प्राध्यापक वासुदेवचन्द्र मल्लको सम्झनामा…
प्रा. खगेन्द्रप्रसाद भट्टराईवासुदेवचन्द्र मल्ल सरलाई मैले चिन्नुभन्दा अगाडि नै बारम्बार देख्ने गर्थें; न्यूरोड नजिकैको भारतीय पुस्तकालयमा । यो २०३१/३२ सालतिरको कुरा हो । त्यस बखत म त्रिचन्द्र क्याम्पसको स्नातकको विद्यार्थी थिएँ । फुर्सतको समयमा भारतीय पुस्तकालयमा गएर पढ्थें, धेरैजसो ठूलो अध्ययन कोठा (Reading Room) बाट सन्दर्भ भाग (Reference Section) को सानो कोठामा बसेर । मल्ल सरलाई पनि त्यही कोठामा बसेर अध्ययन गरिरहेको पाउँथें, घण्टौघण्टा ।
गोरो अनुहार। ठीकै लम्बाइको दाह्री, गम्भीर मुद्रा, शान्त स्वभाव झल्कने व्यक्तित्व- मैले उहाँलाई वी. सी. मल्ल भनेर नचिने पनि, उहाँ कस्तो व्यक्ति हो भनेर थाहा नभए तापनि, उहाँको व्यक्तित्वबाट प्रभावित भएको थिएँ म । साँच्चै केही यस्ता मानिस हुन्छन् जसको व्यक्तित्वले हामीलाई देख्नेबित्तिकै प्रभाव पार्दछ, चिन्न आवश्यक पर्दैन । मल्ल सर त्यस्तै हुनुहुन्थ्यो ।
२०३२ सालको विद्यार्थी आन्दोलनमा त्रि. वि. ले केही प्राध्यापकहरुलाई सेवाबाट निष्काशन गरेको मलाई थाहा थियो तर त्यसलाई मैले धेरै गम्भीरतापूर्वक लिइन । त्यसमा कोको पर्नुभयो, मेरो लागि विशेष चासोको विषय भएन । मल्ल सरलाई म बारम्बार भारतीय पुस्तकालय र अमेरिकी पुस्तकालयमा देख्तथें तर निष्काशनमा पर्नुभएको एक प्रतिष्ठित विद्वान् प्राध्यापक हुनुहुन्थ्यो भन्ने अझै थाहा भएन ।
तर जब २०३६ सालपछि मुलुकमा केही खुकुलोपन आयो, प्राध्यापक संघले पुनर्जीवन पायो र जब मल्ल सर प्राध्यापक संघ केन्द्रीय समितिको निर्वाचनमा प्रजातान्त्रिक शैक्षिक आदर्शप्रति प्रतिबद्ध समूहको तर्फबाट अध्यक्षको उम्मेदवार हुनुभयो, मैले मल्ल सरलाई ‘मल्ल सर’ भनेर चिनें । मल्ल सर त्यही व्यक्तित्व हुनुहुँदो रहेछ, जसबाट नचिन्दै म प्रभावित भइसकेको थिएँ । उहाँ प्राध्यापक संघको उम्मेदवार हुँदा मैले स्नातकोत्तर पूरा गरी त्रि. वि. अन्तर्गत पाटन संयुक्त क्याम्पसमा सहायक प्राध्यापकको हैसियतले प्राध्यापन शुरू गरिसकेको थिएँ । उहाँ प्राध्यापक संघको निर्वाचनमा अध्यक्ष निर्वाचित हुनुभयो । त्यस बेला संघको केन्द्रीय नेतृत्वमा प्रजातन्त्रवादी तथा प्रगतिशील दुवै पक्षको मिश्रित विजय भएको थियो । तर केन्द्रीय समितिमा कहिल्यै पनि विवाद भएको सुनिएन । प्राज्ञिक स्वतन्त्रता तथा प्राध्यापकहरूको हकहितको लागि उहाँको नेतृृत्वमा विभिन्न कार्यक्रमहरू केन्द्रीय समितिले गर्यो । कालोपट्टि बाँध्ने काम भयो । उत्साह र फूर्ति देखियो प्राध्यापकहरूका बीचमा, मौनताको संस्कृति तोडियो र यसले नेपाली समाजलाई झक्झक्याउने काम गर्यो ।
