बाबुरामको बुद्धि प्रचण्डले नाप्ने हो ?
शिरज शर्मा
मिति : २०७३ जेठको पहिलो साता, स्थान: बबरमहलस्थित नयाँ शक्ति पार्टीको कार्यालय, समय : जुनसुकै बेला (बिहानैदेखि रातिसम्म)
जेठ ३० गते कम्तीमा १ लाख पार्टी सदस्यको उपस्थितिमा दशरथ रंगशालाबाट पार्टी घोषणा गर्नेगरी तयारी हुँदै थियो। वैकल्पिक शक्ति निर्माणमा खटिएका सबैको मेहनतले भयो पनि त्यस्तै । एक लाख ६ हजार पार्टी सदस्य बनिसक्दा अधिक सदस्यले संयोजक डा.बाबुराम भट्टराईको हस्ताक्षर भएकै सदस्यता लिन खोज्थे।
संस्थापक सदस्य हुने र पार्टी संयोजककै हातबाट सदस्यता लिने होडबाजीका बीच भट्टराईका ‘स्वघोषित निकट हुँ’ भन्नेहरूको बेग्लै रवाफ र फुर्ति हुन्थ्यो। बाबुरामले खर्च पानी दिननसक्ने र नखोज्ने भएर होला अहिले ती सबै बुद्धि नभएका भट्टराई छाडेर बुद्धिमत्त पुष्पकमल दाहाल प्रचण्डसँगै अघिपछि गर्दैछन् ।
त्यति मात्रै होइन त्यो समय बाबुरामको विचारमा सहमत भएर पनि प्रचण्डले दिएको दानापानी रोकिने डरले केही नेताकार्यकर्ता नयाँ शक्ति पार्टीको कार्यालयको बाटो हिड्ने, उस्तै परे ‘बाबुराम दाइ’ सँग हात मिलाउने र भविस्यमा बाबुरामको पार्टी ठूलो भैहाल्यो भने पुनः ‘बाबुरामको खास’ बन्ने चाहना बोकेर हिंड्नेहरु पनि थिए। बुद्धिमान प्रचण्डको आँखाले त्यतिबेलै ‘नयाँ शक्ति’ वा बैकल्पिक शक्तिलाई देख्नै सक्दैनथ्यो।
अब कुरा गरौं प्रचण्डले भनेका बुद्धि नभएका बाबुरामको : नयाँ शक्ति पार्टी घोषणा हुँदाको बखत बाबुरामले पार्टी खोले,अब पैसा टन्न आउँछ,भोलि ह्वात्तै ठूलो पार्टी भएपछि ठुलै भाग खान पाइन्छ भनेर पछि लाग्नेहरुको एउटा जमात पनि थियो। संगठन नगर्ने, नयाँ शक्तिको विचार प्रवाह नगर्ने तर,पार्टी ठूलो हुने र बाबुरामले जसरी पनि पैसा ल्याउँछन र त्यो पैसामा मोज गर्ने सपना देख्ने त्यो समूह चाहिँ बबरमहलस्थित कार्यालयमा भन्दा बढी ‘रातोभाले’ रेष्टुरेन्ट, ‘इन्द्रेणी’ फुडल्याण्ड र अनामनगर अनि बानेश्वरका महँगा रेष्टुरेन्टमा भेटिन्थे।
बिहान अमेरिकन ब्रेकफास्ट, दिउँसो थकाली खाना, बेलुकी सेकुवा र त्यै अनुसारको पेय पदार्थ लिएपछि बाबुराम र नयाँ शक्तिको भन्दा प्रचण्डको भक्तीमा तिनले समय खर्चन्थे। कारण बुद्धि भएका प्रचण्डले त्यै बेला नयाँ शक्तिलाई उम्रनै नदिने, उम्रीयो भने निमोठ्ने र यदि हुर्कियो भने भाँच्ने जिम्मेवारी तिनैलाई दिएका रहेछन् । समयक्रमले पनि त्यो देखाउँदै गएको छ।
