तिहारमा गन्तव्य : ‘आमायाङ्ग्री’ !
नानु दाहालपछिल्लो समय नेपालीहरु पनि देश घुम्न खप्पिस हुँदैछन् । कुनै चाडपर्वको छुट्टी होस् वा अन्य बिदामा परिवार र साथीहरूको साथमा कहिँ न कहिँ पुगेकै देखिन्छ। यतिबेला हिमाली भेकको यात्रा अझै रोमान्चित हुन्छ। सेता हिमाल,निलो नदी, कलकल बगेको झरना र सुसाएको खोला अनि सलक्क परेको पहाड,खेतमा झुलेका धान,बोटमा पाकेका अम्बा र स्याउ यतिबेला हिमाली क्षेत्रमा घुम्नेको लागी आहा ! नै हुन्छ।
धार्मिक हिसाबले होस् वा ऐतिहासिक र पर्यटकीय क्षेत्रहुँदै हिमालको फेद र पहाडको टुप्पोसम्म नेपालीहरु पुगेको बग्रेल्ती तस्बिर सामाजिक संजालमा भेटिन्छ। यसले एकातिर नेपालीलाई आफ्नै देश घुम्ने र त्यसैमा रम्ने बनाएको छ भने अर्कोतिर आन्तरिक पर्यटनको विकाससँगै ओझेलमा परेका केही पर्यटकीय संभावना भएका ठाउँको प्रचारप्रसार पनि भएको छ।
यसपटक तिहारको छुट्टीमा तपाईं काठमाडौंमै हुनुहुन्छ भने तपाईंको रोजाईको एउटा उत्कृष्ट गन्तव्य सिन्धुपाल्चोकको हेलम्बु-१ स्थित आमायाङ्ग्री हुनसक्छ । काठमाडौंबाट ८० किलोमिटर दूरीमा रहेको सिन्धुपाल्चोकको मेलम्ची हुँदै तपाईंले ३ दिन मात्रै समय छुट्याउनु भयो भने आमायाङ्ग्री पुगेर सेता हिमाल अनि आश्चर्यजनक पहाड र मनमोहक हरियाली वातावरण सबै देख्न पाउनुहुनेछ।
काठमाडौंको लागि खानेपानीको स्रोत बनेको मेलम्ची अर्थात इन्द्रावती नदीको तिरैतिर हेलम्बु हुँदै तपाईं पहिलो दिन तार्केघ्याङ पुग्न सक्नुहुनेछ। त्यहाँ सम्म सार्बजनिक गाडी लाग्ने गर्दछ।यदि तपाईंको आफ्नै सवारी छ भने त्यहीँबाट माथी आमायाङ्ग्री बेसक्याम्प पुगेर बस्न पनि सहज हुनेछ। यात्रामा हरियाली वातावरणसँगै सफा नदी र तीरमा बस्ती अनि खेतीयोग्य जमिन हेर्दाहेर्दै तपाईंको यात्रा गन्तव्य सम्म सहजै छिचोल्न सक्नुहुनेछ।
लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने तार्केघ्याङमै बसेर तपाईं एक दिन सजिलै विताउन पनि सक्नुहुनेछ। यहाँ बस्न र खान होटलको सुविधा छ।घुमफिर गर्न हरियो जंगल, गुम्बा र बस्ती पनि छन्। होइन भने तपाईं अलिकति उकालो सकेर बेसक्याम्प पुगेर रातको बसाईलाई अझै रोमान्चित बनाउन पनि सक्नुहुन्छ।
तार्केघ्याङमा तामाङ, हेल्म, शेर्पा समुदायको बसोबास छ। उनीहरु कृषि कर्म र होटल व्यावसायमा व्यस्त देखिन्छन्। गाउँमा सुविधायुक्त होटल छन्। पाहुना पुग्ने वित्तिकै यहाँका होटल संचालकले निश्चल मुस्कान सहित स्वागत गर्छन् । यहाँ अनौठो चलन छ। जहाँ बास बस्नेले माछा मासु खान चाहिँ पाइन्छ तर,काटमार चाहिँ हुँदैन ।यहाँ काटमार गर्दा केही न केही अनिष्ट हुन्छ रे ! अहिंसा क्षेत्र नै रहेछ तार्केघ्याङ र आमायाङ्ग्री बेसक्याम्प। गुरु पद्यसंभवले तपस्या गरेको पवित्र भूमि भएकाले यहाँ हिंसा बर्जित गरिएको भनाइ छ।तार्केघ्याङ २५५० मिटर उचाइमा छ।
