आमा याङ्ग्रीको उकालोमा गुराँससँग मितेरी !

नानु दाहाल/रचना पौडेल

बैशाखको अन्तिम शनिबार, बिहानको ६ बजे काठमाडौं गोकर्णेश्वर स्थित शिवचोकबाट गाडी चढेर हामी हेलम्बुहुदै तार्केघ्याङ तर्फ लाग्यौं । यात्राको अन्तिम गन्तव्य थियो हेलम्बु-१ ‘आमा याङ्ग्री’को थुम्को अर्थात चुचुरो। शहरको भिडभाड र कामको ब्यस्ततालाई भुलेर कतै एकान्त घुम्न जानपाए हुन्थ्यो भन्ने लागिरहेको बेला आकस्मिक रुपमा यो गन्तव्य जुरेको थियो ।आमा याङ्ग्री जाने कुरा आकस्मिक भएपनी क्षणभरकै सूचनाको आधारमा हाम्रो १० जनाको टोलि बन्यो।

हुनत आमा याङ्ग्री जाने इच्छा दुई बर्षदेखी थियो। कोहि कसैले त्यहाँ पुगेर फोटो वा भिडियो अपलोड गर्दा आफ्नो पनि मन त्यहीँ पुगेकै हुन्थ्यो। तर,जाने समय भने जुरेको थिएन। खै कसरी हो यसपटक चाहिँ झ्याप्पै जुर्‍यो। त्यहाँ पुग्न बसको यात्रा,पैदल यात्रा र रात्रीबास बस्नुपर्नेदेखि उकालो चढ्दाका अनेकौं दु:ख वा हैरानी लागेपनी त्यो प्रकृतिको काखमा पुगेर शितल हावा, शुन्दर दृश्य र फूलैफूलसँग लडिबुडी गर्न पाऊँदा भने मन पनि आनन्दीत हुने रहेछ। अझै भनौं गुराँससँगको हाम्रो मितेरी देखेर प्रकृतिले समेत डाहा गरेको हुनुपर्छ । हामीले गुराँससँग यति धेरै लडीबुडी गर्‍यौं,यति धेरै मितेरी लगायौ त्यसको बर्णन गर्ने शब्द नै भेटिएन।

गुराँसकै रुखमुनि गुराँसकै फूलमा हामी

काठमाडौदेखि गुडेको हाम्रो गाडी तार्केघ्याङमा रोकियो । त्यसपछि उकालो लागेका हामी २ घन्टापछि बेसक्याम्प पुग्यौं । बाटोमा भर्खरै फूलेर झरेका लालीगुराँस देख्दा मन खिन्न भयो। ओहो ! बनैभरी लालीगुराँस रहेछ तर भर्खरै फूलेर झरेको। लालीगुराँस हेर्न र टिपेर सिउरिन नपाएकोमा मन खिन्न भएपनी केही रुखमा सेतो गुराँस भने बाकी थियो। यो तार्केघ्याङदेखी बेसक्याम्प सम्मको कुरा भयो।

तर,तार्केघ्याङमा खाना खाएपछिको उकालो र अफ्ट्यारो बाटोलाई ‘लौरो’ को सहायताले छिचोल्दै जब हामी बेसक्याम्प पुग्यौं । जुन हाम्रो पहिलो दिनको बासबस्ने निर्धारित ठाउँ थियोे । हाम्रो टोलि जब होटलको आँगनमा पुग्यौं अनि देख्यौं सेताम्मे गुराँस । ओहो ! बोटमा पनि सेतै फूलेको गुराँस र भुइँमा पनि गुराँसको फूल झरेर सेताम्मे भएको देखेपछि मन थामिएन। त्यसपछि गुराँसमै लडिबुडी गर्दै हामीले थकाइ मार्यौं। त्यहाँ पाखैैैभरी ढकमक्क गुराँस फूलेको देेेेेखेपछि हामीले मन लागुन्जेल फोटो पनि खिच्यौं। अघि लालीगुराँस झरिसकेछ भनेर खिन्न भएको मन त्यहाँको सेतो गुराँस देखेपछि एकैपटक फुरुङ्ग भयो ।

होटल वरिपरिको त्यो गुराँसमा लडिबुडी गरेपछि हामिले दिनभरको सबै थकानलाई बिर्सीदियौं ।त्यसपछि हामी होटलको रेष्टुरेन्टमा पुगेर चिया खाएपछि पुनः गुराँसकै वरिपरि फोटो खिच्न र टिकटक बनाउन ब्यस्त भयौं । राती बस्ने ठाउँमा सेतो गुराँस जस्तै गरि सेतो पुतली उडेर चाहिँ अलिकति तनाव थपिदियो। त्यो पुतली आँखा वरिपरि आउँदा मात्रै पनि असर गर्ने र यदि जिउमा बस्यो भने त्यसको झुसले चिलाउने भन्ने सुनेपछि रातभर पुतली आतंक सहेर हामीले केही घन्टा बितायौ।गन्तब्यमा पुग्न बिहान ४ बजे नै हामी पुनः उकालो लाग्यौं ।