२०७४ को स्थानीय,प्रदेश र प्रतिनिधि सभा निर्वाचन हुने निश्चित भएपछि त्यो बुद्धि भएका प्रचण्डबाट पालिएका नयाँ शक्ति भित्रका ‘स्वार्थ समूह’ सक्रिय हुन थाल्यो। उनीहरुको पहिलो काम स्थानीय निर्वाचनमा नयाँ शक्तिलाई चुनाव चिन्ह नै नदिने प्रचण्ड प्रयासमा साथ दिनु थियो। त्यसमा उनीहरुको योजना सफल भयो। त्यसपछि दोस्रोमा बाबुरामलाई लगेर केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँगै हात उठाउन लगाउने र कम्युनिस्ट एकताको नाम दिएर कलङ्कित बनाउने। त्यो पनि केही घन्टा भएपनी सफल भयो। अनि तेस्रोमा गोरखाबाट बाबुरामलाई चुनाव जसरी पनि हराउने। त्यसमा चाहिँ उनीहरु असफल भए। बाबुरामलाई हराउन र नारायणकाजी श्रेष्ठलाई चुनाव जिताउन नसकेपछि प्रचण्डले उनीहरुको दानापानी रोकिदिए। त्यसपछि खाइरहेको चिज गुम्ने भएपछि उनीहरु पालैपालो माओवादी तिरै सोझिए।
हो, प्रचण्डलाई त्यै बेला लाग्यो कि अब बाबुराम भन्दा म बुद्धिमान छु। अनि केपी ओलीसँगै माया प्रेम बसेपछि प्रचण्डलाई लाग्यो बाबुराम त साँच्चिकै बुद्धि नभएको डाक्टर पो रहेछन् । सहिद, बेपत्ता, घाइतेलाई सम्झेर, जनताको समस्यामा घोत्लिएर, समृद्धि र विकासका कुरा गरेर बाबुरामले बुद्धि बिगारेको कुरा प्रचण्डले त्यतिबेला बुझे कि जब एमालेसँग मिलेर नेकपा बनाउँदा आफू ‘माओवादी’ भएको ‘जनयुद्ध’ लडेको,जनतालाई सिंगापुर र स्विजरल्याण्डको सपना देखाएको सबै बिर्से । उनको स्मृतिमा सत्ता र शक्ति अनि माफिया,तस्कर र बिचौलियाको संगतबाट आइलाग्ने अर्बौं कमिसन बाहेक अरु सबै भ्रम लाग्न थाले ।
आज उनी जे बोलिरहेका छन् त्यो जनयुद्धका सर्बोच्च कमान्डर प्रचण्ड होइन, माफिया र तस्करको संजालमा मस्तीको जीवन बिताइरहेका पुष्पकमल हुन् । त्यसैले उनले रुकुम पुगेर जे बोलेका छन् त्यो सत्य हो। जसले जनयुद्ध भुल्यो,सहिद,बेपत्तालाई बिर्स्यो,नेपाल र नेपालीको सपना बिर्स्यो र आफैं ‘सुकिलामुकिला’ भएर हिंड्न थाल्यो अनि उसले गाउँ बस्तिमा पुगेर जनतासँग हात जोड्दै हिंड्ने बाबुरामलाई कसरी बुद्धिमान देख्छ ? धन्न बुद्धि नभएका डाक्टर मात्रै भने ! कम्तीमा ‘चिन्दिन’ त भनेका छैनन् नि !
त्यत्रो जनयुद्ध चल्दा ८/१० केजी सुन लुकाउन नसक्ने, दरबारसँग मिलाैं भन्दा संविधान सभा र गणतन्त्रको कुरा गर्ने,शान्ति प्रक्रियामा आएर अर्बौं कमाउँन नसक्ने र सत्ताको लागि जुनसुकै हर्कत गर्न नसक्ने अनि हुँदा हुँदै आफ्नै निर्वाचन क्षेत्रमा प्रचण्डलाई उम्मेदवार बनाएर जिताउने बाबुरामलाई ‘बुद्धि नभएको डाक्टर’ नै भन्ने हो। बुद्धि हुँदो हो त कम्तीमा एउटा ब्यापारीको घरमा डेरा हुनुपर्थ्यो,छोरीलाई विदेशमा पढाउने वा स्वदेशमै पनि लाभको पदमा पुर्याउनुपर्थ्यो,आफन्तको बिहेमा रिसोर्ट बुक गर्न सक्नुपर्थ्यो,सत्ता र शक्तिका लागि जुनसुकै हदसम्म पुग्नसक्नुपर्थ्यो। अनि देश लुट्न नसक्ने र ढाँटछल केही गर्न नसक्नेलाई कसले बुद्धिमान मान्छ ?