मल्ल सरबाट हामीले धेरै कुरा सुनेका छौं, सिकेका छौं । उहाँ सधैं संस्थागत विकासको लागि जोड दिनुहुन्थ्यो । व्यक्ति होइन संस्था महत्वपूणर् हो, उहाँको दृष्टिमा । उहाँ धेरैजसो आफ्नो भाषणमा भिक्टोरियन युगका अंग्रेजी कवि टेनिसनको ब्रुक (Brook) शीर्षक कविताको लाइन Men may come and men may go, But I go on forever प्रष्ट्याउनुहुन्थ्यो । मल्ल सर प्रजातन्त्रकोे लागि लडिरहने एक संघर्षशील तथा निर्भीक व्यक्तित्व हुनुहुन्थ्यो । समाजको सकारात्मक परिवर्तन तथा दिगो विकास प्रजातन्त्रको अभावमा असम्भव थियो, उहाँका लागि । तर प्रजातन्त्र प्राप्तिले सबै समस्याको समाधान हुन्छ भन्ने ठान्नु हुँन्नथ्यो, उहाँ । प्रजातन्त्रलाई व्यवहारमा उतार्नु ठूलो चुनौती ठान्नुहुन्थ्यो ।
मल्ल सर सधैं भन्नुहुन्थ्यो Eternal vigilance is the price of liberty, प्रजातन्त्रलाई जोगाउनका लागि हामी सधैं सचेत हुनुपर्ने वास्तविकता आज हाम्रो मुलुकमा उहाँले भन्नुभएको जस्तै अत्यन्तै सान्दर्भिक भएको छ । उहाँ प्राध्यापकहरूका बीच अत्यन्तै लोकप्रिय हुनुहुन्थ्यो । प्रजातन्त्रवादी, प्रगतिशील तथा प्राज्ञिक सबै विचारधारा भएका प्राध्यापकहरूले सम्मान तथा आदरका दृष्टिले हेर्थे, उहाँलाई । वैचारिक हिसाबले प्रजातन्त्रवादी भए पनि उहाँ सबै प्राध्यापकहरूलाई समान दृष्टिकोणका आधारमा हेर्नुहुन्थ्यो । विविधता स्वीकार गर्ने उहाँको विशेषता थियो । उहाँ नैतिक चरित्रमा विश्वास राख्ने एक आध्यात्मिक व्यक्तित्व हुनुहुन्थ्यो ।
२०४६ साल पौष १ गते हामी केही प्रजातन्वादी प्राध्यापकहरुको प्राध्यापक सौभाग्यजङ्ग कार्कीको घरमा फाल्गुण ७ गतेबाट हुन गइरहेको जनआन्दोलनको विषयलाई लिएर स्वर्गीय नेता गणेशमान सिंह, पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र वर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेट्ने कार्यक्रम थियो । तर गिरिजाबाबु अचानक भारततिर जानुपर्ने भएको हुँदा आउन सक्नु भएन । उक्त भेटघाटको कार्यक्रममा नेताहरूले जनआन्दोलन सफल पार्नका लागि केही निर्देशनहरू दिनुभयो । उहाँहरूले जनआन्दोलनको पृष्ठभूमि तयार पार्नका लागि मुलुकका विभिन्न भागमा सभा-सम्मेलन गर्न, पत्रपत्रिकाहरूमा उपयुक्त लेखहरू छपाई सहयोग