प्रचण्डपथ अर्थात पतनको बाटो !
शिरज शर्मातत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा २०५२ फागुन १ देखि नेपालमा जनयुद्ध शुरु भयो। यो युद्ध १० वर्ष चल्यो । युद्धमा हजारौं सहिद, बेपत्ता र घाइते तथा अपाङ्ग भए । यो युद्धलाई कसैले व्यक्ति हत्या भने कसैले जनयुद्ध र कसैले हिंसाको राजनीति भनेर आ-आफ्ना टिप्पणी गरे र अझै पनि गर्दैछन् ।
१० वर्षे जनयुद्धको सबैभन्दा बढी आलोचक अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन अमेरिकी राजदूत जेम्स एफ मोरियार्टी थिए। मोरियार्टीले विद्रोही माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डसँग हात मिलाएनन् भने उनले प्रचण्डलाई आतंककारी नै भनेर गए । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पुर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले पनि माओवादी युद्धलाई आतंक वा हत्याहिंसा नै भन्ने गर्थे। जे होस् जसले जसरी परिभाषित गरेपनी त्यो युद्धले केही नराम्रो गर्यो होला तर लोकतान्त्रिक आन्दोलन र संविधानसभा, धर्मनिरपेक्षता अनि संघीयताको विषयमा सबैलाई एक ठाउँमा उभिन बाध्य बनायो।
यही युद्धको बिचमा २०५७ माघ २६ देखि फागुन १ गतेसम्म चलेको माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष (त्यो बेलाका महामन्त्री) पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक ‘प्रचण्डपथ’को कुरा निकाले । त्यो सम्मेलनमा प्रस्तुत ‘महान अग्रगामी छलाङ: इतिहासको अपरिहार्य आवश्यकता’ शीर्षकको प्रतिवेदनमा प्रचण्डले ‘एक महान उपलब्धी’ उपशीर्षकमा ‘प्रचण्डपथ’को आवश्यकता औंल्याएका थिए । आफ्नै (प्रचण्डकै)नेतृत्वका कारण बलियो हेड्क्वार्टर विकास भएको भन्दै उनले प्रचण्डपथको वकालत गरे। त्यो समयमा कसैले उनको विरोध गर्न सक्ने अवस्था थिएन। मोहन वैद्य, डा.बाबुराम भट्टराई, रामबहादुर थापा, सिपि गजुरेल, पोष्टबहादुर बोगटी लगायत धेरै नेताले त्यो बेला प्रचण्डपथको विरोध गर्न सकेनन् । बाबुराम माथि त प्रचण्डले अघोषित घेराबन्दी नै गर्थे। जुन शृङ्खला बाबुरामले माओवादी छाडेपछि पनि आजसम्म जारी छ।
प्रचण्डपथ नाम दिइएको त्यो बेलाको प्रतिवेदनमा भनिएको थियो: ‘पार्टी एक दशकदेखि विचार संश्लेषणको यो उचाइसम्म महामन्त्री क. प्रचण्डको सही र अविछिन्न नेतत्वका कारण एकताको केन्द्रविन्दुको रुपमा क. प्रचण्डको बलियो सर्वहारा हेडक्वार्टरको विकास भएको छ । अतः सामुहिक नेतृत्वको केन्द्रिकृत अभिव्यक्तिका रुपमा विकसित बिचार श्रृङ्खलालाई पार्टी प्रचण्डपथ नामाकरण गर्दछ ।’ त्यही सम्मेलनमा ‘प्रचण्डपथ’ बोकेर प्रचण्डको महत्वाकांक्षा पूरा गरिएको मात्रै थिएन कि त्यसलाई नेपालमा मार्क्सवाद, लेनिनवाद र माओवादका सार्वभौम सिद्धान्तहरुको प्रयोगको विशिष्टतालाई प्रचण्डपथले अभिव्यक्त गर्ने समेत भनिएको थियो।
राष्ट्रिय सम्मेलनमा पार्टीको पथ प्रदर्शक विचारको रुपमा ‘मार्क्सवाद,लेनिनवाद,माओवाद र प्रचण्डपथ’ पारित गराएपछि प्रचण्डमा यति धेरै सैन्यउन्माद देखियो कि उनले आफू बाहेक कसैलाई नेता,कमान्डर र बिचारक नै देखेनन् । आफ्नो बिरोधमा बोल्ने, लेख्ने र कुनैपनी आलोचना गर्नेलाई ‘प्रचण्डपथ’ मा ‘इन्ट्री’ थिएन। सधैं लेखिरहने बाबुरामलाई लेख्न प्रतिबन्ध जस्तै थियो ।लेख्न मन लागेमा पनि सुरुमा प्रचण्डपथको स्तुति गानबाट सुरु गर्नुपर्थ्यो र लेखेपछी ‘प्रचण्डपथ’ कै बाटो हुँदै सेन्सर गराउनुपर्थ्यो !