म बाँचुन्जेल ‘उथलपुथल’ भरहन्छ भन्दाभन्दै पनि पत्रकारले अनेक प्रश्न सोधेरै हैरान पार्न थालेपछि प्रचण्डलाई झ्वाँक चलेको पनि हुनसक्छ । उनलाई लाग्यो कि कांग्रेस एमाले वा सत्ता गठबन्धनका बारे धेरै बोलियो,सरकार ढल्छ पनि भनियो तर, पार लागेन ! त्यसैले जे पर्ला पर्ला एकपटक बाबुरामलाई नै ठोकौ ! अनि उनले यसो दिमाग खेलाए, यदि बाबुरामको बुद्धि हुँदो हो त म जस्तोलाई आफ्नै निर्वाचन क्षेत्र गोरखा-२ किन छाड्थे !
यदि बाबुरामले निर्वाचन क्षेत्र नछाडेको भए आज ३२ सिट लिएर ‘उथलपुथल’ को जादु कसरी चल्थ्यो ? धन्न बुद्धि नभएका बाबुरामलाई घरमै पुगेर उनको नातीलाई काखमा लिएर नक्कली कसम खाइदिए। जनताको साथ छाड्दिन,पार्टी एकता गर्छु,कम्युनिस्ट होइन समाजवादी नाम राख्छु,अब पहिलेको प्रचण्ड होइन सुध्रिएको प्रचण्ड बन्छु मलाई गोरखाबाट चुनाव लड्ने वातावरण मिलाइदिनु भनेपछि फ्याट्टै माने ! अनि एकैपटक मेरो कुरामा फस्ल्याङ फुस्लुङ हुने बाबुरामलाई म कसरी बुद्धिमान मान्न सक्छु ?
जनार्दन शर्माले रुकुम नछाड्ने,बर्षमान पुनले रोल्पा नछाड्ने र चितवनमा रवि लामिछानेले लखेट्ने भएपछि कम्तीमा बाबुरामले आफ्नो क्षेत्र (गोरखा-२) छोडेको भएर त अहिले ‘जादु’ भन्दै राजनीतिक ठगी गर्न पाइएको छ। अझै बाबुराम कति बुद्धि नभएको भन्ने त उनकै गाउँमा पुगेर ‘अब गोरखाको विकास म गर्छु’ भन्दा पनि पत्याइदिने ! अनि गोरखालीलाई झुक्याउनु अगाडि बाबुरामलाई झुक्याउन पाए सहज हुन्थ्यो भन्ने बुद्धिमान प्रचण्डलाई पहिल्यै थाहा थियो, त्यै कुरा बाबुरामले पत्तो नै पाएनन् । त्यसैले बाबुराम बुद्धि नभएकै हुन !
यद्यपि प्रचण्डले बाबुरामलाई जे-जे आरोप लगाउछन त्यो उनी आफै गर्छन् । बाबुरामकै एजेन्डा बोक्ने,बाबुरामकै निर्वाचन क्षेत्रमा गएर शरण लिने र बाबुरामकै बलले चुनाव जित्ने अनि राजनीतिक जालझेल र बेइमानी गरिरहने प्रचण्डले बुद्धि नभएको चाहिँ बाबुरामलाई भन्ने ? तर, रोचक के छ भने बाबुरामका बारेमा टिप्पणी गर्ने प्रचण्डको नैतिक आधार अझै जिवितै देखेर हाँस्दै ताली बजाउने नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, नन्दकिशोर पुन र अग्नि सापकोटालाई देख्दा सायद लाज पनि लजायो होला !

