प्रि-मनसुन फेरि सक्रिय,लगातार पानी पर्ने

काठमाण्डौ ।  नेपालमा प्रि-मनसुन गतिविधि फेरि सक्रिय भएको र केही दिन लगातार वर्षा हुने मौसम विभागले जनाएको छ।

बिहिवारदेखि देशका धेरै ठाउँमा वर्षा शुरू भएको र शुक्रबार पनि केही ठाउँमा वर्षा जारी रहेको कारण आज शनिबार पनि बर्षाको योग छ । केही ठाउँमा अहिले पनि हावाहुरी र चट्याङसहितको वर्षा भैरहेको छ । यो क्रम झन्डै दुई हप्तासम्म रहने मौसमविद्ले बताएका छन् ।

यो वर्षाले मनसुन जोड्ने सम्भावना पनि रहेको मौसमविद् विनोद पोख्रेल बताउँछन् । उनका अनुसार अहिले प्रि-मनसुनकै अवस्था छ । औसतमा नेपालमा जुन १३ मा मनसुन भित्रिन्छ भने अक्टोबर २ मा बाहिरिन्छ ।

काठमाण्डौ उपत्यकासहित देशभर बढेको गर्मी अब हरेक दिनजसो पर्ने पानीले केही कम हुने देखिएको छ । तर पश्चिम तराईमा अझै केही दिन चर्को गर्मी हुने मौसमविद् पोख्रेलको भनाइ छ ।

यसैबीच आज पनि ठाउँ–ठाउँमा हावाहुरी र असिना पानीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहने महाशाखाले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय