राजावादीका उर्वरक एक ताताे, एक चिसाे
मनोज कुमार कर्णनेपालमा २०६५ ज्येष्ठ १५ गते विधिवत् गणतन्त्र घाेषणा पहिलाे संविधानसभाबाट घाेषणा पश्चात् इतिहासमा अन्तिम राजाकाे रूपमा दर्ज र पद्वीसमेत खाेसिएका पूर्वराजा ज्ञानेन्द्र शाहले नै प्रजातन्त्र दिवस गत फाल्गुण ७, साल २०८१ काे एक दिनअघि मलाई राजा बन्न सहयाेग गर्नुस् भन्ने आशय व्यक्त गर्दा राजावादी दलहरू सडकमा गत फाल्गुण २५ गते त्रिभुवन विमानस्थलदेखि शाहकाे नीजि निर्मल निवाससम्म स्वागत गर्न आए ।
साे मासकाे क्रेडिट लिन व्यापारी दुर्गा प्रसाईंदेखि राप्रपाका कमल थापा, राजेन्द्र लिङ्देन, अन्य पूर्वपञ्चे नेताहरूमा हानाथाप चलेकै बखत र एकले अर्कालाई नमान्ने कुकुर-कराँते झगडा चलिरहँदा नयाँ कलेबर “स्वतन्त्र” नामक अन्य दुई राजावादी काठमाडाैं महानगरका मेयर बालेन्द्र साह गणतान्त्रिक सरकारका बेथितिविरूद्ध निहुँ दिनहुँ खाेजेर भिड्दै भाेली कथंकदाचित् ज्ञानेन्द्र शाहकाे पक्षमा सडकमा मास आऊने कुरा भयाे भने अझ त्यसमा संख्या थप्ने वातावरण स्थानियस्त्तरबाट बनाउँदैछ भने संसदबाट रास्वपा नामक दलका सभापति रवि लामिछानेले सरकारमा पस्दै, विराेध गर्दै स्वयं प्रहरीकाे बसाईपछि अदालत धाउँदैछन् ।
याे लेख अन्य राजावादीभन्दा यी दुई बालेन साह र रवि लामिछानेकाे गणतान्त्रिक सरकारसँगकाे जुधाईले प्रतिगमनकारी राजावादीहरूकाे आन्दाेलनमा मलजल अर्थात्, फ्युवेलिङ्ग गर्न कति मद्दत हाेला, साे बारे प्रष्ट्याउँदै सरकार र परिवर्तन पक्षधर दलहरूले के-कस्ता गतिविधि आफ्ना सुधार्नुपर्छ त्यसमा आधारीत छ ।
फ्याक्ट्री एउटै तर ब्राण्ड फरक
महाेत्तरी जिल्लाकाे एकडारा गाउँ पालिका निवासी, पेशाले ईञ्जिनियर भएपनि गीत गाउने-नाच्ने र्यापर बालेन शाह (असली नाम बालेन्द्र साह) एक चलाख भन्ने कि बाठाे (?) मधेशी ठिटाे पहाडी बाहुणिसँग विहे गरेर नेवारसँग विशेष निकटता (मुद्दा बाेकेर) बढाई राजावादीसँग राजनैतिक सहकार्य गरि युवामाझ नाचेर भाेट तानिकन कथित् स्वतन्त्र भई स्थानिय निर्वाचनमा काठमाडाैं महानगरपालिकाका मेयरमा जित्नुभएकाे आम बुझाई हाे । यसका अलावापनि काठमाडाैं निवासी जाे जुन जातका भएपनि मतदाता यहाँका दलीय केही बाहेक सबै मधेशीकाे भाेट पाएका छन् ।
ज्ञातव्य छ कि १) बालेन राजावादी भएकाले हालकाे २०७२ सालकाे संघीय लाेकतान्त्रिक गणतन्त्रकाे संविधानलाई मान्दैनन् । तसर्थ, उनले २०७९ काे मंसिरमा भएकाे प्रदेश र संघीय संसदकाे चुनावमा प्रत्यक्षमा बाहेक समानुपातिक मतदान गरेनन् र ब्यालेट हावामा घुमाउँदै आफ्ना मतदातालाई पनि त्यसै प्रत्यक्षबाहेक भाेट नहाल्न ईशारागर्दै बाहिर निस्के । २) बालेन पाकिस्तानसमर्थित तर भारतविराेधी आफ्ना छवि बनाएका हुन् ।
उनले भारतीय पत्रिका (दैनिक भास्कर/दैनिक जागरण) का पत्रकारकाे साेधाई “नेपाल सरकारकाे परराष्ट्र मन्त्रालयले नेपालकाे चुच्चाे नक्शा सार्वजनिकरूपले अफिसमा राख्ने, भारतसँग टुंगाे लाउने कि तपाईं एऊटा मेयरले ताेकिएका विकास कार्य छाेडेर मन्त्रीकाे जस्ताे भारतसँग झगडामा नक्शाबारे ओर्लने ?” मा जवाफ फर्काएका छन्, “तिमिहरू पाकिस्तानलाई आतंकवादीकाे पालक-आश्रय दिने देशजस्ताे किन मीडियामा देखाएका ? हामी नेपालीले पाकिस्तानसँग सम्बन्ध बढाउँदा समस्या पर्याे !” याे जबाव मिल्याे, बालेनकाे ? सवाल के छ तर जवाफ के छ !
