पूर्व प्रधानमन्त्री र विशिष्टको घर संरक्षणलाई बजेट !

विराटनगर । कोशी प्रदेश सरकारले पूर्व प्रधानमन्त्रीहरू स्व.बीपी कोइरालादेखि स्व.मनमोहन अधिकारी र स्व.सुर्यबहादुर थापा समेतको घर संरक्षण गर्न बजेट छुट्याउने तयारी गरेको छ ।
पूर्व प्रधानमन्त्री तथा राजनीतिक आन्दोलनमा योगदान गरेको उच्च तहका नेताहरुको जन्मस्थल र घरहरूको संरक्षण गर्न आवश्यक पर्ने बजेट छुट्याउने तयारी सरकारले गरेको हो । यसमा स्व.मदन भण्डारीको घर समेत पर्नेछ।यद्यपि पुर्व बिशिष्ट भित्र मदन पत्नी पुर्व राष्ट्रपति विद्या भण्डारी पनि पर्छिन।
सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमा आवश्यक रकम विनियोजन गर्ने तयारी गरिरहेको जनाएको छ । जेठ ६ गते सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि यस विषयलाई प्रदेश सरकारले महत्वका साथ प्रस्तुत गरेको थियो ।
प्रदेश सरकारले हालै ल्याएको नीति तथा कार्यक्रममा भनिएको छ ‘कोशी प्रदेशसँग सम्बद्ध राष्ट्रिय विभूति, राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री हुनुहुने व्यक्तिहरूको सम्मानार्थ परिवारसँगको सहकार्यमा उहाँहरूको जन्मस्थल र घर संरक्षणको व्यवस्था मिलाइने छ ।’कोशी प्रदेशमा जन्मिएका वा यहाँ भएका राष्ट्रिय व्यक्तित्वहरूको सूचि प्रभावशाली छ । पूर्व सभामुख सुवास नेम्वाङ, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्रीहरू बीपी कोइराला,मातृका कोइराला,गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, झलनाथ खनाल, नगेन्द्रप्रसाद रिजाल र सूर्यबहादुर थापा सबै कोशी प्रदेशका हुन् । वहालवाला प्रधानमन्त्री केपी शर्मा ओली पनि कोशी कै हुन् ।
सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले दिवंगत भएका पूर्व प्रधानमन्त्रीहरूको घर संरक्षण गर्ने नीति अनुसार काम गरिने बताए । ‘उहाँहरूले सरकारलाई हस्तान्तरण गर्नुभयो भने हामी संरक्षण गरिदिन्छौं भनेका हौं,’ उनले भने ‘पछि कसैले अध्ययन गर्छाैं भन्यो भने त हामीले संरक्षण गरिदिनु पर्याे नि !’
विशेष रूपमा, ताप्लेजुङमा रहेको मदन भण्डारीको जन्मथलो ढुंगेसाँघुमा रहेको घरको संरक्षणका लागि एमालेकै नेताकार्यकर्ताले आग्रह गरेको एक मन्त्रीले बताए । उनले मदनको घरका लागि पूर्व राष्ट्रपति विद्या भण्डारीको नामजोडेर राख्नु नपरेको र नेताकै नामले पनि संरक्षण गर्न सकिने बताए । मदन भण्डारी एमालेका पूर्व महासचिव थिए र २०५० सालमा त्रिशूली नदीमा गाडी दुर्घटनामा परेर उनको निधन भएको थियो । उनी सांसद बाहेक कुनै राजकीय पदमा पुगेका थिएनन् ।
बर्तमान प्रधानमन्त्री ओलीको जन्मघर तेह्रथुमको आठराई हो । उनी १२ वर्षको उमेरमा तेह्रथुमबाट झापामा परिवारसहित बसाइँ सरेका थिए । उनको जन्मघरलाई पहिले नै ट्रस्टमा लगिसकिएको छ । ‘केपी ओली ट्रस्ट’ बनाइसकिएको छ । यस्तै सूर्यबहादुर थापाको घर भने भत्किसकेको अवस्थामा छ । सुवास नेम्बाङ र झलनाथखनालको घर पनि इलाममा नै हो । कोइराला निवास विराटनगमा छ ।

