नागरिक पहिलो अभियान : के भन्न र के गर्न खोजेको हो ?
प्रशान्त सिंहहामी मध्ये अधिकांश व्यक्तिहरू देशको राजनीतिक/आर्थिक अवस्था र भूराजनीतिक कमजोरी (Vulnerability) बारे चिन्तित छौं। युवाहरु ठुलो संख्यामा देश छाड्नु/ छाड्न चाहनुको मूल कारण देशभित्र रोजगारको कमी मात्र होइन। देशलाई माया नगर्नु त पटक्कै होइन। देशभित्र आफ्नो उज्यालो भबिष्यको सम्भावना नदेख्नु हो। कसरि हुन्छ त हाम्रा चिन्ताहरूको निवारण? कसरी बन्न सक्छ नेपाल हाम्रा युवाहरुको सपना पुरा गर्न सक्ने देश? २००७ साल देखिको प्रयासहरुका बाबजुद हाम्रो देश एक “आधुनिक राष्ट्र” बन्न नसक्नु हाम्रा चिन्ताहरू पछाडीको मूल कारण हो। हाम्रा युवाहरुको सपना, हाम्रो देशले पनि विश्व भरीका आधुनिक राष्ट्रहरुले गर्न सकेको जस्तो “समतामुलक आर्थिक विकास” गरेर मात्र पुरा हुने हो।
केहि महत्वपुर्ण कामहरु भएका छन्। एक अपेक्षाकृत प्रगतिशील संबिधान लेखिएको छ। कार्यान्वयनमा छ। तर पनि, देशलाइ एक आधुनिक राष्ट्र बनाउने प्रक्रिया (Nation Building) अझै अधुरो छ। यो जिम्मेवारी आज कुनै दल, कुनै नेता- कोहिले पनि लिएको देखिदैन। यस्तो कुरा नेताले दावी गरि रहदा, उनकै आफ्नै कार्यकर्ताले पनि पत्याएको हुदैनन्। बिउ नरोपी आफ्नो रुखको सुन्तला खान पाइदैन- सकिदैन पनि।आधुनिक राष्ट्रको ३ आबश्यकता: “उत्तरदायी राज्य”, “जिम्मेबार नागरिक” र “साँचो अर्थको सार्वभौमिकता” मध्ये कुनै पनि हामीले अझै निर्माण गर्न सकेका छैनौ। यी सबैकालागि चाहिने कुनै मार्गचित्र पनि हाम्रा सामु कसैले राखेको देखिदैन।
देश भित्र बस्ने समुदायहरु बीच भावनात्मक एकता बन्न सकेको छैन। झनझनै बिग्रिदै गैरहेको अवस्था छ। देशको बहुकेन्द्रित बृहद इतिहास, बिबिध धर्म/संस्कृति/परम्परा, भूराजनीति-प्रासंगिक भूगोल, पर्यावर्निय जोखिम तथा अर्थ ब्यबस्थाका आधारविन्दुहरूका बारे सामान्य जानकारी, पढेलिखेका नागरिकहरुलाइ पनि उपलब्ध छैन। जेजति छ, बस्तुनिष्ठ आँखाले हेर्दा, राज्य-शक्तिमा भएकाहरुका बर्चस्ववादी राजनीति (Hegemonic Politics) द्वारा प्रेरित अर्धसत्यहरु (Propoganda Material) जस्ता देखिन्छन। सत्य (Truth) लाई कृत्रिम उत्पादन (Manufacture) गरिएको देखिन्छ। देश २१सौ शताब्दीमा आइपुग्दा पनि अझै पनि केहि नेता, केहि दल, केहि समुदाय, खास धर्माबलम्बी, कुनै खास भाषा बोल्नेहरुको जागीर वा विर्ता (Feifdom) बनी बसेको छ।
ढाकछोप गर्ने, पैसा लिएर अथवा कुनै अरु व्यक्तिगत हितलाई ध्यानमा राखी अयोग्य तथा अपराधीक प्रकृतिका व्यक्तिहरुलाई जिम्मेवारी दिने/जागिर दिने; पारदर्शी ब्यबस्था (Digital र Electronic Systems) हरुलाई बिगारेर बस्ने; खुल्ला प्रतिस्पर्धालाइ निस्तेज गर्ने; कसैलाई काखा कसैलाई पाखा लगाउने जस्ता काम गर्न दिने विभेदकारी राज्य, नेताहरु र कर्मचारीहरुले “बेथिति” उब्जाएको हुन्छन। यी बेथितिहरुले गर्दा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा प्रदानगर्ने निकायहरु दिनादिन भ्रष्ट र नष्ट हुदै गएका हुन्छन।

नेपालमा मात्र हैन, विश्वभरीकै अनेक गरीब देश (Failed र Failing States) हरुमा यस्ता दृष्टान्तहरु देख्न सकिन्छ। हामीले बुझ्नै पर्छ, विभेद नै बेथितिको जग हो। बेथिति हटाउन, भ्रष्ट्राचार घटाउन पनि विभेदलाइ हटाउनु पर्ने हुन्छ। लोकतान्त्रिक र राजकीय संस्थाहरुलाई आग्रह-रहित र बिबेक/कानून-अनुकुल काम गर्न दिनुपर्ने हुन्छ।आम नागरिकमा राज्य न्यायोचित ढंगले संचालन भए (Sense of Justice) को बिश्वास निर्माण गर्नु पर्ने हुन्छ। अनि मात्र बन्छ साचो नागरिक भावना (True Citizenry) जुनकि आधुनिक राष्ट्र निर्माणको मेरुदण्ड हुने गर्दछ।