अवश्यपनि बालेन एक विकासप्रेमी, ट्याक्टिस् जान्ने मान्छे, युवा, बढी बाेल्ने तर वर्तमान संविधान र राजनैतिक व्यवस्था मान्नेभन्दा पनि परिवर्तनविराेधी दरबारीया “स्वतन्त्र” मेयर हुन् । तसर्थ, यिनी बालेनकाे जाेपनि गणतान्त्रिक सरकारसँग टस्सेल परिरह्ने भयाे ! यिनी गणतान्त्रिक नेता, सरकारलाई क्रिकेट खेलकाे हार्ड बाैलर झैं अहिलेसम्म साेसल मीडियामा “ताताे खेलाडी” काे रूपमा राजावादी मिसनमा प्रहार दिईरहेका मानिन्छन् । यिनकाे मिसनमा साल २०८४ काे चुनाव अघि निकै “लाेकप्रिय” भई पुराना भ्रष्ट बद्नामित राजावादी/पञ्चहरूकाे ठाउँमा नयाँ दल खाेलेर संसदमा पस्ने र तीव्ररूपमा राजसंस्थाकाे लागि “ठाउँ” (संसद र सडक) बाट लड्ने हाे ! बालेन स्क्याण्डलहरूमा नफसेका र मिसनमा हालसम्म लागिरहेका छन् ।

अर्का स्वतन्त्र भनेर भाेट बटुल्नलाई निर्वाचन आयाेगकाे नियमानुसार राजनैतिक दल “राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपा” नै खाेलेर बसेका चितवन निवासी रवि लामिछाने भने दल खाेल्दै जनताका आकाँक्षा र रवि चरीत्रबारे जनताले बढी चिन्न नपाउँदै अत्यधिक सिट ल्याएर एकैचाेटी संसदमै २०७९ काे संसदीय चुनावबाट पसेका हुन् । तर स्क्याण्डलै-स्क्याण्डल (जस्तै, दाेहराे नागरिकता र पास्पाेर्ट बाेकेका, सहकारीहरूका रकम हिनामिना, सांसद खरिदबिक्री, ब्लैकमेलका घट्नाहरू गरेर रकम कमाएका र साक्षिहरू कतिजना रहस्यमयात्मकरूपमा काेही गंगालाल हस्पिटल तनावले विरामी भई भर्ना भएका भने कतिजनाले कथित् आत्महत्या गरेका, महिलालाई लुगा फेर्नेजस्ताे फेरिरह्ने आदि) ले भरेका छवि बिगारिसकेका नेपालमा अमेरीकी क्रिश्चियनहरूद्वारा उचालिएका पात्र हुन् भनेर आम बुझाई छ ।
यिनी छाेटाे समयमा आफ्नै विगतका गलत कार्यले अनि सत्तारूढ भईरह्न एमाले र माओवादी दुइटै दललाई एकपछि अर्काेगरी खेलारहँदा दुई चाेटी अज्ञानी अधिकांश मतदाताकाे सेन्टिमेन्टल भाेट तथा काँग्रेसप्रतिकाे रिसले गएका मतहरूबाट संसदमा प्रवेश गरेर दुई चाेटी गृहमन्त्रालय नै सम्भाल्न पुगे ।
