै जना (गणेशराज र कमलमणि) ले. वी. पी.ले बोलेका कुरालाई काटछांट गरेनन्, गर्न चाहेनन् । बोल्ने क्रममा वी.पीले केही महत्वपूर्ण व्यक्तिहरुलाई आदरार्थी शब्दहरु प्रयोग गरेका छैनन् । लामो समयमा बोल्दा यस्तो हुनु स्वाभाविक पनि होला । वी. पी. आफैं भएको भए सुधार्थे होलान् जस्तो लाग्दछ । किनकि यसै पुस्तकमा डिल्ली रमण रेग्मीले आदरार्थी शब्द प्रयोग नगर्दा उनले बेखुशी जनाएका छन् । यस्ता कुरालाई संपादन गरेर मिलाएको भए राम्रो हुन्थ्यो ।
अन्त्यमा, गणेशराज शर्मा तथा कमलमणि दीक्षितलाई यति महत्वपूर्ण कृति पाठक सामु उपलब्ध गराइदिएकोमा धेरै धेरै धन्यवाद ।
सन्दर्भ सामग्री : कोइराला, वी.पी. (२०५५) आत्मवृत्तान्त । जगदम्बा प्रकाशन, पाटनढोका, ललितपुर