गर्न आदि आदि निर्देशन दिनुभयो । सोहीअनुसार हामी प्रजातन्त्रवादी तथा प्रगतिशील प्राध्यापकहरूले २०४६ साल माघ महिनामा प्राध्यापक संघको पूर्वाञ्चल क्षेत्रीय भेलाको निहुँ पारी महेन्द्र मोरङ क्याम्पस विराटनगरमा एउटा कार्यक्रमको आयोजना गर्यौं (त्यस बेला प्राध्यापक संघ केन्द्रीय समितिमा पञ्चायत समर्थक प्राज्ञिक पक्षको बहुमत थियो) । उक्त कार्यक्रममा भाग लिन मल्ल सर र म प्रजातन्त्रवादी प्राध्यापकहरूको तर्फबाट गयौं भने प्रगतिशील प्राध्यापकहरूको तर्फबाट माननीय राममान श्रेष्ठ र त्रि. वि. का रजिष्ट्रार बालमुकुन्द खरेल जानुभएको थियो । हाम्रो साथमा प्राध्यापक कोषराज न्यौपाने पनि हुनुहुन्थ्यो ।
रात्रिबस विर्तामोडमा पुगेर विहानको करीब ६ बजेतिर रोकियो । मल्ल सरलाई पिसाब लागेछ । उहाँ बाहिर निस्कनुभयो, मधेसको चलन अनुसार चिया पकाउने टेबुल अगाडि पानी फ्याँक्न खनिएको खाडललाई उहाँले देख्नु भएनछ, त्यसैमा परेर लड्नुभयो । उहाँलाई उठाउन दौडेर गएँ । ‘‘बाबु, आँखा कमजोर छ, खाल्टै देखिएन’’ भन्नुभयो । उहाँका आँखा कमजोर छन् भन्ने मलाई थाहा थियो तर निकै कमजोर छन् भन्ने कुरा चाहिँ त्यही दिन थाहा पाएँ । विराटनगरको कार्यक्रम अत्यन्तै सफल भयो, पुलिसहरूको घेराभित्र भए पनि । त्यहाँ भेला हुनुभएका प्राध्यापकहरूले बिना डर र संकोच पञ्चायतमाथि ठूलो प्रहार गर्नुभयो । मलाई लाग्दछ, त्यस भेलाले प्राध्यापकहरूको तर्फबाट जनआन्दोलनको सिलसिलामा पञ्चायत व्यवस्थालाई पहिलो विद्युतीय झट्का (Electric shock) दिएको थियो । वी. सी. मल्लले उक्त अवसरमा दिनुभएको भाषण अत्यन्त प्रभावकारी तथा प्रेरणादायी थियो ।
एक दिन म प्राध्यापक संघ केन्द्रीय समितिको कार्यालय सरस्वती सदनमा केही साथीहरूसँग गफ गरेर बसिरहेको थिएँ । एउटा कार कार्यालयको अगाडि आएर रोकिएको जस्तो लाग्यो । एक छिनपछि त मल्ल सर कोठाभित्र पस्नुभयो । हामी अत्यन्तै हर्षित भयौं । उहाँ त्यसबेला चीनका लागि नेपालको राजदूत हुनुहुन्थ्यो । नेपाल आएको बेला उहाँले प्राध्यापक संघलाई बिर्सिन सक्नु भएन । त्यहाँ आई हामीलाई प्रेरणा दिनुभयो । राम्रो अवसर प्राप्त गर्ने बित्तिकै आफ्नो पुरानो थलो बिर्सिने संस्कार भएको मुलुकमा यस कुरालाई अत्यन्तै महत्वपूणर् ठान्छु म । उहाँ जहिले पनि आफूलाई बढी प्राध्यापक र त्यसपछि मात्रै अरू केही ठान्नुहुन्थ्यो ।