यहीँनेर लामिछानेमाथि प्रश्नहरू छन् : गृहमन्त्रालय नै किन ? के-कस्ता आफ्नाविरूद्धका प्रमाण मास्नलाई ? उनी राजनीतिमा गणतन्त्रवादी परिवर्तन पक्षधर वा प्रतिगामी राजासंस्थालाई पुनर्स्थापित गराउन आएका ? हाल यिनी न राजावादीतिर छन्, न गणतान्त्रिक दलहरूतिर, एकदम तटस्थजस्ताे, “चिसाे” भएका छन्। तर यिनी तटस्थ भने हाेईनन् । खासमा कसले मलाई मेरा विवाद र मुद्दाहरूबाट “मुक्ति” दिलाउने वाचा गर्छ, उतैतिर मात्र खुल्ने पार्टीकाे सर्वेसर्वा भएपनि व्यक्तिगत स्वार्थमा आफूपनि चूप छन् र रास्वपाका अन्यलाई पनि चूप रह्न विवशपारेका छन् ।
र, पनि काँग्रेस-एमालेकाे सरकारबाट पीडित लामिछानेले रास्वपालाई यस सरकारविरूद्ध शान्तपूर्ण विराेध गर्ने जससितपनि सहकार्य गर्ने विज्ञप्ति निकाल्न लगाएर राजावादीहरूकाे नजिक रहेकाे प्रष्ट संकेत दिईसकेका छन् । तर जति दिन कुहिराेकाे काग भई यिनी चूप बसेर रास्वपाका अन्यलाई पनि “स्थिर” बनाउन खाेज्नेछन्, त्यति नै बढी यसले भाेली २०८४ काे चुनावमा न गणतन्त्रवादीले भाेट हाल्ने हुन् रास्वपालाई, न राजा चाह्नेहरूले र अन्तत: अब त्यस दलमा परिवर्तन चाह्नेहरू स्वर्णिम वाग्ले, सुमना श्रेष्ठलगायत मुकुल ढकालका भित्री समर्थक अन्यहरूले अबकाे चुनाव अघि लामिछानेकाे नेतृत्वकाे विकल्पमा आ-आफ्ना भविष्य सुरक्षित पार्नलाई जुन हदसम्मपनि निर्मम भई अघि बढ्नेछन् । याे उनीहरूकाे चाहनाभन्दापनि बाध्यता हुनेछ !
तर रास्वपा खुल्दाचाहिं त्याे वर्तमान संविधान २०७२ का परिवर्तनकाे विराेधी नै रवि लामिछानेले बनाएकाे थिए किनकि प्रदेश सभाहरूतर्फ उम्मेद्वार उठाएका थिएनन् । प्रष्टरूपमा प्रदेश संरचना, संघीयता आदिका मुद्दाकाे विराेध गरि सनातन हिन्दू राष्ट्रमा नेपालकाे पुन: प्रवेश भई राजावादीहरूकाे मागसँग निकट आफूलाई बनाएका थिए ।
तर बालेन र रविमा बडाे राेचक समानता केही पाईन्छन् । ती हुन् : वर्तमान संविधानलाई नमान्ने, संशाेधन चाह्ने तर प्रतिगामीरूपले; दुवैले २०७९ कै चुनावबाट राजनीतिमा “स्वतन्त्र” नाममा ईन्ट्री मार्नु र सफलतापनि पाउनु; दुवैले मेराे लगानी चुनावमा १५-२० हजारमात्र छन् भनी ढाँट्नु तर रहस्यमयात्मकरूपमा युराेप, अमेरीका, विदेशबाट समर्थकहरूले “सहयाेग राशि” पठाउनु तर सहयाेगीहरू प्राय: नेपालका दरबारनिकटहरू आदि ।
तर सरकारकाे सुध्रेकाे लक्षण खाेई त ?