हामीले बाटोमा फेरि सेतो गुराँस मात्रै होइन केही बैजनी रंगको र केही लाली गुराँस पनि देख्यौं । सायद उचाइ बढ्दै गएपछि चिसो मौसम भएर होला गुराँस भर्खरै फूल्दै थियो। बेसक्याम्प भन्दा माथिको ठाडो उकालोमा त झन दुबै तर्फ गुराँस अनि बिचमा हामी भयौं । ओहो ! त्यो दृश्य अझै अर्कै पो थियो। अघिल्लो रातको पुतली आतंकले निद्रा नपुगेको र बिहानै ४ बजे उठेर हिंड्दा सिमसिम पानी परेको अनि थकाइ पनि लागेको अवस्थामा बाटोको दुई तिर थरी थरीका गुराँस देखेपछि हामीमा उर्जा, उमंग र ताकत भरिएर आयो। त्यसमाथि जंगलमा देखिने अनेकौं आकृतिको त झन कुरै नगरौं । कतै ठिङ्ग उभिएको जनावरको आकृति जस्तो लाग्ने,कतै गिद्द, कतै भालु र कतै चितुवाको जस्तै थरि थरीका ढुङ्गा र रुखका आकृतिले मनलाई आनन्दीत बनाउने। एक ठाउँमा त साच्चिकै चौरी गाई पनि भेटियो । आमा याङ्ग्री चुचुरो पुग्नु भन्दा केही मिटर तल चौरी चरिरहेको देखेपछि हामीले त्यसको पनि फोटो र भिडियो खिच्न पायौं र सजिव जनावरसंगको जम्काभेटको मज्जा पनि लिन पायौं ।

उकालो र अफ्ट्यारो बाटो भएपनी हामी २ घन्टामा आमा याङ्ग्रीको मन्दिर भएको चुचुरोमा पुग्यौं । त्यहाँ पुगेपछि अझै धेरै गुराँस देखेर हामीले स्वर्गको अनुभुति गर्न पायौं । गुराँस फूलेको मात्रै होइन चुचुरोमा पुगेपछि देखिने मनोरम दृश्यले हामीलाई यति धेरै खुसी दियो कि त्यसलाई शब्दमा बर्णन गर्नै सकिन्न। त्यहाँ पुगेपछि हामीलाई लाग्थ्यो कि हामी भन्दा माथी कोहि छैन र केही पनि छैन। आकाश छोएका हिमाल अनि हामीसंगै उभिएको डाडा र हामी भन्दा तल देखिने बादल अनि त्यो भन्दा तलको गाउँ,वन पाखा र हरियाली ओहो !

हामी गाउँ वा शहर जहाँ जन्मेको भएपनी नेपालको प्राकृतिक सौन्दर्यसँगै ऐतिहासिक धार्मिक एवं पर्यटकिय क्षेत्रका बारेमा जति बुझेपनी र जति डुलेपनी कहिल्यै सकिन्न। नेपालको हरेक क्षेत्रमा पर्यटकिय गन्तव्य भएपनी आफू वरिपरिको गन्तव्यमा भने एकपटक पुग्नुपर्छ भन्ने सोचका साथ हामीले यसपटक आमा याङ्ग्रीको भ्रमण गर्‍यौं । कम्तीमा आफ्नो प्रदेशको सबै जिल्लाभित्रका पर्यटकिय क्षेत्र, मठ, मन्दिर,गुम्बा र ऐतिहासिक ठाउँहरु पुग्ने ठूलो रहर बोकेर बसेका हामीलाई आमा याङ्ग्रीको यात्रापछि थप उर्जा र हौसला मिलेको छ। तपाईंहरुले पनि आमा याङ्ग्री जाने सोचिरहनु भएको छ भने हिमाल हेर्न,हावासंग साइनो गाँस्न,बादल भन्दा माथी पुगेको अनुभुति गर्न र गुराँससँग लडीबुडी गर्दै मितेरी लगाउन चाहिँ नभुल्नुहोला ।

होटल वरिपरि गुराँसको फेदमा
आमा याङ्ग्रीको चुचुरोमा हामी
पाखैभरी गुराँस फूलेको दृश्य

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • ‘बोक्सीको घर’मा कलझगडा !

    काठमाडौं ।कलाकार केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ले बम्बर ब्यापारको साथमा ५१ दिन मनाएसँगै निर्देशक र...