भोलिपल्ट बिहान सबेरै जंगलको उकालो लाग्यौं भने ५ घन्टामा आमायाङ्ग्री टुप्पोमा पुगिन्छ। यदि बेसक्याम्प बस्नुहुन्छ भने बिहान डेढ घन्टा मात्रै हिंड्यो भने टुप्पोमा पुगिन्छ । टुप्पोमा पुग्न एउटा मात्रै बाटो भएकोले बिहानैदेखी उकालो लाग्नेहरु भेटिन्छन् ।जतिजति उचाई लिँदै गयौ उतिउति हाँसेका हिमाल र पहाडको दृश्यसँगै चिसो हावाको स्वाद पाउनुहुनेछ। तर,उकालो चढ्दा हतार गर्नु चाहिँ हुँदैन। लेक लाग्न सक्छ। बिस्तारै हिड्ने। मुख खुला राखेर पनि हिँड्नु हुदैन।
तार्केघ्याङबाट नै हिंड्दा चाहिँ जंगलको उकालो करिब ६ किलोमिटर पछि आमा याङ्ग्री बेस क्याम्प अर्थात चोमोथाङ पुग्न सकिन्छ। यहाँको उचाई ३२०० मिटर हो। निलो आकास, खुलेका हिमाल अनि खुला चौरमा बस्न राखिएका केही मेचहरु यहाँ देख्न सकिन्छ। नजिकै सानो घर पनि छ। यहाँ पुग्ने वित्तिकै ताततातो चिया खान पाइन्छ।
यहीँबाट उत्तरतर्फ हेर्यो भने आमायाङ्री गेट देखिन्छ। टुप्पोमा आमायाङ्रीको मन्दिर पनि देखिन्छ।अब यहाँबाट केही घन्टा जंगलको बाटो ठाडो उकालो हिँडेर आमायाङ्ग्री पुग्न सकिन्छ। यदि बिहानको सुर्योदय समेत हेर्ने हो भने अघिल्लो दिन नै तार्केघ्याङ नबसेर बेसक्याम्प पुगेर बस्यो भने सजिलो हुन्छ। बेसक्याम्पबाट डेढ घन्टामै आमायाङ्री पिक पुगिन्छ।
दुई डाँडाको बीचबाट उदाउँदो सूर्य हेर्न र नजिकै टलक्क टल्किएका हिमाल हेर्न बिहान छिटो पुग्दा बेस हुन्छ। यहाँको मौसम १०/१५ मिनेट मै बदलिने भएकोले १० मिनेट मात्रै पनि छिटो पुग्नेले देखेको दृश्य ढिलो पुग्नेले नदेख्न सक्छ। जब पदयात्रीहरू टुप्पोमा पुग्छन् अनि सम्पुर्ण थकान बिर्सेर सूर्योदयको तस्बिर खिच्न र भिडियो अनि टिकटक बनाउन व्यस्त हुन्छन् । पहिलो पटक पुग्नेलाई यस्तो लाग्छ कि डाडाँको शिखरमा, हिमालको छहारीमा बसेकी छिन् आमा याङ्ग्री। यो आमा याङ्ग्री पिक ३७७५ मिटर उचाइमा छ।आमाको अर्थ ‘रक्षा गर्ने’ र याङ्ग्रीको अर्थ ‘इच्छा पुर्याइदिने’ भन्ने रहेछ।
ठाडो उकालो सकेर आमायाङ्ग्री पिकलाई दाहिने पारेर एक फन्को लगाएपछि टुप्पोमा पुगिन्छ। डाँडाको बीचमा चार तले रंगिन गुम्बा र वरिपरि शुन्दर दृश्य छ।
आमायाङ्ग्री पिकसँगै सानो चौर पनि छ।रंगीन लुङेतरले ढपक्क ढाकेको पिकबाट ३६० डिग्रीमा थुप्रै हिमालहरु देखिन्छन् गौरीशंकर, दोर्जेलाक्पा, जुगल, लाङ्टाङ, गणेशलगायतका हिमालहरू आमा याङ्ग्रीबाट सजिलोसँग देख्न पाइन्छ।
डाडाँमा बस्ती मात्रै होइन कुनै बस्न लायक समथर ठाउँ समेत छैन।
यस क्षेत्रमा बर्षैभरि यात्रा गर्न सकिन्छ। यो मौसम पनि उपर्युक्त मौसम हो। तर अलि पछि जाडो बढी हुन्छ। चैत वैशाखमा भने गुराँसले राताम्मे हुने भएकोले अझै रमाइलो हुन्छ।त्यसैगरी पुस माघमा भने हिउँले सेताम्मे हुने यहाँ पुगिरहनेहरु बताउँछन्।