माथि उल्लेख भएझैं गणतान्त्रिक सरकारहरूमाथि राप्रपाहरू, दुर्गा प्रसाईं तथा अन्य पञ्च नेताहरूबाट स्वयं पूर्वराजा ज्ञानेन्द्र शाहकै निर्देशनमा वैचारीक आक्रमणहरू र सडकमा भीड जम्मा गरि विराेध गराउने कार्यहरू भईरहँदापनि आफूहरूमा सुध्रने लक्षण यी गणतान्त्रिक दल पक्षधरहरूमा काेसाैं टाढासम्म देखिंदैन । जनता रिसाईरहेका छन्, प्रतिगामीहरू सडकमा ओर्लिसके तर सरकार र परिवर्तन पक्षधर दलहरूले भने कसैले लेखेर, बाेलेर अनि हाम्राेतर्फबाट पनि सडकमा ओर्लेर प्रतिगामीसँग विभिन्न भिडन्तगरी बचाईदेलान् नि साेचिरहेका छन् ।
उदाहरणहरू : कुलमान घिसिङ्ग जनजातिका सफल छाेरा लाेडसेडिङ्ग हटाएर पर्फाेर्मेन्स देखाईसकेकालाई आफ्नाे सालाे अर्का जनजाति हितेन्द्र शाक्यलाई एमालेका केपी ओलीले किन विद्युत प्राधिकरणमा लानुपर्याे ? काँग्रेसले किन साथ दिनुपर्याे ? अनि २०७९ काे चुनावमा पहिलाे दल काँग्रेस, दाेस्राे एमाले र तेस्राे माओवादी र एवं प्रकारले अन्य हुँदा वैश्विक लाेकतान्त्रिक मर्यादा नेपालमा माओवादी-प्रचण्डहरूद्वारा किन पालना भएन ? तेस्राे दलले भ्यागुताे जस्ताे उफ्रने र बाँदरले जस्ताे एऊटाबाट अर्काे रूखमा उफ्रने गर्दा दास्राे ठूलाे दलले त्यसलाई मर्यादामा रह्न किन कसेन र उल्टै सरकार बनाउन लिफ्ट लियाे ?
जस्ताे, भारतमै पनि चुनावपछि पहिलाे ठूलाे भाजपाकाे अलायन्समा धेरै क्षेत्रिय दलहरू चुनावमा जितेर आएपछि पनि प्रधानमन्त्री, महत्त्वपूर्ण गृह, अर्थ, परराष्ट्र, सूचनालगायत राष्ट्रपति, उपराष्ट्रपति, सभामुखहरू र संवैधानिक अङ्गका पदहरू भाजपाले लिएकै हाे । अन्य दलहरूले केन्द्रीय एक-एक मन्त्री र प्रदेश/राज्य सरकारमा यदि बहुमत ल्याएकाे छ वा, दाेस्राे दल भएपनि बरू समझदारीमा मुख्यमन्त्री लिएका छन् । नेपालमा २०७९ काे चुनावपछि काँग्रेसकाे चुनावी एलायन्स पार्टनर दल माओवादी तेस्राे भएर आऊंदा उसले काँग्रेससँग प्रधानमन्त्री नै मागेर बार्गेनिङ् थालेर संवैधानिक पदहरू ताक्न थाल्याे ।
काँग्रेसले साथ नदिंदा माओवादीले एमालेसँग जान थाल्याे तर एमालेले पनि कि काँग्रससँगै बस नत्र हामीपनि दाेस्राे ठूलाे दल भएकाले तिमिहरूलाई संवैधानिक पद कुनै नदिई केवल केही थान मन्त्री पद दिन्छाैं भनेकाे भए माओवादीले भ्यागुताे वा बाँदर बनेर उफ्रने, छलाङ्ग लगाउने नभई देशमा स्थिर सरकार रहन्थ्याे । तर त्याे भएन, लाेभ सबैले देखाएकै हुन् ।
अनि गणतन्त्रवादी दलहरूले विकास कार्य, जनताका सराेकारकाे सम्बाेधन छाडेर आपसमा कुकुरले झैं दाँत देखाउँदै भिड्ने कुकुर-कराँते खेल्न थाल्दा जनतामा असन्तुष्टी बढेकाे हाे । तत्काल नातावाद, फरियावाद, ओलीकाे अहंकार नाश आदि समाप्त भई गणतान्त्रिक पक्षधर दलहरू एऊटा प्लेटफर्ममा एकले अर्कालाई सम्मानजनक व्यवहार दर्शाई आऊनसकेनन् भने भाेलि कसले देखेको छ र ?
(माथि उल्लेखित सबै कुराहरू लेखकको निजी विचार हुन्)
(लेखक ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापक हुनुहुन्छ)