देश भित्रको खास-खास रणनैतिक निर्णय गर्ने बेला होस् अथवा विश्व सामु कुनै मुद्दाको पक्षधरता गर्ने बेला होस् – हामी सार्वभौम राष्ट्रको रुपमा उभ्न सकेका छैनौ। देश अन्य राष्ट्रहरुको संरक्षित राज्य (Protectorate) भएको जस्तो देखिन्छ। धेरै जसो दल र राजनीतिक/ सामुदायीक समूहहरु बिदेशी राष्ट्रहरुका अल्पकालिन हितका लागि प्रयोग हुने साधन बनी बसेका छन्। एजेन्ट बनाउनेहरु भन्दा एजेन्ट बन्नेहरुमा होड लागेको अवस्था छ। “असंलग्नता” देशको बिदेश नीतिको लागी आबश्यक हो भन्दै नथाक्नेहरु, आफु पैताला देखि टुप्पी सम्म बिदेशीहरुसंग संलग्न हुन्छन।
देश “विभेद”,”बेथिति” र “बिदेशी चलखेल” को अन्तहिन दुश्चक्रमा फसेको छ। राज्यले “सबैको स्वाभिमान”, “सबैको समृद्धि” का लागि काम गर्नु पर्दछ- कुनै खास समूह, समुदाय वा व्यक्तिहरुका लागि मात्र होइन। स्वाभिमान “स्वशाषण” बाट मात्र आउने हो, त्यसैगरी, बिना “सुशाषण”, समृद्धी सम्भव छैन। बिडम्बना, “बिभेद” हटाउन लड्ने दल र समुहहरु “बेथिति र भ्रस्टाचार” बारे उदासीन देखिन्छन। “बिदेशी चलखेल” का बारे चुप्पी साधेका हुन्छन।अर्का तिर “बेथिति र भ्रस्टाचार” का बिरुद्ध लडाई लड्ने दल र समूहहरु “विभेद” को बारे कुरा गर्न पनि चाहदैनन्। धेरैले त यो बिदेशी अजेण्डाहो भनी भन्न भ्याउछन। रोगको आंशिक इलाजले एकदुइ दिन त निको-निको भाको जस्तो लाग्न सक्छ, तर रोग सदैबको लागि अन्त हुन सक्दैन। बिमारी सधैको लागि निको हुन सबै समस्याको बिस्तारित र समन्वित इलाज चाहिन्छ। त्यसैले हामीले “विभेद”,”बेथिति” र “बिदेशी चलखेल” को बिरुद्धको लडाई संगसंगै लड्नु पर्ने हुन्छ।
त्यतिमात्र होइन निकै समय देखि बिमार शरीरलाइ स्वस्थ्य बनाउन लामो समयसम्म प्रोटीन र भिटामीन सप्लीमेंट पनि दिनुपर्ने हुन्छ। देशका प्रमुख दलहरु भित्रको प्रचलित राजनीतिक भाष्य र आर्थिक विकासको मानचित्र देशलाई प्रोटीन र भिटामीन त के दिनु, देशको क्रोनिक रोगको सामान्य उपचार गर्न पनि सक्षम भएको देखिदैन। हामीले बुझेकै कुरा हो, अरु कसैलाई दोष दिनु मात्रले समस्याको समाधान हुदैन । सर्वप्रथम, हामी आफुआफु नै जिम्मेवार नागरिक बन्नु पर्ने हुन्छ।हाम्रा स्वाभिमान र समृद्धीका उपायहरु आफै खोज्नु र कार्यान्वयन गर्नु पर्ने हुन्छ। आफुले समर्थन गरेको दलहरु, समुहहरु, समुदायहरुलाई राजनीतिक, सामुहिक र सामुदायिक मतभेदका बाबजुद आधुनिक नेपाल राष्ट्रनिर्माण प्रति समर्पित बनाउनु पर्ने हुन्छ। यी सबैलाइ प्राप्त गर्न देशभित्र लामो समयसम्म राजनीतिक तर गैरदलिय अभियानहरु (Non-party Political Movements) चल्नु आबश्यक हुन्छ।
“नागरिक पहिलो” एउटा त्यस्तै अभियान हो। यसले “प्रगतिशील”, “लोकतान्त्रिक” तथा “समावेशी” नेपाली राष्ट निर्माणका लागी आम नागरिक सुसुचिकरण र राज्य-सत्तामा भएका दल र व्यक्तित्वहरुहरु माथि नैतिक र राजनीतिक दवाब सिर्जना गर्ने प्रयास गर्दैछ। आधुनिक राष्ट्र निर्माण (Nation Building) र राज्यसंरचना (State Crafting) को प्रक्रियाको मुख्य हिस्सेदार र सरोकारवाला “नागरिकहरु” नै हुने गर्दछन। तर नागरिकहरुलाइ यो सर्बोच्चता सित्तै पाउदैन, लामो र लगातार संघर्ष पछि मात्र पाउने गर्दछ। “नागरिक पहिलो” अभियानले एकातिर हामी सबैलाइ जिम्मेवार नागरिक बन्न उत्प्रेरित गर्दछ भने अर्को तिर राज्यलाई र दलहरुलाई नागरिकको सर्बोच्चतालाई स्वीकार गर्न तथा नागरिक प्रति उत्तरदायी बनाउन दवाब सृजना गर्दैछ। जुटौं साथीहरु।

