नयाँ वर्ष २०८२ को शुभकामना !

नयाँ वर्ष २०८२ साल आरम्भ भएको सुखद् अवसरमा हामी हाम्रा सम्पुर्ण पाठक एवं शुभचिन्तक र बिज्ञापनदातासँगै स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गर्दछौं।
हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा लिँदै आएका छौँ । तसर्थ, हामी सबैका लागी नयाँ वर्ष २०८२ आशा‚ अपेक्षा र उमङ्गको उत्सव पनि हो । आर्थिक,सामाजिक,सांस्कृतिक र राजनीतिक हिसाबले हामीले यो बर्षलाई उल्लासमय बनाउनुपर्छ।राजनीतिक अस्थिरताले मुलुकको जनजीवन र अर्थतन्त्रमा सधैं चुनौतिहरू थपिइनै रहेको हुन्छ। त्यसमाथि अनपेक्षित प्राकृतिक विपद्का कारण जनधनको क्षति हुनका साथै आन्दोलनका नाममा तोडफोड र हिंसा जारी छ।
नयाँ वर्ष २०८२ को सुरुवात भएको यस अवसरमा हामीले यसभन्दा अघिका कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक छ । विशेषगरी स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अहिलेको आवश्यकता हो। दैनिक हजारौंको संख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आवद्ध गर्न रोजगारी र अवसरहरूको सिर्जना गर्ने नीति कार्यान्वयन गर्नेकुरामा सरकार र राजनीतिक दलहरू प्रतिबद्ध हुन जरुरी छ।
त्यसैगरी जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा‚ स्वास्थ्य‚ कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोही अनुसारका नीतिहरू अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन २०८२ मा संघीय‚ प्रदेश र स्थानीय सरकारको ध्यान पुगोस् ।
अन्तमा, नयाँ वर्ष २०८२ ले देशमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिको लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गरी देश निर्माणमा लाग्न सबैलाई प्रेरणा मिलोस्। नयाँ बर्ष २०८२ को शुभकामना !!!