त्यसपछिका दिनमा मोहन वैद्य र सिपी गजुरेल भारतको जेलमा, बाबुराम र उनका समर्थक प्रचण्डको हिरासतमा र प्रचण्डपथ चाहिँ २०५८ को दरबार हत्याकाण्ड पछि झण्डै-झण्डै नारायणहिटीको बाटोमा अगाडि बढ्ने अवस्था थियो। प्रचण्डले त्यो समयमा दरबारसँग सम्बन्ध बढाउन राजाका मान्छे खोज्दै गरेको समाचार चुहिएको थियो। यद्यपि प्रचण्डले भरपर्दो सुत्र चाहिँ फेला पार्न सकेनन् । तत्कालीन सभामुख तारानाथ रानाभाट (जो दरबार हत्याकाण्ड पछि कांग्रेसमा समेत नरुचाइएका पात्र थिए) लाई भेट्न एकजना माओवादी पत्रकार र नयाँ बानेश्वरमा फोटो स्टुडियो भएका श्रेष्ठ थरका व्यक्तिलाई माओवादी र राजाको सम्पर्क सुत्र बनाइएको हल्ला थियो । तर, ती पत्रकारले राजाको सम्पर्क सुत्रलाई एक्लै भेटेर माओवादी हेडक्वाटरमा रिपोर्ट बुझाएको भन्ने पनि सुनियो। त्यसले के चाहिँ पुष्टि हुन्छ भने प्रचण्ड राजासँग मिलेर जान झण्डै-झण्डै तयार थिए।
तर, कतिपय राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशले राजा र प्रचण्डको मिलन हुन सकेन वा भ्याएन । यता २०६३ सालमा माओवादी शान्तिप्रक्रियामा आएपछि पनि प्रचण्डपथ कायमै रह्यो । २०६४ चैतमा पहिलो संविधानसभा निर्वाचनमा सहभागी हुँदासम्म माओवादीले प्रचण्डपथ अवलम्बन गरिरहेको थियो । त्यो बेला भित्तामा प्रचण्डपथ संगै प्रचण्डका तस्बिर अङ्कित भेत्ते लेखन छ्याप्छ्याप्ती थिए । जसले प्रचण्डलाई ‘भित्ते राष्ट्रपति’ सम्म बनायो। प्रचण्डको राप ताप सेलाउन थालेपनि प्रचण्डपथ भने जिवित नै थियो।
२०६५ मंसिर ६ देखि ११ गतेसम्म भक्तपुरको खरीपाटीमा आयोजित माओवादीको राष्ट्रिय भेलामा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा पनि प्रचण्डपथबारे यस्तो लेखिएको छ। ‘सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्न २१ औं शताव्दीको वर्तमान परिस्थितमिा दीर्घकालिन जनयुद्धको रणनीतिमा आम सशस्त्र जनविद्रोहका कार्यनीतिहरुको समेत समायोजन गर्नुपर्छ भन्ने मूलभूत संश्लेषणका साथै नेपाली नयाँ जनवादी क्रान्ति पूरा गर्ने कार्यनैतिक श्रृङ्खलाका रुपमा सर्वपक्षीय सम्मेलन, अन्तरिम सरकार र संविधानसभा प्रस्तुत गर्नु नै प्रचण्डपथ संश्लेषणका प्रमुख आधार हुन् ।’
तर, प्रचण्डको त्यो राजनीति प्रतिवेदनमा असहमति राख्दै नेता मोहन वैद्य किरणले फरक मत सहित अलग्गै राजनैतिक प्रतिवेदन पेश गरे । जसले गर्दा भेलामा प्रचण्डपथलाई पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा पुनर्विचार गर्नुपर्ने बहस उठ्यो र एक महिनापछि अर्थात २०६५ पुस ३० गते आयोजित नेकपा माओवादी र नारायणकाजी श्रेष्ठ प्रकाश नेतृत्वको नेकपा एकता केन्द्रको पार्टी एकता अधिवेशनमा अध्यक्ष प्रचण्डले नै लिखित रुपमा तत्कालका लागि प्रचण्डपथलाई पार्टीको पथ प्रदर्शक विचारबाट स्थगित गरी मार्क्सवाद–लेनिनवाद–माओवाद र विचारधारालाई पार्टीको पथप्रदर्शक सिद्धान्त मानेर जाने प्रस्ताव गरेका थिए ।
