बेला-बेला प्रचण्ड : आरोप र आक्रोश !
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समकालीन राजनीतिका चतुर खेलाडी मध्यका पनि ‘महाचतुर’ खेलाडी भनिन्छ । प्रचण्ड स्वयंले पनि यो कुरामा होइन भन्न सक्दैनन् । उनले धेरै पटक सार्वजनिक रुपमै आफुलाई ‘उथलपुथल’ गरिरहन मनलाग्ने बताउँदै आएका छन् ।
तर,प्रचण्ड चतुर हुनुको साथै अस्थिर पनि छन् भनिन्छ । उनी एउटै ब्यक्तिलाई कहिले देवत्वकरण गर्न सक्छन् त कहिले राक्षसीकरण गरिदिन्छन् । कुनैबेला स्व.गिरिजाप्रसाद कोइरालालाई प्रशंसा गरेरै नथाक्ने प्रचण्डले ०६४ को संविधान सभा निर्वाचन पछि सत्ता नछाडेको भनेर सत्तोसराप गरे।प्रचण्डले त्यसैको रिस फेर्दा गिरिजाले प्रथम राष्ट्रपति हुने अवसर गुमाए।
त्यसपछि माधवकुमार नेपालसँग प्रचण्डको घनिष्ठता बढ्दै गयो र ०६४ मा दुई ठाउँबाट चुनाव हारेका माधवलाई संविधान सभामा नभै हुँदैन भनेर ल्याउन उक्साए। तर,दुर्भाग्य केही समयमै राजनीति परिस्थिति फेरियो र प्रचण्डको बोली पनि फेरियो। कांग्रेसको समर्थनमा माधव प्रधानमन्त्री बन्ने भए,त्यसपछि प्रचण्डले सार्वजनिक रुपमै उनको बेइज्जत गर्न थाले। कल्पवृक्ष भनेर रोपेको बिष वृक्ष परेछ भन्दै माधव नेपालको उछित्तो काढ्ने उनै प्रचण्ड थिए।
२०६२/०६३ को जनआन्दोलन पछि जब प्रचण्ड सार्वजनिक भएर आए उनको हित्तचित्त मिल्न र छुट्टिन कोही बाँकी रहेनन् । गिरिजाप्रसाददेखि माधवकुमार नेपाल सम्म र झलनाथ खनाल,उपेन्द्र यादव देखि केपी ओली,शेरबहादुर देउवा सम्म प्रचण्डका कहिले मिलन कहिले बिछोड हुँदै आएरहेको छ। यद्यपि त्यत्रो जनयुद्धसँगै नेतृत्व गरेका र कयौं मोर्चामासँगै हिंडेका आफ्नै सहयोद्धा मोहन बैद्द,बाबुराम भट्टराई,रामबहादुर थापा,लेखराज भट्ट समेतलाई प्रचण्डले बेला मौकामा धोका दिएको कुरा सबैको सामु छर्लङ्ग छ।
यतिबेला प्रचण्डले २ पात्रलाई त्यसैगरी खेलाइरहेका छन् । यतिबेला ज्ञानेन्द्र शाह र रवि लामिछाने प्रचण्डले असाध्य जिस्काइरहने पात्र हुन् । यी दुई पात्र कहिले प्रचण्डका लागि ठिकै लाग्छ त कहिले ‘अब चाहिँदैन’ जस्तो गर्छन् । अनि जब आफुलाई चाहिँदैन प्रचण्डले तिनैको विरुद्ध अनेकथरी बोल्छन् । ज्ञानेन्द्र शाहलाई प्रचण्डले कुनैबेला दूत पठाएर भेट्न चाहन्थे। अझ राप्रपा नेता रविन्द्र मिश्रको कुरा पत्याउने हो भने प्रचण्डले भेटेका पनि हुन् रे ! भेटेको मात्रै होइन सम्झौता पनि गरेका रे ! यो बिषय प्रचण्ड र ज्ञानेन्द्रलाई नै जानकारी होला ! वा के कसो हो मिश्रले नै जानुन ।
तर,अहिले प्रचण्डले ज्ञानेन्द्र लक्षित जुन टिप्पणी गरेका छन् त्यो यदि सत्य हो भने ज्ञानेन्द्र शाह जेल जाने निश्चित छ। प्रचण्डले २०५८ जेठ १९ को दरबार हत्याकाण्डदेखि मुर्ति चोरी र सुन तस्करी नै ज्ञानेन्द्र शाहले गरेको भनेका छन् । यो अप्रमाणित कुरा भए पनि पुर्व प्रधानमन्त्री भैसकेका र हाल पार्टी अध्यक्षको हैसियतमा बोलेको कुरालाई तथ्य र सत्य नै होला भनेर मान्नुपर्ने हुन्छ। यस अर्थमा ज्ञानेन्द्र शाहमाथी तत्काल अनुसन्धान सुरु गरिहाल्नुपर्ने हो।
त्यसैगरी केही समय अघि प्रचण्डले आफ्नो फेसबुक पेजमा लेखेका थिए-‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु।’
पुर्व प्रधानमन्त्रीले यो सबैकुरा सत्य भएरै लेखेका हुन् भने रविलाई ८४ दिन हिरासत किन राखियो ? सबैतिर त्यति धेरै धरौटी किन मागियो ? जब अदालतका न्यायाधीशले दशी,प्रमाण हेरेर आफ्नो कानुनी विज्ञता समेतलाई ख्याल गरेर न्याय सम्पादन गर्दैछन् भने प्रचण्डले रवि दोषी होइन भन्ने ठोकुवा गरेर यति धेरै ग्यारेन्टीका शब्द किन लेख्नु पर्यो ?
यसर्थ,प्रचण्डले जे बोल्छन् सत्य बोल्छन् वा प्रचण्डले बोलेपछी त्यो साच्चिकै सत्य प्रमाणित हुन्छ भन्ने दिन कहिले आउला ? एकजना पुर्व प्रधानमन्त्रीको बोलीमा हामीले कति प्रतिशत विश्वास गर्ने ? प्रचण्डको मात्रै होइन कुनैपनी दलको नेताले बोलेको कुरा सत्यको नजिक हुनुपर्छ र तथ्यले त्यसलाई अझै मजबुत बनाउनुपर्छ भन्ने जनताको चाहना हो। हिजोका प्रधानमन्त्रीले बोलेका कुरामा विश्वास गर्न नसक्ने, वर्तमान प्रधानमन्त्रीले बोलेका कुरामा विश्वास गर्ने आधार नदेख्ने हो भने ०८४ को चुनाव दल र नेतालाई मात्रै होइन जनतालाई पनि लाग्नेछ। सबैलाई चेतना होस् ।