नेपाल विश्वसम्बन्ध परिषद्को पनि उहाँ अध्यक्ष हुनुभएको थियो । नेपाल प्राध्यापक संघको महासचिवको मेरो कार्यकाल (२०५०-५२) समाप्त भएपछि नेपाल विश्वसम्बन्ध परिषद्को महासचिव हुने मौका पाएँ मैले । नेपाल भएको बेला परिषद्को प्रायः धेरैजसो कार्यक्रममा उहाँ उपस्थित हुनुहुन्थ्यो र हामीलाई सर-सल्लाह, सुझाव दिनुहुन्थ्यो । प्रजातन्त्रको पुनस्र्थापनापछि सबै क्षेत्रका प्रजातन्त्रवादी बौद्धिक व्यक्तित्वहरूलाई (प्राध्यापक, डाक्टर, वकिल, इन्जिनियर आदि) परिचालन गरी प्रजातन्त्रको संस्थागत विकास गर्ने तथा प्रजातान्त्रिक संस्कार निर्माण गर्ने कार्यमा सहयोग पुर्याउन जुट्नु भयो, मल्ल सर । फलस्वरूप नेपाल प्रजातान्त्रिक विचार समाजको जन्म भयो र त्यसको अध्यक्ष हुनुभयो, उहाँ । समाजले समय समयमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।
अहिले मलाई उहाँले आफ्नो जीवनकालमा अन्तिम चोटि सभापतित्व गर्नुभएको समाजद्वारा आयोजित एउटा कार्यक्रमको सम्झना हुन्छ । कार्यक्रममा प्रायः सबै राजनीतिक दलका नेताहरू हुनुहुन्थ्यो । छलफलको विषय ‘स्थानीय निर्वाचन र प्रजातान्त्रिक प्रक्रिया’ थियो । बौद्धिक गोष्ठी भनिए तापनि सबै नेताहरूले आ-आफ्नो डम्फू बजाए, वस्तुस्थितिको स्वतन्त्र, पूर्वाग्रहरहित बौद्धिक विश्लेषण देखिएन । नेताहरूको भाषण सकिएपछि टिप्पणी गर्ने मौका पाएँ, मैले पनि । सबै पार्टीका नेताहरूको संकीणर् स्वार्थ, अहंकार, लोभ, नैतिक चरित्रको ह्रास, मन्त्री र सांसदको मोलतोल-खरीदबिक्री, मुलुकप्रतिको बेइमानीप्रति तीव्र प्रहार गरें । मेरो स्वर र शैली पनि अरू समयकोभन्दा भिन्न हुनपुग्यो । भोलिपल्ट मल्ल सरसँग फोनमा कुरा भयो । अघिल्लो दिनको कार्यक्रमको सन्दर्भ पनि जोडिन आयो र उहाँले भन्नुभयो ‘‘बाबु, हिजोको कार्यक्रममा त निकै रीस उठ्यो नि ! कहिलेकाहींको रीसले मुलुकको भलो हुन्छ ।’’
केही दिनपछि म बिहानै क्याम्पसको (पाटन क्याम्पस) क्लास सकेर घर आउँदै थिएँ । घर नजिकै आइपुग्दा डा. विनोद श्रेष्ठ (प्राध्यापक संघको पूर्व अध्यक्ष) मोटरसाइकलमा आउँदै हुनुहँुदो रहेछ । ‘‘थाहा पाउनुभयो, मल्ल सर आज बिहानै बित्नुभएछ’’ भन्नु भयो (उहाँले) । पछि ठानें हाम्रो एउटा अभिभावक, प्रेरणाको स्रोत हामीबाट टाढा गयो । डा. विनोद र म उहाँकै मोटरसाइकलमा मल्ल सरको अन्तिम दर्शन तथा परम्परागत संस्कारका लागि उहाँको घर गयौं ।
(पोखरा विश्वविद्यालयकका पूर्वउपकुलपति प्रा. भट्टराई प्रा. मल्लसँग अति सक्रिय भई देशमा २०४६ सालमा प्रजातन्त्र ल्याउन पनि भूमिका खेल्नुभएको छ)