उता, अर्का नेता डा.बाबुराम भट्टराईले भने प्रचण्डपथ बारे २०५७ सालमै लेखेका थिए। ‘प्रचण्डपथ’ लाई मालेमावादको समकक्षमा राख्ने वा हिजो प्रयोग गर्ने गरिएको ‘माओविचारधारा’ को स्तरमा बुझ्ने गल्ती गरिनु हुँदैन किनकि पार्टी र निर्णय किमार्थ त्यसो होइन, र कुनैपनि वस्तुको अवमूल्यन र अतिरञ्जना दुबै बेठीक कुरा हुन् । बाबुरामले अझै अगाडी भनेका छन् ‘स्मरणरहोस् पार्टीले ‘प्रचण्डपथ’ लाई चिनियाँ कम्युनिस्ट पार्टीले सन् १९४५ मा संश्लेषित गरेको ‘माओ विचारधारा’ को समकक्षमा राख्ने धृष्टता गरेको छैन र साथै हामीले पेरूमा समय अगावै ‘गोञ्जालो विचारधारा’ भनिनु पनि गलत थियो भन्ने मान्यता राख्दै आएका छौं ।’
जब नारायणकाजी श्रेष्ठलाई पार्टीमा ल्याउने कामसँगै प्रचण्डपथ हरायो र पार्टीको नाम पनि परिवर्तन भयो अनि माओवादी भित्र क्रान्तिकारी र संसदवादी धार भनेर दुई खाले व्याख्या सुरु भयो। क्रान्तिकारी धार भनेर मोहन वैद्य, सिपि गजुरेल, रामबहादुर थापा, देव गुरुङ, नेत्रविक्रम चन्द विप्लव हरु देखिए भने संसदवादी धारमा प्रचण्डसँगै युद्ध नलडेर पछि मिसिन पुगेका अमिक शेरचन, नारायणकाजी श्रेष्ठ र लीलामणि पोखरेलहरु देखिए । बाबुराम भने यी दुवै कुराको भन्दा पनि जनयुद्धको जगमा ०६२/०६३ को आन्दोलनका उपलब्धि रक्षा र संविधानसभाबाट संविधान चाहन्थे। जुन कुरा उनले संविधान लेखिएपछी संविधान सभा सदस्यबाट राजिनामा सहित माओवादी पार्टी नै त्यागेको बाट पुष्टि हुन्छ।
बाबुरामले पार्टी छाड्नु अघि नै मोहन वैद्य, सिपि गजुरेल र विप्लवको समुहले पार्टी फुटाएर गएका थिए। बाबुरामले पनि छाडेपछि अब प्रचण्डसँग सत्तामा कसरी पुग्ने र कसरी कमाउने भन्नेहरुको समुह मात्रै बाँकी रह्यो । नाम माओवादी राख्नु बाहेक माओवादी आन्दोलन वा माओवादसँग त्यो पार्टीको कुनै साइनो पनि भेटिन छाडेको थियो। त्यै बेलामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको नाम दिएर माओवादीलाई एमालेमा मिलाए। नाम नेकपा राखिए पनि खासमा त्यो माओवादीको एमालेकरण नै थियो। त्यसपछि त जनताको बहुदलीय जनवादको नजिक पुगेका प्रचण्ड स्वयंले ‘प्रचण्डपथ’ कुन चराको नाम ! भन्ने अवस्था आइहाल्यो। पछि अदालतले नेकपालाई मान्यता नदिएर पुनः एमाले र माओवादी नै कायम गरेपछि प्रचण्डमा अर्को उथलपुथलको भूत सवार हुनथाल्यो। त्यसपछि उनले कहिले एमाले कहिले कांग्रेससँग मितेरी लगाउदै सत्तामा बसिरहने मेसो बनाइहाले ।
अन्त्यमा कांग्रेस र एमाले मिलेर सत्ता भागबन्डा गर्ने सुइँको पाएपछि प्रचण्ड ब्युँझिन त खोजे तर, त्यतिबेला सम्म उनको ‘उथलपुथल’ काम नलाग्ने भैसकेको थियो । प्रचण्डपथ निरन्तर ओरालो लाग्दै जादा अन्ततः उथलपुथल होइन पतनतिर उन्मुख भैरहेको स्पष्ट छ। एकातिर पार्टी भित्र जनार्दन शर्माको लिखित प्रतिबेदनसँगै नेतृत्व छाड्नुपर्ने दबाब र अर्कोतिर कांग्रेस एमालेसँग चिसिदै गएको सम्बन्धले सत्तामा जाने बाटोमा पनि ‘ब्रेक’ लागेपछि अबको बाटो भनेको पतनको बाटो मात्रै हुने देखिन्छ। नेताकार्यकर्तालाई दास ठान्ने,सहिद र बेपत्ताको खोजी नगर्ने अनि घाइतेको परिवारलाई बेवास्ता गर्ने र जनतासँग टाढा रहने प्रवृत्तिले प्रचण्डपथ अब पतनको बाटोमा अग्रसर छ भन्ने बुझ्न कठिन छैन।